लक्ष्मण खनाल, युएई
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईले फेब्रुअरी महिनालाई जनचेतना महिना घोषणा गर्दै फुजेराबाट शुरु गरिएको जनचेतना अभिवृद्धि कार्यक्रम दुबईमा आएर सम्पन्न भएको छ । दुबइको अलकुजमा रहेको अल जफर कम्पनी र जाबेलअलीमा रहेका क्युविजि कम्पनीमा जनचेतना कार्यक्रमसंगै एक महिने कार्यक्रमलाई समापन गरिएको हो । एनआरएनए युएईका अध्यक्ष सुदिप कार्कीको सभापतित्व आयोजित कार्यक्रममा युएईका लागि नेपाली राजदुत धनञ्जय झाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि झाले युएईमा रहेका नेपाली सधैं यहाँको कानुनले बर्जित गरिएका कुराहरुमा लाग्न नहुने भन्दै जनचेतनाको माध्यमबाट नेपाली माझ आउने समस्याहरु न्युनीकरण गर्न टेवा पुग्ने बताए । उनले नेपाली श्रमीकको समस्या समाधानका लागि दुतावास सधै तत्पर रहेको जानकारी गराए ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै सभापति कार्कीले एनआरएनएले जनवरी महिनामा उपाध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा जेल भ्रमण गरेको र सो क्रममा जेलमा रहेका नेपालीको मुद्दाको प्रकृतिलाई हेर्दा युएईमा रहेका नेपालीलाई जनचेतनाको अभाव महशुस गरि एनआरएनएले एक महिने जनचेतना कार्यक्रम आयोजना गरेका बताए । उनले एक महिने अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए ।
सो अवशरमा एनआरएनए युएई अनुशासन विभागका सदस्य राजेश दर्शन अर्याल, सल्लाहकार निमेष गिरी, दुबई क्षेत्रिय अध्यक्ष हरी खड्का लगायतले आफ्ना भनाई राखेका थिए । उनीहरुले रोजगारीको शिलशिलामा युएईमा रहेका नेपालीप्रति लक्षित गर्दैै युएईको श्रम कानुनको परिधिमा रहेर कार्य गर्न गराउनको लागि एनआरएनएले सुरु गरेको अभियानले ठुलो भुमिका खेलेको भन्दै यस्ता कार्य निरन्तर जारी राख्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न पेशामा संलग्न सयौं नेपाली श्रमिकको उपस्थिती थियो । कार्यक्रममा युएईमा गर्न हुने र गर्न नहुने गरि १८ बुँदा प्रस्तुत गरिएको थियो । सोही अभियान अन्तर्गत अबुधावीको कार्यक्रम यहाँको सरकारबाट स्वीकृति नमिलेको कारणले ढिलो भएको र सो कार्यक्रम २५ मार्चमा गरिने, फुजेरामा १८ मार्चमा बनभोज सहित कार्यक्रम आयोजना गर्ने एनआरएनएले जनाएको छ । साथै एनआरएनएले दुतावाससँग समन्वय गरेर अबुधावीको अहलिया मेडिकल ग्रुपको सहयोगमा मार्च ११ मा नेपाली मजदुर केन्द्रित हेल्थ क्याम्प सञ्चालन गर्न गइरहेको जानकारी उपाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।