चन्दनकुमार यादव, राजबिराज
बैदेशिक रोजगारको क्रममा मलेसियामा भने अनुसारको काम र दाम पाउन नसकेका सप्तरीका तीनजना कामदार स्वदेश फर्केका छन् । कविलास गाविस ५ का भागवत मडर, उपेन्द्र मण्डल र निरेन्द्र मडर तीन जना मलेसियाको राम्रो कम्पनीमा होटलको खानेकुरा प्याक गर्ने काममा जाने भन्दैै स्थानिय एजेन्ट मनोज मण्डललाई प्रतिव्यक्ति १ लाख ५० हजार बुझाएर गत मंसिर १३ गते बुझाएर उडेका थिए ।
ईनोभेटिभ सर्भिस म्यानपावर मार्फत मलेसिया पुगेपछि उनीहरुलार्ई भनिए अनुसारको कम्पनी नै थियो न त उनीहरुले तलव र सुबिधा नै भने अनुसारको पाए । एउटा होटलमा भाँडा माझ्ने काम आफूहरुलाई लगाइएको उनीहरु बताउँछन् ।
उनीहरुले आफूहरुलाई या त काम नेपालमा भने अनुसार दिलाइदिन नत्र घर फर्काइदिन एजेण्टलार्ई कुरा गर्न परिवारका सदस्यहरुलाई लगाएपनि आफ्नो कुरा नसुनेको उनीहरु बताउँछन् । यहिबीचमा उनीहरु सुचना तथा परामर्श केन्द्रमा आइपुगेका थिए ।
त्यसपछि सुचना केन्द्रबाट सम्वन्धित एजेन्टलाई वोलाएर काम परिवर्तन गर्न आग्रह गरे अनुसार अर्को काममा लगाएता पनि त्यो काम पहिलेको भन्दा गाह्रो भएको पीडितले बताएको सुचना तथा परार्मश केन्द्र राजबिराजकी परामर्शदाता निता चौधरी बताउँछिन् ।
आफूहरुले काम कठिन भएको जानकारी घरमा गराएपछि मालिकले कुटपीट गर्न थालेको पीडितहरुको भनाई छ । त्यसपछि उनीहरुले नेपालमा फोन गरेर आफूहरुलाई जसरी पनि झिकाउन आग्ह गरेका थिए ।
सुचना केन्द्रको पहलमा प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) को प्रयासमा तीनैजना पीडितहरु गत फागुन २९ गते नेपाल आइपुगेका छन् । उनीहरुको नेपाल फर्किने टिकट उनीहरु गएको म्यानपावर कम्पनीले नै उपलव्ध गराएको सुचना तथा परामर्श केन्द्रकी परामर्शदाता चौधरीले बताइन् ।
