नेपालीको उद्धार र कानूनी सहयोगका लागि सरकारद्धारा कानून व्यवसायीको व्यवस्था 

काठमाडौं- मलेसियाका जेलमा रहेकाकरिब ४ सय नेपालीको उद्धार र कानुनी सहयोग पुर्याउन पहिलोपटक सरकारले कानुन व्यवसायीको व्यवस्था गरेको छ। रोजगारदाता कम्पनी छोडेर भागेका, पासपोर्ट नभएका तथा अन्य अपराधको आरोप लागेका नेपालीलाई सहयोग पुर्याउनुपर्ने अवस्था आएपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले कानुन व्यवसायीको व्यवस्था गर्न आवश्यक पर्ने रकम मलेसियास्थित नेपाली दूतावासमा पठाइसकेको जनाएको छ। 

‘काम गर्न गएको मान्छे जेलमा परेको पाइएपछि उनीहरूलाई सहयोग गर्न कानुन व्यवसायी आवश्यक परेको हो’ बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने, ‘भाषागत ज्ञानका कारण मलेसियाकै कानुन व्यवसायीलाई छनोटमा पहिलो प्राथमिकता दिइएको छ।’ कमाउन गएको मान्छे जेलमा परेपछि स्वदेशमा रहेका आफन्त र परिवार तनावमा पर्छन्। त्यस्ता परिवारले पटकपटक सहयोगको याचना गरे पनि पीडितले कानुनी सहयोग पाउन सकेका थिएनन्। विपन्न परिवारका सदस्यलाई कानुनी उपचार खोज्न निकै समस्या हुने गरेको छ। सामान्य कानुनी ज्ञान समेत नहुँदा कैयौं नेपाली मलेसियाको जेलमा बस्नु परेको बताइन्छ। सरकारी अधिकारीका अनुसार सामान्य कानुनी प्रक्रिया पूरा गर्ने हो भने पनि कैयौं नेपाली जेलबाट छुट्ने सम्भावना छ।

कार्यकारी निर्देशक काफ्लेले अघिल्लो साता मलेसियाको भ्रमणमा करिब चारसय कामदार त्यहाँका जेलमा रहेको पाइएपछि उनीहरूलाई आवश्यक पर्ने कानुनी सहयोग दिन कानुन व्यवसायीको व्यवस्था गरिएको बताए।

अघिल्लो वर्षसम्म नेपाली कामदारको प्रमुख गन्तव्य रहेको मलेसियाको आर्थिक अवस्था बिग्रन थालेको छ। कामदारको असुरक्षा पनि बढेपछि त्यता जानेको संख्या घट्दो छ। विगतमा धेरै कामदार गएकाले त्यहाँ नेपालीको संख्या ठूलो रहेको अध्ययन टोलीमा संलग्न सरकारी अधिकारी बताउँछन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वमा अघिल्लो साता वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र वैदेशिक रोजगार विभागका प्रमुख सम्मिलत टोलीले नौ दिनसम्म त्यहाँको विस्तृत अध्ययन गरको थियो। टोलीका सदस्यले मलेसियाको रोजगारी नेपाली कामदारका लागि प्रतिकूल हुँदै गइरहेको जानकारी दिए।

 ुखस्कँदो अर्थतन्त्र, रिंगेटको भाउमानिरन्तर गिरावट, नेपालीले नेपालीमाथि गर्ने शोषण तथा तमिल समुदायको असुरक्षाले गर्दा कामदार समस्यामा परेका छन्,’ विभागका महानिर्देशक केदार बोगटीले भने। बोगटीका अनुसार मलेसियामा रहेका करिब १० लाख नेपाली मध्ये तीनलाख जतिले स्वदेश फर्कन चाहेका छन्।जाने बेलालिएको ऋण चुक्ता गर्न नसकेका तीनलाख हाराहारी कामदार मानसिक तनावमा छन्।

खुल्ला समाज र नेपालको जस्तै मौसम तथा भौगोलिक वनावटका कारण अघिल्लो वर्षसम्म नेपाली कामदारको पहिलो गन्तव्य मलेसिया हुने गरेको थियो। विभागका अनुसार गत आर्थिक वर्षको ६ महिनामा १ लाख १७ हजार ६ सय ८६ नेपाली कामदार मलेसिया गएकामा यो वर्ष ३५ हजार ३ सय ३५ जनामात्र गएका छन्। 

वैदेशिक रोजगारीमा ज्यान गुमाउने र अंगभंग धेरै हुने मुलुकमा पनि मलेसिया अग्रस्थानमा छ। बोर्डका अनुसार आर्थिक वर्ष २०७१-७२ मा वैदेशिक रोजगारीको क्रममा एक हजार दुईजनाले ज्यान गुमाउँदा मलेसियामा मात्रै ४ सय २५ को मृत्यु भएको थियो। चालु आर्थिक वर्षको ६ महिनामा मलेसियामा १ सय ९७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीको क्रममा ४ सय ६३ जनाले ज्यान गुमाएका छन्।

मलेसियाको अवस्था बुझिरहेका छौंः मन्त्रालय

अख्तियार नेतृत्वको टोलीले मलेसियाको रोजगारी समस्यामा परेको तथ्य फेलापारेपछि श्रम तथा रोजगार मन्त्रालयले यसबारे बझ्नथालेको जानकारी दिएको छ। ुमलेसियामा रहेका दुई लाखभन्दा बढी गैरकानुनी नेपाली र अन्य कामदारको समस्या सार्वजनिक भएपछि बिहीबार मलेसियास्थित श्रम सहचारीसँग यथार्थ विवरण पठाउन कुरा भएको छ,ु मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले भने। अख्तियारको टोलीमा विभाग, बोर्डका पदाधिकारी सम्मिलत भएपनि मन्त्रालयको भने प्रतिनिधित्व थिएन।

यो समाचार नागरिक दैनिकमा रुद्र खड्काले लेखेका हुन्  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: