कुन देश जानेले कति तिरिरहेका छन् रकम ? 

काठमाडौं- सरकारले फ्रि भिसा, फ्रि टिकट कार्यान्वयनमा ल्याएको ५ महिना पछि पनि धेरै नेपाली मोटो रकम म्यानपावर कम्पनीहरुलाई बुझाएर गइरहेको एक अध्ययनले देखाएको छ । त्रिभुवन विमानस्थलबाट बाहिरिने मध्ये एक दिन बैदेशिक रोजगारीका लागि उडेका ७२ जनाको तथ्याँकलाई आधार बनाएर गरिएको अध्ययनले यस्तो देखाएको हो । 

माइग्रेण्ट सेण्टरले गरेको अध्ययन अनुसार त्यसरी बैदेशिक रोजगारीमा जाने मध्ये सवैभन्दा मोटो रकम बुझाउनेहरु कुवेत जानेहरु रहेका छन् । उनीहरुले सरदरमा प्रतिव्यक्ति एक लाखको हाराहारी तिरेको देखिएको छ । जवकी सरकारले गत असार २१ यता निःशुल्क भिसा र निःशुल्क टिकटमा मात्र नयाँ श्रम स्वीकृति दिंदै आएको छ । बैदेशिक रोजगार नियमावलीमा रहेको व्यवस्था अनुसार असार २१ अगाडी नै पूर्व स्वीकृति लिएका मागपत्रमा भनें व्यवसायीले पुरानै शुल्क लिन पाउँछन् ।

माइग्रेण्ट सेण्टरले गरेको अध्ययनमा फ्रि भिसा, फ्रि टिकटमा गएको भनिएकाहरुले पनि न्यूनतम १० हजार देखि अधिकतम १ लाख ५० हजारसम्म तिरिरहेको देखिएको हो । यसैगरी मलेसिया जानेहरुले पनि १० हजार देखि ८५ हजारसम्म तिरिरहेको देखिएको छ । युएई जानेहरु मध्ये केहि भनें कुनै लागत विना नैै गएको देखिएको छ । तर कतिपयसँग भनें म्यानपावर कम्पनीहरुले ८५ हजारसम्म लिएको देखिएको माइग्रेण्ट सेण्टरका सामी परियोजना संयोजक देवचन्द्र राईले बताए । उनका अनुसार साउदी जानेहरु मध्ये पनि केहि निःशुल्क रुपमा गएको देखिएको छ भनें कतिपयले १० हजार भन्दा बढी नै रकम तिरिरहेका छन् । 

अध्ययन गरिएका ७२ जना मध्ये १५ जना कतार गएका छन् । उनीहरु मध्ये ४ जना निःशुल्क रुपमा गएका छन् भनें ४ जनाले १० हजारसम्म मात्र शुल्क तिरेका छन् । तथा ७ जनासँग १० हजार भन्दा बढी रकम लिइएको देखिएको छ । तर तुलनात्मक रुपमा कतार जानेहरुले सवैभन्दा कम शुल्क तिरेको देखिएको संयोजक राईले बताए । 

सेण्टरले राजधानीमा आयोजना गरेको छलफलमा बैदेशिक रोजगार विभागका निर्देशक जनकराज रेग्मिले विभाग सरकारले यसअघि गरेको निर्णय कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए । उनले सुरुमा फ्रि भिसा, फ्रि टिकटको व्यवस्था कार्यान्वयन गर्दा केहि सच्याउनु पर्ने नीतिगत कुरा छुटेका भएपनि तिनिहरु समयक्रमसँगै सच्चिंदै जाने विश्वास प्रकट गरे । नियमावलीमा पूर्व स्वीकृतिको म्याद तीन बर्षको रहने व्यवस्था भएका कारण केहि व्यवहारिक कठिनाई परेको स्वीकार्दै निर्देशक रेग्मिले तर त्यसलाई विभाग एक्लैले केहि गर्न नसक्ने बताए । उनले विभागमा श्रोतसाधनको कमी रहेको भन्दै त्यसलाई बढाउन सवैले पहल गर्नुपर्ने धारणा राखे । 

सो अवशरमा बोल्दै नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुँगले १० हजारले मात्र व्यवसायीको लागत खर्च समेत नउठ्ने भन्दै यसले थुप्रै व्यवसायीले यसलाई पालना नगरेको बताए । उनले तीन महिनाका लागि भनेर लागु गरिएको फ्रि भिसा, फ्रि टिकटको व्यवस्थाको समयावधि सकिएको भन्दै व्यवसायीले नेपाली कामदारको हितमा ध्यान राखेर हाल पनि कार्यान्वयनमै राखेको बताए । उनले गलत काम गर्ने व्यवसायीको लाइसेन्स खारेज गरे हुने भन्दै तर व्यवसायीका पनि जायज समस्यालाई राज्यले सुन्नु पर्ने र त्यसलाई सम्वोधन गर्र्नुपर्ने बताए । 

सो अवशरमा श्रम तथा रोजगार मन्त्रालयमा रहेको सामी परियोजनाका प्रमुख सूर्य भण्डारीले यस अगाडी पनि फ्रि भिसा र फ्रि टिकटमा थुप्रै माग आउने गरेपनि त्यसमा व्यवसायीले मनोमानी गर्ने गरेको बताए । उनले तीन बर्षको पूर्व स्वीकृतिको म्याद राखिएका कारण समस्या परेको भन्दै त्यसलाई सच्याउने तर्फ ध्यान दिन आग्रह गरे । हाल बैदेशिक रोजगार व्यवसायीले झण्डै १२ लाख पूर्वस्वीकृति असार २१ अगाडी नै निकालेर राखेका छन् । यसले बैदेशिक रोजगारीमा जानेहरुबाट धेरै रकम असुल्न व्यवसायीलाई सहज भइरहेको छ । 

छलफलमा माइग्रेण्ट सेण्टरका अध्यक्ष सिद्धिचन्द्र बरालले बैदेशिक रोजगारीमा जान ठिक्क परेकाहरुलाई दिइरहेको सेवा चुनौतिपूर्ण रहेको बताए । उनले यसमा नागरिक समाज, व्यवसायी र सरकारबीच अझ बलियो हातेमालो हुनुपर्ने धारणा राखे । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: