सुदीप निउरे, क्वालालम्पुर
मलेसियाका बिभिन्न ४ वटा घरफिर्ती केन्द्रमा रहेका १० जना नेपाली स्वदेश फर्किएका छन् । घर फर्किएकाहरुलार्इ यहांस्थित क्लाङ व्यवसायी समिति लगायत अन्य नेपाली एव मलेसियन संघ संस्थाले आर्थिक सहयोग गरेको मलेसियास्थित नेपाली राजदूताबासले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
अवैधानिक तरीकाले काम गरेको अबस्थामा प्रहरीको फन्दामा परि ३ महिना जेल सजाय भुक्तान गरी घरफिर्ती केन्द्रमा पठाइएकाहरुलार्इ सहयोगदाताहरुले घर फर्कनका लागि हवाई टिकटको ब्यवस्था गरीदिएका हुन् । घर फर्किएकाहरु को को हुन उनीहरुको नाम भने राजदूताबासले जानकारी दिएको छैन ।
नेपाली राजदूताबासले जारी गरेको विज्ञप्तिमा काजाङ घरफिर्ती केन्द्रका २ जना, जोहोर घरफिर्ती केन्द्रका ७ जना र मलक्का घरफिर्ती केन्द्रका १ जनालार्इ नेपाल फर्कने ब्यवस्था मिलाइएको हो ।
मलेसियाको कानुन अनुसार बिदेशी अवैधानिक कामदार समातिएको खन्डमा अनिबार्य तीन महिना जेल बस्नु पर्ने हुन्छ। जेल सजाय पाइसकेकाहरु घरफिर्ती केन्द्रमा सारिन्छन् । घरफिर्ती केन्द्रमा पुगेकाहरु हवाइ टिकट काटेर घर फर्कन सक्दछन् । हवाइ टिकट काट्न नसक्नेहरु लामो समयसम्म त्यत्तिकै सोहि केन्द्रमा थन्किन पनि बध्य हुनु पर्दछ । उनीहरुलाइ त्यो बेला आफन्त, साथिभाइ वा बिभिन्न संघसंस्थाको सहयोग आवस्यक पर्दछ ।
त्यस्तै गत बर्ष यतासम्म बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगमा बिभिन्न घरफिर्ती केन्द्रबाट ४ सय ४१ नेपालीहरुलाई घर फर्काइएको नेपाली राजदुतावासले जानकारी दिएको छ । यस्तै, राजदूताबासले अघिल्लो महिना सार्बजनिक गरेको एक तथ्याक अनुसार मलेसियाका बिभिन्न जेलमा गरी २ सय ५९ जना नेपाली रहेका छन् । मलेसियाका बिभिन्न ठाउँमा रहेका घरफिर्ती केन्द्रमा पनि ३ सय ७५ जना नेपाली छन् । जेल र घरफिर्ती केन्द्रमा गरि कूल ६ सय ३४ जना छन । जस मध्येका घरफिर्ती केन्द्रमा भएका १० जनालार्इ घर फर्काइएको हो ।
बाँकी रहेका घरफिर्ती केन्द्रका नेपालीहरुलाई पनि नेपाल फर्काउने तयारी भईरहेको राजदुतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । घरफिर्ती केन्द्रमा रहेका र एकतर्फि हवाइ टिकट काट्न सक्ने अबस्था नभएकाहरुलाई टिकट उपलब्ध गराई सहयोग गर्ने संघसंस्थाप्रति राजदूताबासले कृतज्ञता ब्यक्त गरेको छ । अवैधानिक कामदारलार्इ मलेसिया सरकारले अहिले ब्यापकरुपमा धरपकड गरीरहेको हुनाले जेल पर्नेको सख्या अझै बढेको हुन सक्ने अनुमान गरीएको छ । यता मलेसियाका घरफिर्ती केन्द्रबाट नेपाली शुन्यमा झार्ने दुतावासको लक्ष्य छ ।
