पाँच रुपैंयाँबाट थालेको व्यवसायबाट बर्षमै करोडको कारोवार  

काठमाडौं -कृषिमा भविष्य छैन भन्दै नाक खुम्च्याउनेका लागि गतिलो पाठ हुन्, धनकुटाको भीरगाउँ, चोक्रोकका चन्द्रलाल तामाङ, ४७ । आईए पढ्दापढ्दै ०३९ सालमा पाँच रुपियाँको बीऊ किनेर तरकारी खेती थालेका उनी अहिले वार्षिक एक करोड रुपियाँमाथिको कृषि उपज उत्पादन र बिक्री गर्छन् ।

करेसाबाट सुरु गरेको तामाङको कृषि फैलिएर २ सय १० रोपनीसम्म पुगेको छ । कृषिमा ल्याएको आधुनिकता र विविधताले उनलाई सफलता दिलायो पनि । अहिले उनको ६० रोपनी जमिनमा अर्गानिक चिया खेती छ । ५० रोपनीमा फैलिएको बगानबाट वार्षिक करिब आठ मन अलैँची उत्पादन हुन्छ ।

“कमाउने हो भने थोरै कोपी, एक गरो आलु र दुई–चारवटा गाई–बाख्रा होइन, एउटै उत्पादनमा जमेर लागौँ, व्यावसायिक बनौँ,” उनी भन्छन्, “उत्पादन धेरै गर्न सके सस्तोमा बिक्री भए पनि फाइदा हुन्छ ।”

पछिल्ला वर्षमा उनको सबैभन्दा गतिलो आम्दानीको स्रोत अलैँची नर्सरी हो । विभिन्न भाइरसजन्य रोगले अलैँची बगान मासिएपछि उनले बीऊबाटै बेर्ना उत्पादन थालेका हुन् । बीऊबाट उमारिएको बिरुवामा भाइरसजन्य रोगको जोखिम कम हुन्छ । बिरुवाका लागि पूर्वी पहाडी जिल्लाबाट किसानहरू उनकै नर्सरीमा ठोक्किन्छन् । १२ लाख रुपियाँ खर्चेर १० रोपनीमा गरिएको नर्सरीबाट गत वर्ष उनले ६१ लाख ५० हजार रुपियाँको बिरुवा बेचे । तीन वर्षअघि ६ रोपनीमा लगाएको किवी बगैँचाबाट यस वर्ष एकै फसलमा लगानी उठ्यो ।

कृषिसँगै पशुपालनमा पनि उनको जोड छ । १० माउ उन्नत जातका भैँसी पालेका छन् । उत्पादित दूध बिक्री नभएर वरिपरिका गाईपालक किसानले ‘दुहुदै पोख्दै’ गरिरहेका बेला उनीकहाँबाट भैँसीको दूध हारालुछ बिक्छ । दैनिक उत्पादन हुने ५२ लिटर दूधका लागि उपभोक्ताले गाईको भन्दा प्रतिलिटर १० रुपियाँभन्दा बढी तिरेर लैजान्छन् ।

तरकारी, किवी, चिया र अलैँची लगाएर बचेको जमिनमा डाले घाँस र उत्तिसको वन छ । खेतीमा रासायनिक मल लाग्दैन । भैँसी र गड्यौलाबाट पर्याप्त प्रांगारिक मल बन्छ । उनका १५ जनाभन्दा बढी सहपाठी आज कतिपय कार्यालयका प्रमुख छन् । कोही उच्च पदमा पुगेर निवृत्त भइसके ।

सुकिला लुगामा सजिएर सरकारी सुविधा उपभोग गर्नेको शानशौकत देख्दा दुखिया पेसामा लागिएछ भन्दै कुनै बेला दिग्दारिने तामाङ कृषिबाटै व्यावसायिक बन्न सकेकामा दंग छन् । यही पेसाबाट सात जनाको परिवार हाँसीखुसी पालिएको छ । उनको कृषि फार्ममा चार जना स्थानीय युवाले रोजगारी पाएका छन् ।

गत वर्ष राष्ट्रपतिबाट उत्कृष्ट उद्यमी सम्मान पाए तामाङले । मुलुकभरका लाखौँ किसानबाट छानिएर एक लाख रुपियाँको चेक र सम्मानपत्र पाउँदा उनको छाती गर्वले ढक्क फुल्यो । उनका लागि कृषिमा बिताएका ३० वर्षमध्ये सबैभन्दा बढी खुसी र आत्मसम्मान उचो भएको क्षण थियो त्यो । भन्छन्, “राज्यले सम्झियो, कृषि कर्ममा लागिरहने उत्साह र जाँगर भरिएको छ ।” कृषि र पशुपालनमा लागेर चन्द्रलालको आर्थिक हैसियत त सुध्रियो नै, सामाजिक प्रतिष्ठा पनि चुलिएको छ । युवालाई आधुनिक र व्यावसायिक कृषिमा लाग्न हरदम प्रेरणा दिने उनको मुखैमा झुन्डिएको छ, ‘कृषि मुलश्च जीवनम् ।’

यो समाचार नेपाल साप्ताहिकमा विनोद घिमिरेले लेखेका हुन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय