संशोधित श्रम ऐन र सामाजिक सुरक्षा ऐनले अहिलेका धेरै समस्या हल गर्छःः रिमाल 

काठमाडौं माघ २४ 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले श्रम ऐनको संशोधन विधेयक यहि हप्ता सदनमा पुग्ने बताएका छन् । उनले सन् २०१६ भित्रै श्रम ऐनको संशोधन तथा सामाजिक सुरक्षा ऐन जारी भइसक्ने भन्दै त्यसपछि अहिले देखिएका श्रम क्षेत्रका समस्या मध्ये ९० प्रतिशत समाधान हुने धारणा राखे ।  

नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनले ३७ औं स्थापना दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै रिमालले सामाजिक सुरक्षा ऐनले एक दिन काम गरेका तथा एकजना मात्र काम गर्ने ठाउँलाई समेत समेट्ने भन्दैै यसले श्रमिकलाई धेरै सहयोग पुग्ने बताए ।  

नयाँ ऐनहरु पारित भएपश्चात त्यसको पालनाका लागि श्रम निरिक्षकको व्यवस्थाका लागि दवाव दिइनुपर्ने उनले बताए । त्यसका लागि सम्वन्धित ठाउँका ट्रेड युनियनका अगुवाहरु नै उपयुक्त हुने उनको धारणा थियो । गलत रिपोर्टिङ गरेमा सम्वन्धित व्यक्तिलाई कारवाही हुने र रोजगारदाताले कानून पालना नगरेमा त्यस्ता रोजगारदातालाई कारवाही हुने व्यवस्था गरिएमा यसले समस्या समाधान हुने रिमालले बताए ।  

जिफन्टका समेत अध्यक्ष रहेका रिमालले ३७ बर्ष भित्रमा नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनले गुणात्मक प्रगति गरेको बताए । उनले जिफन्ट आवद्ध अन्य युनियनको तुलनामा संख्यात्मक रुपमा कम भएपनि प्रेस मजदुर युनियनले महासंघको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको बताए । 

अध्यक्ष रिमालले श्रम क्षेत्रले जवसम्म प्रभाव पार्नेगरी काम गर्न सक्दैन तवसम्म श्रमिकका आवाज सुनिने छैनन् भन्दैै त्यसका लागि युनियनमा सदस्यता बृद्धि अनिवार्य शर्त रहेको बताए । संगठित श्रमिक नै शक्ति हुने भन्दै त्यसका लागि युनियनकर्मीहरु अझ बढी सक्रिय हुनुपर्ने अध्यक्ष रिमालको भनाई थियो । 

कानूनले तोकेको तलव, सुविधा कसैले नदिएमा त्यो अपराधि हुने भन्दै जिफन्ट अध्यक्ष रिमालले त्यस्ता व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याइनु पर्ने बताए ।  

कार्यक्रममा बोल्दै युएनआई, नेपालका अध्यक्ष शंकर लामिछानेले एक व्यक्तिको सय पाइला भन्दा सय व्यक्तिको एक पाइलाले धेरै ठूलो दवाव सिर्जना गर्ने भन्दै संगठित श्रमिकले धेरै कुरा परिवर्तन गर्न सक्ने बताए । उनले कानून बनाउन तथा त्यसलाई कार्यान्वयन गर्न स्वयं श्रमिकले नै दवाव दिइरहनु पर्ने अवस्था विडम्वनापूर्ण भएको धारणा राखे । उनले राजश्व संकलनलाई प्रभावकारी बनाउन एक हजार भन्दा बढी श्रम निरिक्षक राख्ने राज्यले श्रम निरिक्षकको व्यवस्था समेत नगर्नु श्रम क्षेत्रप्रतिको उदासिनता रहेको बताए ।  

सो अवशरमा बोल्दै नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले प्राविधिक हिसावले प्रेस क्षेत्र अत्यन्त चलायमान रहेको बताए । उनले प्रेस मजदुरको क्षमता अभिबृद्धिका लागि आफ्नो युनियनले विविध तालिम सञ्चालन गर्ने समेत बताए । खाडीका देशहरुमा नेपाली प्रेस मजदुरले आफूले जानेको कामबाट गतिलो आम्दानी गरिरहेको हुँदा त्यहाँ आकर्षण रहेको बताए । 

३७ औं स्थापना दिवसको अवशर पारेर नेपाल स्वतन्त्र प्रेस मजदुर युनियनले ऐक्यवद्धता कोषमा डेढलाख रकम जम्मा गरेको छ । सो रकम प्रेस मजदुर युनियनको केन्द्रीय कमिटीसँगै दाङ र रुपन्देही जिल्ला कमिटी तथा जगदम्वा प्रेस, सेवा प्रेस र स्प्रीन्टले जनही २५ हजारका दरले बुझाएका हुन् । ऐक्यवद्धा कोष जिफन्टद्धारा अभियानका रुपमा अघि बढाइएको कार्यक्रम हो । १ करोडको सो कोषमा ५० लाख जिफन्टले योगदान गर्नेछ भनें ५० लाख सदस्य युनियनहरुका तर्फबाट जम्मा गर्नेगरी अभियान सञ्चालन भइरहेको छ ।      

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय