दलालको आँखा युवतीमा 

काठमाडौं – वैदेशिक रोजगारीमा जापान हो भने सजिलै पठाउन सकिने आश्वासन पाएपछि झापा, सतासीधाम–८ की २८ वर्षीया सन्चरानी पोङ्हाङ्ले दलाललाई ६ लाख रुपैयाँ दिइन् । रकम नपाउँदासम्म जापानबारे सधैं बखान गरिरहने दलालले रकम कुम्ल्याएपछि भने सन्चरानीलाई भेट्नै छाडे। आजरभोलि भन्दै पाँच महिनासम्म जापान नपठाएपछि यतिखेर उनी आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा दलाल मनकुमार तुम्वापोलाई कारबाही माग गर्दै धाइरहेकी छिन्।

‘जापान पठाउने भनी लिएको ६ लाखमध्ये ३ लाख रुपैयाँ त फिर्ता लिएँ’ उनले भनिन्, ‘बाँकी तीन लाख रुपैयाँ फिर्ताबारे कुरा नमिल्दा विभागको सहारा लिनुपर्ने बाध्यता आइलागेको छ।’ दलालले सन्चरानीलाई जापान पठाउने भने पनि रसियाको भिसा लागेको पासपोर्ट फिर्ता गरेको छ। सन्चरानीका अनुसार दलालले लामो समयसम्म जापान नपठाएपछि शंका लागेर सोधीखोजी गर्दा ठगी गर्ने नियत खुलेको हो। उनले भनिन्, ‘छिटो जापान पठाउन आग्रह गर्दा दलालले भारतको नयाँ दिल्ली जानुपर्ने प्रस्ताव राख्यो। सबै कुरा बुझ्दा उसको ठगी गर्ने नियत रहेछ भन्ने पुष्टि भयो।’

टर्की जाने चाहनाले गाउँको पसल बिक्री गरेर मेनपावरलाई पाँच लाख रुपैयाँ बुझाएकी जेठला–८ दोलखाकी लक्ष्मी तामाङको वैदेशिक रोजगारी पनि सफल हुन सकेन। गाउँमै भइरहेको आम्दानीप्रति सन्तुष्टि हुन नसकेपछि २९ वर्षीया लक्ष्मीले पसल बेचेको रकम मेनपावरलाई दिएकी थिइन्। दलाल र मेनपावरको लहलहैमा लागेर युरोप जान खोज्दा यतिखेर उनलाई दैनिक गुजारा कसरी चलाउने भन्ने समस्या आइलागेको छ।

पाँच लाख रुपैयाँमा पसल बिक्री गरेर टर्की गएकी लक्ष्मी वैदेशिक रोजगारी ४१ दिनमै टुंगिएपछि गत कात्तिकमा घर फर्केकी हुन्। एलएलसीसम्म अध्ययन गरेकी लक्ष्मीलाई डिभाइन इनसाइट ओभरसिजले टर्की पुर्यौएको थियो। ‘मेनपावरले दैनिक आठ घन्टामात्र काम गर्नुपर्ने भनेको थियो’ हाउसमेड भिसामा टर्की गएकी लक्ष्मीले भनिन्, ‘त्यहाँ त दैनिक १६ घन्टासम्म काममा लगाउने र सानोतिनो गल्ती हुँदा पनि कुटपिट हुन थालेपछि घर फर्कन बाध्य भएँ।’ काम गर्ने स्थलमै कुनै दिन नचिनेका केटाहरू पुगेर दुर्व्यवहार गर्ने प्रयाससमेत गरेको उनले जानकारी दिइन्।

पछिल्लो समयमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या घट्दै गएपछि मेनपावर र दलालको ध्यान महिलातिर तानिएको पाइएको छ। वैदेशिक रोजगार विभाग श्रम कार्यालय काठमाडौंका अधिकृत ताराबहादुर कुँवरका अनुसार महिलालाई विदेश पठाउन खोज्नेको संख्या केही महिनायता बढेको छ। अवैध बाटो हुँदै महिलालाई वैदेशिक रोजगारीमा पुर्यावउने गिरोह सक्रिय भएको विभाग कर्मचारी बताउँछन्। ‘चोरबाटो हुँदै महिलालाई वैदेशिक रोजगारीमा पठाउँदा निकै जोखिम हुन्छ भनेर जानकारी दिइरहेका छौं’ काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डितले भने, ‘तैपनि गिरोह सक्रिय छ। यसको रोकथामका लागि सबैको सहयोग आवश्यक छ।’

दलालले बढीमा एसएलसीसम्म अध्ययन गरेका, विवाहित त्यसमा पनि पति र घरपरिवारसँग राम्रो सम्बन्ध नभएका महिलालाई झुक्याएर वैदेशिक रोजगारीमा पठाउने गरेको सरकारी कर्मचारी बताउँछन्। गाउँमा सामान्य जीवन बिताइरहेका युवतीसँग सुरुमा मायाप्रेमको नाटक गर्ने र विस्तारै उनीहरूको रकम कुम्ल्याउन दलालले विदेश जाने चोरबाटो प्रयोग गर्ने गरेका छन्। भुक्याएर महिलालाई वैदेशिक रोजगारीमा पठाउने धेरैजसो दलालले भारतीय बाटो प्रयोग गर्ने गरेको पाइएको छ। नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले फाटफुट रूपमा झुक्याएर वैदेशिक रोजगारीमा पठाउन खोजिएका महिलालाई रोेक्ने गरे पनि यो समस्यालाई रोक्न अन्य सरकारी निकाय सक्रियतापूर्वक नलागेको अधिकारवादी बताउँछन्। वैदेशिक रोजगार विभागका एक कर्मचारी भन्छन्, ‘अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा पुगेका अधिकांश महिला आर्थिक र शारीरिक रूपमा शोषणमा परेका हुन्छन्।’

त्यस्तै, नेपाल सरकारले श्रम स्वीकृति दिने गरेका एक सय नौ देशमध्ये महिला पठाउनै नमिल्ने देशमा मेनपावरले महिला पठाएर शोषण गरेको कर्मचारी बताउँछन्। ‘सामान्य लेखपढ गरेका र सम्बन्धित देशको भाषा नबुझ्ने महिलालाई पनि दलाल र मेनपावरले वैदेशिक रोजगारीमा पठाउने गरेका छन्’ वैदेशिक रोजगारपीडित फुर्वा शेर्पाले भनिन्, ‘जानै नमिल्ने अवस्थामा पनि सरकारी कर्मचारी, दलाल र मेनपावरको सेटिङले महिला विदेश पठाउने गिरोह सक्रिय छ। वैदेशिक रोजगारीमा पुगेपछि मात्र यथार्थ कुरा खुल्छ। तबसम्म पीडितले धेरै गुमाइसकेको हुन्छ।’ उनी पनि चार महिनाअघि साइप्रसबाट फर्केकी हुन्। कतिपय देशमा महिलालाई पर्यटक भिसामा पठाउने गिरोह पनि सक्रिय छ। विभागका प्रवक्ता जनकराज रेग्मी वैदेशिक रोजगारीमा जाने व्यक्ति नै सचेत नभएसम्म वैदेशिक रोजगारीको क्षेत्रमा हुने गरेका विकृति र अनियमितता रोक्न नसकिने बताउँछन्।

६ महिनामा ६० हजार घटे

चालु आर्थिक वर्षदेखि नै वैदेशिक रोजगारीमा जानेको संख्यामा आइरहेको गिरावट पुसमा पनि कायमै रह्यो। विभागका अनुसार पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको तुलनामा ६० हजारले गिरावट आएको छ।

गएको साउनदेखि पुससम्म कुनै पनि महिना वैदेशिक रोजगारीमा जानेको संख्याले अघिल्लो वर्षमा सोही अवधिमा जाने संख्यालाई भेट्न सकेको छैन। आर्थिक वर्ष ०७१र७२ को ६ महिनामा २ लाख ७१ हजार ३ सय ३९ युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा आर्थिक वर्ष ०७२र७३ को ६ महिनामा २ लाख १० हजार तीन सय १५ जना श्रम स्वीकृति लिएर विदेश पसे।

यस अवधिमा श्रम स्वीकृति लिएर विदेश जाने महिलाको संख्या १० हजार ५ सय २६ छ। विभागका कर्मचारीका अनुसार श्रम स्वीकृति लिएर जानेभन्दा चोरबाटो प्रयोग गरी विदेश पस्ने महिलाको संख्या ठूलो भएको अनुमान गरिएको छ। पछिल्लो ६ महिनामा सबभन्दा बढी साउदीमा ६६ हजार आठ सय ५० जना गएका छन्। त्यस्तै कतारमा ६४ हजार सात सय ५२, मलेसियामा ३५ हजार ३ सय ३५ र संयुक्त अरब इमिरेट्समा जाने कामदारको संख्या २६ हजार ४ सय ७ र छ। वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दा यसको असर रेमिटेन्समा पर्न सक्ने अर्थविद बताउँछन्। 

यो समाचार नागरिक दैनिकमा रुद्र खड्काले लेखेका हुन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: