बालश्रम रोक्न अभिभावकलाई सीपमूलक तालिम 

चितवान- रत्ननगरमा बालश्रम न्यूनीकरणका लागि उनीहरुका अभिभावकलाई सीपमूलक तालिम दिई व्यवसायमा सहभागी गराउन थालिएको छ । रत्ननगर क्षेत्रका बालश्रमिकको पहिचान गरी उनीहरुका अभिभावक खोजेर यहाँ सीपमूलक कार्यक्रममा सहभागी गराइएको रत्ननगर उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

रत्ननगर नगरपालिका क्षेत्रलाई बालमैत्री र बालश्रम मुक्तनगर निर्माण गर्नका निम्ति रत्ननगर उद्योग वाणिज्य सङ्घ र युनिसेफ नेपालको सहकार्यमा उक्त नयाँ कार्यक्रम सुरु भएको हो । युनिसेफ र रत्ननगर उद्योग वाणिज्य सङ्घद्वारा बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत श्रमिक बालबालिकाको अभिभावक खोजेर सीपमूलक काममा सहभागी गराइएको कार्यक्रम संयोजक दीपककुमार कर्माचार्यले जानकारी दिए। रत्ननगर क्षेत्रमा १३६ जना बालबालिकालाई श्रमबाट हटाई उनीहरुलाई परिवारमा पुनःएकीकरण गराई विद्यालय भर्ना समेत गरिएको कर्माचार्यले जानकारी दिएका छन् ।

परिवारमा आयआर्जन राम्रो भए बालबालिका श्रममा नजाने भन्दै अभिभावकका निम्ति व्यावसायिक सहयोग तथा सहकारीमा रु तीन हजारको खाता खोली बचतमा समेत आकर्षित गराइएको रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए । यहाँ ३४ जनालाई बाख्रापालन, सात जनालाई रिक्सा, तीन जनालाई ठेला, पाँच जनालाई पाडीपालन र दुई जनालाई सिलाइ मेसिन उपलब्ध गराई आयआर्जनमा लगाइएको छ ।

यस्तै चारजनालाई किराना सामग्री, एक, एकजनालाई बङ्गुर, कुखुरा र माछापालन, ६० जनालाई व्यावसायिक तालिम दिएर रोजगारीको अवसर प्रदान गरिएको बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय