करार अवधि सकिएपनि रोजगारदाताले स्वदेश फर्किन दिएनन्
साउदी अरब- धन कमाउने मिठो सपना बोकेर साउदी अरब छिरेका एक नेपाली स्वदेश फर्कन नपाउँदा साउदीमा अलपत्र परेका छन् । गोर्खा जिल्ला धावा गाविस–८ बालुवाटारका ५५ वर्षीय सुकबहादुर तामाङ विगत १५ वर्षदेखि स्वदेश फर्कन नपाएका हुन् । 
 
दमामस्थित अल ‘वासिति कन्ट्रयाक्टिङ’ कम्पनीमा निर्माण मजदुरका रुपमा कार्यरत तामाङलाई कम्पनीले स्वदेश फर्कने व्यवस्था नमिलाइदिँदा वर्षौँदेखि साउदीमा अलपत्र परेका हुन् । पीडित तामाङलाई रोजगारदाताले न त राहदानी दिएको छ न त अन्य कागजात नै दिएको छ । तामाङका सबै कागजपत्र कम्पनीले राखिदिएपछि उनी समस्यामा परेका हुन् । 
 
दुईवर्षे करार सम्झौता सकिएपछि घर फर्कन तयार भएका तामाङलाई रोजगारदाताले स्वदेश फर्कन नदिएपछि उनको विदेशी भूमिमा विचल्ली भएको हो । स्वदेशमै बसेर परिवारको लालनपालन र साहुसँग लिएको ऋण चुक्ता गर्न नसकेपछि तामाङ २०५७ सालमा साउदी अरब गएका थिए ।  
 
करार अवधि सकिएपछि स्वदेश पठाइदिन पटक÷पटक आग्रह गर्दा पनि कम्पनीले सुनुवाई नगर्दा वर्षौँदेखि विदेशी भूमिमा आफू विचल्लीमा परेको तामाङले बताए । वर्षौँ बितिसक्दा पनि आफू स्वदेश फर्कन नपाउँदा घरपरिवारको विचल्ली भएको तामाङले सुनाए । तामाङलाई आफ्ना श्रीमती र छोराछोरीले दैनिक नेपालबाट फोन गरेर स्वदेश फर्कन आग्रह गरेपनि स्वदेश फर्कन सकेका छैनन् । 
 
घर फर्कने दिन पर्खँदा पर्खिदै पन्ध्रवर्ष वितिसक्यो, तामाङले दुखेसो पोख्दै भन्नुभयो– ‘‘अझै कहिले र कति वर्षपछि स्वदेश फर्कन पाउने हो त्यसको पनि कुनै टुङगो छैन । न्यायका लागि सात महिनाअघि साउदीको श्रम अदालतमा मुद्दा हालेपनि हालसम्म केही हुननसकेको उनले बताए । तामाङले आफूलाई स्वदेश फर्कने व्यवस्था मिलाइदिन सहयोगको याचना समेत गरेका छन् । 
 
कम्पनीले तामाङको आवास अनुमतिपत्र समेत नवीकरण गरिदिएको छैन । एक वर्षदेखि अकमा नवीकरण नगरीदिँदा उनी पछिल्लो समय अवैध कामदार सरह बस्न बाध्य छन् । तामाङले ११ महिनाको तलब समेत पाउन सकेका छैनन् । कम्पनीले तलब नदिने र अकमा नवीकरण नगरिदिएपछि उनले काम गर्न छाडेको समेत एकवर्ष भइसकेको छ । 
 
बिरामी परेका तामाङलाई कागजपत्र नभएकै कारण उपचार गर्न समेत समस्या परेको छ । उमेर ढल्किसकेका तामाङ स्वदेश फर्कने आशामा बसेका छन् । तर उनलाई स्वदेश फर्कनका लागि कहीँ कतैबाट पहल हुनसकेको छैन । तामाङले काम छाडेपछि अहिले नेपालीको आश्रयमा बस्दै आएका छन् । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: