बंगुरबाट भयो प्रगति 

सुर्खेत-  सरकारी सेवाबाट अवकाश पाएसँगै घरखर्च चलाउन मुस्किल भएपछि थप आम्दानीका लागि विदेश पुगेका वीरेन्द्रनगर–१६ लाटीकोइलीका जब्बरबहादुर श्रेष्ठ त्यहाँ एक वर्ष पनि बस्न सकेनन् । 

विदेशमा गर्नुपर्ने काम स्वदेशमै गर्न सकिने र मनग्य आम्दानीसमेत लिन सकिने आँटसहित उनी विदेश छोडेर स्वदेशमा नै फर्किए । स्वदेशमा फर्किएलगत्तै उनले लाटीकोइलीमा जग्गा भाडामा लिए र व्यावसायिक रूपमा बंगुरपालन सुरु गरे ।

सुरुमा ३० वटा बंगुरबाट व्यवसाय सुरु गरेका श्रेष्ठको फर्ममा अहिले एक सयभन्दा बढी बंगुर छन् । बंगुरपालनबाटै उनले हाल मासिक ३० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् । नेपाली सेनाबाट अवकाश लिएका उनी पेन्सनले मात्र घरखर्च चलाउन नपुगेपछि विदेश गएका थिए । 

तर, विदेशमा बगाएको पसिनाले समेत चाहेजस्तो आम्दानी नभएपछि उनी नेपाल फिर्ता भए । सुरुमा छिमेकी र बैंकबाट ऋण लिएर बंगुरपालन सुरु गरेका उनले अहिले उल्टै छिमेकीलाई ऋण दिन थालेका छन् । परिवारका सदस्यहरूसँगै घरमा नै बसेर विदेशमा भन्दा राम्रो आम्दानी हुन थालेपछि उनले व्यवसाय विस्तार गर्ने योजनासमेत बनाएका छन् ।

आफूसँग भएको केही रकम र ऋणबाट उनले सुरुमा ३० माउ बंगुर खरिद गरे । त्यसबाट बढेर अहिले उनको फर्ममा एक सयभन्दा बढी बंगुर छन् । श्रेष्ठ भन्छन्, ‘जहाँ इच्छा, त्यहाँ उपाय । मैले घरमै बसेर केही व्यवसाय गर्ने सोच बनाएको थिएँ, अहिले सफल पनि भएको छु ।’ श्रेष्ठले बंगुरसँगै माछा र खरायोसमेत पालेका छन् । 

त्यतिमात्र होइन, उनले अर्का एक पूर्वसैनिकसँग मिलेर जिल्लामै पहिलोपटक बंगुर बधशालासमेत निर्माण गरेका छन् । जागिरबाट अवकाश लिएपछि पेन्सनले मात्र खर्च नपुग्दा धेरै समयसम्म आफूले आर्थिक अभावको तनाव भोगेको उनको भनाइ छ । बंगुरपालन सुरु गरेपछि आफूलाई पैसाको अभाव नभएको बताउँदै उनले भने, ‘यो व्यवसाय सुरु गरेपछि घरमा पैसाको समस्या छैन, बंगुरका माउ, पाठा र मासु बेचेरै महिनामा ३० हजारभन्दा बढी आम्दानी भइरहेको छ ।’ 

हिजोआज मानिस घरमै बंगुर खरिद गर्न आउने गरेको भन्दै उनले थपे, ‘हिजो बन्दुक चलाएर कमाएको भन्दा अहिले बंगुर पालेर कमाएको आम्दानीमा बढी सन्तुष्टि मिलेको छ, घरमै परिवारसँग बसेर राम्रो आम्दानी भइरहेको छ ।’ उनले काम गर्न केही कर्मचारी पनि राखेका छन् । युवाले सरकारी जागिर र विदेशमात्र रोज्ने गरेको भन्दै उनले कुनै न कुनै व्यवसाय गर्न समेत सुझाव दिए ।

श्रेष्ठमात्र होइन, पछिल्लो समय जिल्लामा बंगुरपालनतर्फ आर्कषित हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा उत्पादन भएको बंगुरले मात्र माग धान्न नसकेको र बाहिरबाट समेत आयात गर्नुपर्ने भएपछि पछिल्लो समय बंगुरपालनतर्फ किसान आर्कषित भएका हुन् । विगत दुइ वर्षदेखि बंगुरपालन व्यवसाय गर्दै आएका वीरेन्द्रनगर–११ निवासी चूडामणि खत्रीलाई पनि परिवारको घरखर्च जुटाउन विदेश जानुपरेको छैन । 

सातवटा बंगुरबाट व्यवसाय सुरु गरेका उनको फर्ममा अहिले ७० भन्दा बढी बंगुर छन् । बंगुरका पाठा र मासु बिक्री गरेर मासिक २२ हजारभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिए । रोजगारीका लागि दुईपटक मलेसिया गएका उनले भने, ‘दुःख गर्न सकेमा पैसा कमाउन विदेश नै जानुपर्दो रहेनछ, बंगुरले मेरो परिवारको अवस्था नै बदलेको छ ।’ 

विगतमा छाक टार्नका लागि आफन्तसँग ऋण लिएको सम्झँदै उनले थपे, ‘हिजोआज कसैसँग ऋण माग्नुपरेको छैन, बरु छिमेकीबाट नै पैसा लिन बाँकी छ ।’ पहिला आफूले ऋण माग्दासमेत बेवास्ता गर्नेहरू अहिले आएर आफूसँग सहयोग माग्न थालेको उनको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयले समेत जिल्लामा बंगुरपालनको राम्रो सम्भावना भएको जनाएको छ । कार्यालयका अनुसार पछिल्लो समयमा किसानले बाख्रापालनको साटो बंगुरपालन रोज्न थालेका छन् । जंगल र घाँसको अभाव भएकाले बाख्राको साटो किसान बंगुरपालनतर्फ आकर्षित भएको कार्यालयको भनाइ छ । 

विभिन्न सरकारी तथा गैरसरकारी निकायले पनि बंगुरपालनका लागि अनुदान सहयोग गर्न थालेपछि जिल्लामा बंगुरपालन गर्नेको संख्या बढ्दै गएको छ । अहिले जिल्लामा उत्पादन भएको बंगुर मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लामा पनि निकासी हुने गरेको छ । 

अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: