भक्तपुरका ईंट्टा भट्टामा बालबालिका 

भक्तपुर- पगरबास ३, रामेछापका उज्ज्वल बस्याल ४ महिनायता जगातीस्थित एक इँटाभट्टामा काम गर्छन् । उनकी पत्नी र दुई छोराछोरी पनि सँगै छन् । ५ वर्षीय छोरा आयुषको १७ महिने बहिनी हेर्ने, पानी ओसार्ने, दाउराको जोहो गर्ने जिम्मेवारी छ ।

भर्खर विद्यालय जान थालेका आयुषलाई पढन छुटाएर अभिभावकले सँगै ल्याएको समाचार कान्तिपुर दैनिकले छापेको छ । ‘घरमा हेर्ने कोही छैन, विद्यालय जान एक्लै छोड्नु पनि भएन,’ उज्ज्वलले भने, ‘यता नजिकै विद्यालय पनि छैन, वैशाखपछि उतै जाने विचार छ । ६ महिना यता र ६ महिना उता गर्दा विद्यालयले लिनपनि मान्दैन ।’

यस्तै इँटाभट्टामा मजदुरी गर्दै आएकी खाल्टे ९, सिन्धुलीकी सावित्रा तोङगेका ५ वर्षीय छोरा केशरको अवस्था पनि उस्तै छ । ३ महिने बहिनीलाई स्याहार्ने, पानी ओसार्ने र बुबाआमालाई सघाउने उनको जिम्मेवारी छ । ‘भूकम्पले घर भत्कियो, घरको अन्नपातले वर्षदिन पनि खान पुग्दैन,’ सावित्राले भनिन्, ‘आमाबुबा घर छाडेर हिँडेपछि बच्चालाई नल्याउँ पनि भएन । भर्खर स्कुल जान थालेको थियो, त्यत्तिकै छुटाउनुपर्‍यो ।’

खाल्टेकै १३ वर्षीय राजकुमार मगराती कक्षा ६ मा पढ्दापढ्दै विद्यालय छाडेर अभिभावकसँगै इँटाभट्टामा काम गर्न आएका छन् । उनी अभिभावकलाई सघाउने, खाना पकाउने र इँटा बनाउने काम गर्छन् । ‘घरमा एक्लै हुन्छु, यतै पढ्ने भनेर आएको हो । यता विद्यालय नजिक छैन, भए पनि महँगो छ,’ उनले भने, ‘पढ्ने इच्छा छ, अब वैशाखमा गाउँमै गएर पढ्ने हो ।’

भूकम्पले घर भत्किएको र मजदुरी गरी घर ठडयाउने लक्ष्यसहित परिवारै इँटाभट्टा छिरेको रामेछाप मन्थली सिम्पानीका १२ वर्षीय प्रकाश भुजेलले बताए । उनी कक्षा ६ को पढाइलाई थाती राखेर अभिभावकसँगै काममा जुटेका छन् । प्रत्येक वर्ष विभिन्न संघ–संस्थाले इँटाभट्टाका बालबालिकाका लागि छात्रवृत्ति दिएको, पढाएको भन्दै करोडौंको हिसाब देखाए पनि यी बालबालिका भने श्रम गर्न बाध्य छन् ।

यो समाचार कान्तिपुर दैनिकमा लीला श्रेष्ठले लेखेका हुन् ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: