काठमाडौं, पुष ३०
नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष विष्णु रिमालले आफूहरुले विभिन्न देशहरुमा श्रमिकलाई संगठित बनाउने र अधिकारका पक्षमा लड्ने काम गरिरहेको बताएका छन् । हङकङबाट सुरु भएको प्रवासी नेपाली श्रमिकलाई संगठित गर्ने अभियान अहिले खाडीका देशहरु र मलेसिया हुँदै युरोप पस्ने तरखरमा रहेको रिमालले बताए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका जिफन्ट अध्यक्ष रिमालले भारतमा रहेका नेपाली श्रमिकलाई संगठित गर्दै अघि बढ्न यसअघि पनि केहि प्रयास गरिएको भएपनि त्यो अझै पर्याप्त भइनसकेको धारणा राखे । अहिले भारतमा कार्यरत श्रमिकका पनि समस्या र चुनौति फेरिएको भन्दै सोही अनुरुप संगठित भएर लाग्नुपर्ने उनको भनाई थियो ।
भारतबाट आएका प्रवासी श्रमिकका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै रिमालले भारतमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेको हुँदा त्यहाँ संगठन बनाउनु अत्यन्त जरुरी रहेको भन्दै त्यसले अन्यायमा परेका श्रमिकलाई न्याय दिलाउन र पार्टीको गतिविधिलाई विस्तार गर्न सहयोग पुग्ने धारणा राखे ।
सोही अवशरमा बोल्दै ट्रेड यूनियन पोलिसी ईन्स्टिच्यूट(टुपी) का कार्यकारी निर्देशक उमेश उपाध्यायले नेपाली श्रमिक विश्वका विभिन्न मुलुकहरुमा पुगिसकेको भन्दै सोही अनुरुप जिफन्टले पनि जिफन्ट सहयोग समुहको नाममा श्रमिकलाई संगठित गर्ने काम गरिरहेको बताए । उनले हङकङ, दक्षिण कोरिया हुँदै विस्तार भएको जिफन्ट सपोर्ट ग्रुप गठनको काम हाल खाडीका मुलुक र मलेसियासम्म विस्तार भएको बताए ।
ठूलो संख्यामा बैदेशिक रोजगारीमा नेपाली श्रमिक रहेको स्थीतिमा प्रवासी श्रमिकका बीचमा यूनियन निर्माण अहिलेको आवश्यकता रहेको उपाध्यायको भनाई थियो । उनले जिफन्टले सहयोग समुह गठन गरी सम्वन्धित देशहरुमा रहेका ट्रेड यूनियनहरुसँग नै आवद्ध गराई काम गर्दा श्रमिकहरु सुरक्षित हुने र उपलव्धीमूलक पनि भएको बताए । विदेशमा संगठित भएर त्यहाँका रोजगारदातासँग अधिकार प्राप्त गर्नु फलामको च्यूरा चपाउनु सरह भएको भन्दै त्यसमा निक्कै सफलता प्राप्त भएको उपाध्यायको भनाई थियो ।
सो अवशरमा बोल्दै जिफन्ट गभर्निङ काउन्सीलकी सदस्य विन्दा पाण्डेले नेपालको श्रमिक आन्दोलनको ईतिहास र यूनियन गठनका बारेमा जानकारी दिइन् । उनले विभिन्न ट्रेड यूनियनहरु अलग अलग रुपमा मैदानमा क्रियाशिल रहँदा श्रमिकका साझा विषयमा समेत सहमति जुटाउन मुस्किल परेपछि सवैको साझा संस्थाका रुपमा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) गठन गरिएको बताइन् । प्रवासी श्रमिकलाई संगठित गर्ने काममा जिफन्टले धेरै ठूलो उपलव्धी हाँसिल गरिसकेको भन्दै पाण्डेले जिफन्ट सपोर्ट ग्रुपका रुपमा अव यूरोपमा समेत काम थालिने बताइन् ।
भरतबाट आएका नेपाली श्रमिक अगुवाहरुसँग गरिएको छलफलमा बोल्दै जिफन्टका विदेश विभाग प्मुख समेत रहेका सचिव रमेश बडालले कानूनी व्यवस्थाका बारेमा प्रष्ट पारे । उनले भारतमा नेपालीलाई यूनियनमा आवद्ध भएर क्रियाशिल हुन कुनै बाधा अवरोध नरहेको भन्दै पहिले नेपाली श्रमिकहरु बलियो हुनुपर्ने धारणा राखे । आइएलओका महासन्धिहरुले दिएका अधिकारका बारेमा बडालले बिस्तृतमा जानकारी गराएका थिए ।