विदेश नजाँदा भयो फाइदा 

सिन्धुली- २०७० सालदेखि कुखुरा व्यवसाय सुरु गरेका भिमेश्वर खुर्कोटका भूसाल श्रेष्ठले कुखुरा व्यवसायबाट घाटा बेहोर्नु पर्यो । कुखुरा नविकेर फाईदा नभएपछि उनी व्यवसाय छोडेर मलेशिया जान तयार भए । अब व्यवसाय गर्दिन भनेर श्रेष्ठ विदेश जान पासपोर्ट बनाउन कस्सिए । अनि पासपोर्ट पनि बनाए । विदेश गएर धेरै कमाउने, व्यवसायबाट लागेको घाटा बेहोर्ने सपना देखिसकेका थिए श्रेष्ठले । तर, विदेशमा पनि पैसा कमाउन सजिलो त कहाँ छ र ? विदेशमा गएर दुःख पाएका व्यक्तिहरुको कथा पनि उनले नसुनेका भने हैनन् ।

तर, श्रेष्ठको मन बदल्न सफल भयो घरेलु तथा लघुउद्यम विकास कार्यक्रम । विदेश जान कस्सिएका उनलाई आफ्नै ठाउँमा केही गर्न सकिन्छ र एकपल्ट घाटा हुँदैमा आत्तिनु हुन्न भन्ने भान उनमा पर्यो । लघु उद्यम विकास कार्यक्रमबाट आधुनिक तालिम र प्राविधिक सहयोग पाएपछि आफ्नो व्यवसाय अगाडि बढाए श्रेष्ठले ।

२०७० अर्थात १८ वर्षको उमेरदेखि कुखुरा व्यवसाय गर्न सुरु गरेका उनले एक वर्ष अघिदेखि फ्रेस मिट हाउस खोले । घरेलु तथा लघु उद्यम विकास कार्यक्रम, मेडेपको सहयोगमा उनले फ्रेस मिट हाउस सुरु गरेका हुन् । आफ्नो व्यवसाय सुरु गरेका उनले अहिले मासिक ५०० किलो भन्दा बढी मासु बिक्री गर्छन् । मेडेपको आर्थिक तथा प्राविधिक सहयोग र आफ्नो पनि केही लगानी गरेर व्यवसाय सुरु गरेका उनले लगानी पनि उठाइसकेका थिए ।

आफ्नो व्यवसायलाई अगाडि बढाइरहेका श्रेष्ठको वैशाख १२ र २९ गतेको भूकम्पले क्षति पुर्याइदियो । ३०० वटा कुखुरा मरेको उनले बताए । भूकम्पले क्षति पुर्याएपछि अब व्यवसायलाई छाड्ने कि गर्ने उनी दोधारमा परे । अब व्यवसाय नगर्ने नै सोचमा पुगे उनी । तर, उनको सोच बदलियो । मेडेपले उत्पादन गरेका भूकम्प प्रभावित लघु उद्यमीहरुलाई पुनः व्यवसायमा नै फर्काउने उदेश्यले भूकम्प पश्चात आएको युएनडीपी अन्तर्गतको शिघ्र उद्यम पुनरोत्थान परियोजना (आरइएलआरपी) कार्यक्रमले सहयोग गरेपछि श्रेष्ठ व्यवसायमा फर्कन सफल भए । आरइएलआरपीले उनलाई आधुनिक कुखुरा भुत्ल्याउने मेशिन लगायतका सामाग्री सहयोग गरेको छ । सामग्री खरिदको लागि आरइएलआरपीले ५० हजार सहयोग गरेको उनले बताए । अहिले श्रेष्ठले मासिक ५० हजार भन्दाबढी आम्दानी गर्ने गरेको बताए । मासिक नाफा मात्र ४० हजारभन्दा बढी हुने उनको भनाई छ । ‘‘त्यतिखेर विदेश गएको भए यती पैसा कमाउन सक्दिन थिए होला’’, उनले भने ।

श्रेष्ठ मात्र हैन्, भिमेश्वर खुर्कोटका लघु उद्यमीहरु अहिले आफ्नो व्यवसायमा फर्किएका छन् । मेडेपले विभिन्न सिपमूलक तालिम प्रदान गरी व्यवसाय गर्न सिकाई उत्पादन गरेका लघु उद्यमीहरुलाई भूकम्पले असर गरेको थियो ।

खुर्कोका अर्का भूकम्पपीडित लघुउद्यमी विष्णु श्रेष्ठ एक वर्षदेखि कपाल काट्ने काम गर्दै आएका छन् । उनले पनि विदेश जान पासपोर्ट बनाइसकेका थिए । मलेशियाको लागि जाने पक्कापक्की पनि भइसकेको थियो । विदेश गएर धेरै पैसा कमाउने उनको सपना पनि एक्कासी बदलियो । लघुउद्यम विकास कार्यक्रमले उनले मन बदलियो । घरेलु तथा लघुउद्यम विकास कार्यक्रमले कपाल काट्ने सम्वन्धी तालिममा सहभागि भएपछि विदेश जानुको साट्टो उनले हियर कटिङ एण्ड जेन्स पार्लर सञ्चालन गरे । थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गरेका उनले लगानी बढाउँदै नाफा पनि कमाएका थिए ।

तर, वैशाखको भूकम्पले उनलाई पनि अछुतो राखेन । व्यवसाय सञ्चालन गरेको घर नै भत्कियो । त्यसपछि एक महिना भन्दा बढी व्यवसाय बन्द गरे । त्यसपछि फेरी उनको मनमा पनि पहिलाको विदेश जाने सपना जाग्न थालेको थियो । व्यवसाय सञ्चालन गर्ने कि विदेश जाने उनी दोधारमा परे । पसलको लागि आवश्यक सामाग्री पनि भूकम्पका कारण क्षतिग्रस्त भएपछि तुरुन्तै व्यवसाय सञ्चालनको लागि सम्भव थिएन उनलाई । यस्तै चिन्ता लिएर के गर्ने के नगर्ने भनेर बसिरहेका उनमा खुसी ल्याइदियो शीघ्र उद्यम पुनरोत्थान परियोजना (आरइएलआरपी) कार्यक्रमले ।

आरइएलआरपी पसलको लागि चाहिने आवश्यक सामाग्री खरीदको लागि सहयोग पाएपछि अहिले उनको व्यवसाय पहिलाको भन्दा बढेको छ । यही व्यवसायबाट अहिले उनको मासिक ३० हजार कमाई हुन्छ । २५ हजार नाफा हुने गरेको उनको भनाई छ । ‘विदेश जाने सपना देख्न छाडे’, उनले भने, ‘अब विदेश जादिन, मैले सकुन्जेलसम्म यहीँ व्यवसाय गर्छु ।’

भिमेश्वर खुर्कोटमा कुखुरा व्यवसाय गर्दै आएकी रविना सेन्चुरी सफल लघुउद्यमीको रुपमा परिचित छन् । उनले कुखुरा व्यवसाय गर्न थालेको डेढ वर्ष भयो । घरेलु तथा लघुउद्यम विकास कार्यक्रमले तालिम प्रदान गर्नुका साथै प्राविधिक सहयोग गर्न थालेपछि उनले आफ्नो व्यवसाय अगाडि बढाएकी हुन् । कुखुरा व्यवसायबाट उनले एक पटकमा ३ लाख भन्दा बढी आम्दानी लिन थालिन् । व्यवसाय राम्रो भएपछि विदेशमा रहेका श्रीमानलाई पनि स्वदेश बोलाइन् र आफ्नो व्यवसाय बढाएर अघि बढिन् । अहिले उनको व्यवसाय देखेर खुर्कोटका मात्र हैन रामेछापका पनि कुखुरा व्यवसायमा लाग्न थालेको उनले बताइन् ।

वैशाखको भूकम्पले उनले व्यवसायमा धेरै क्षति पुग्यो । ३ सय कुखुरा मरे भने कुखुरा व्यवसाय गर्ने घर पनि भत्कियो । त्यसपछि भने उनलाई समस्या भयो । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै उनको व्यवसाय रोकिएन । आरइएलआरपी कार्यक्रमले कुखुराको खोर बनाउनको लागि जस्ता देखि आवश्यक सामाग्री सहयोग गरेपछि उनको व्यवसाय पहिलाको जस्तै भएको छ । अहिले उनको आम्दानी बढेको छ । आफ्नो व्यवसायलाई अझ बढाउने उनको सोच रहेको उनको भनाई छ ।

अहिले भिमेश्वर खुर्कोटमा लघुउद्यमीहरुको संख्या बढ्दै गएको छ । विदेश जानको लागि पासपोर्ट बनाएकाहरु पनि व्यवसायमा लागेका छन् । वीपी राजमार्ग र मध्य पहाडी राजमार्ग निर्माण भएसँगै खुर्कोटमा लघुउद्यमीहरुको संख्या बढेको हो । भूकम्पका कारण प्रभावित भएका लघुउद्यमीहरुका लागि विकास सहजीकरण सञ्जाल उदयपुरले उनीहरुलाई पुनः व्यवसायमा आउनको लागि सहयोग गरेपछि व्यवसायमा लाग्न सजिलो भएको उनीहरुको भनाई छ ।

अहिले भूकम्प प्रभावित लघु उद्यमीहरुका लागि आरइएलआरपीले सहयोग गरिरहेको छ । जिल्लामा सिड्स नेपाल सिन्धुली र विकास सहजीकरण सञ्जाल उदयपुरले काम गरिरहेका छन् । ११०५ जना भूकम्प प्रभावित लघु उद्यमीहरुलाई व्यवसायलाई निरन्तरता दिन सक्ने बनाउने कार्यक्रमको उदेश्य रहेको जनाइएको छ ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: