
काठमाडौं, पुष २७- गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले निर्वाचित पदाधिकारीभन्दा १५ औं गुणा बढि सल्लाहकारहरु मनोनित गरेको छ । इतिहासमै कुनै नेपाली संघसंस्थामा यति धेरै सल्लाहकारहरु राख्ने एनआरएनए यूके सम्भवतः पहिलो हो । मनोनित १७८ जना सल्लाहकारमध्ये सहभागीलाई आइतबार अल्डरसटस्थित इम्पायर ब्याङ्क्यूटिङ हल, किङ्स सेन्टरमा प्रमाणपत्रसहित सम्मान गरिएको छ । बेलायतका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले सल्लाहकारहरुलाई सम्मान गरे ।
एनआरएनए यूके अध्यक्ष गुरुङले संघको महत्वकांक्षी हाउजिङ प्रोजेक्टमा सहयोग हुने आसाले त्यति जम्बो सल्लाहकार टिम बनाइएको प्रष्ट्याएका छन् । ‘हामी सुरुमा त जम्मा ५ जना मात्र राख्ने सोचमा थियौं । पछि हाउजिङ प्रोजेक्टमा सहयोग पुग्छ भनेर जसले जहाँबाट सिफारिस गरे पनि नाइ भनेनौं,’ उनले भने ।
कार्यक्रममा करिब २० लाख पाउण्डको लगानीमा नेपाल हाउस बनाउनेबारे जानकारी दिइयो । बेलायतमा नेपालीका लागि साझा सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले उक्त योजना अघि सारिएको संघले जनाएको छ । भवनमा गोर्खा संग्रहालय, कलाकृति, प्रेक्षालय, आवास कोठा, पसल आदि राख्न उचित हुने प्रस्ताव इन्जिनियर राजेश पाठकले राखेका थिए ।
कार्यक्रममा एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ लगायतले नेपाल हाउस र यसको महत्वबारे प्रकाश पारे । संस्थाका उपाध्यक्ष योगकुमार फगामीको संयोजनमा संघले अब दाताहरुबाट आवश्यक रकम संकलन गर्नेछ ।
कान्तिपुरबाट