काठमाडौं, पुष २४
श्रम तथा रोजगार मन्त्री दिपक बोहोराले बैदेशिक रोजगारमा जानेहरुको हाल रहेको ५ लाखको बीमा पर्याप्त नभएको भन्दै त्यसलाई १० लाख पुर्याउनु पर्ने बताएका छन् । उनले यसका लागि स्वदेशमा रहेका विभिन्न बीमा कम्पनीहरुबीच प्रतिस्पर्धा गराई न्यूनतम शुल्कमा जसले बीमा सुविधा उपलव्ध गराउँछ सोही कम्पनी मार्फत बीमा गर्ने व्यवस्था मिलाइने बताए ।
यसैगरी हाल रहेको क्षतिपूर्तिको अधिकतम सीमा समेत बढाइनु पर्ने मन्त्री बोहोराले बताए । हाल श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गएका व्यक्तिको स्वीकृत अवधि भित्रै मृत्यु वा गम्भीर प्रकृतिको अंगभंग भएमा अधिकतम ३ लाख क्ष्तिपूर्ति दिने व्यवस्था छ ।
मन्त्री भएपछि आफ्नो एकसय दिनको कार्ययोजना प्रस्तुत गर्दै मन्त्री बोहोराले हाल बैदेशिक रोजगारीबाट फर्केकाहरुले पुनः श्रम स्वीकृति लिन धेरै झण्झट व्यहोर्नु परिरहेको भन्दै त्यसलाई विमानस्थलबाट नै दिने व्यवस्था मिलाउने पनि जनाएका छन् । विदेशबाट त्रिभुवन विमानस्थलमा उत्रिनासाथ पुनः श्रम स्वीकृति गरेर घर गएका व्यक्ति सिधै हवाईजहाज चढेर पुनः विदेश उड्न पाउने व्यवस्था गरिनेछ पत्रकार सम्मेलनमा उनले भने ।
यसैगरी व्यक्तिगत रुपमा बैदेशिक रोजगारमा जान ईच्छुकहरुलाई पनि विमानस्थलबाटै सहज रुपमा श्रम स्वीकृति दिइने व्यवस्था मिलाइने मन्त्रालयको सुधार कार्ययोजनामा परेको छ । पुष २४ देखि सुरु भएको कार्ययोजना बैशाख २९ सम्मका लागि तय गरिएको छ ।
यसैगरी मन्त्रालयले हाल काठमाडौंबाट मात्र सञ्चालन भइरहेको अभिमुखिकरण तालिमलाई जिल्लास्तर सम्म पुर्याउने प्रतिवद्धता जनाएको छ । यसका लागि सवैभन्दा धेरै कामदार विदेश जाने जिल्लाहरुको आधारमा बढीमा १० वटा जिल्लाबाट नमूना रुपमा अभिमुखिकरण तालिम सञ्चालन गरिने मन्त्री बोहोराले प्रष्ट पारे । उनका अनुसार यसका लागि पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, तालिम दिने संस्था छनौट तथा शुल्क निर्धारण गर्ने काम एक सय दिन भित्रै सम्पन्न हुनेछ ।
हाल सरकारले लागु गरेको फ्रि भिसा, फ्रि टिकटको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रालयमा अनुगमनको स्थायी संरचना स्थापना गर्ने र अनुगमन प्रतिवेदन पेश गरिने मन्त्री बोहोराले सार्वजनिक गरे । यसले हाल अनुगमनमा देखिएको समस्यालाई सम्वोधन गर्ने उनको तर्क थियो । अनुगमनका नाममा कुनै सरकारी कर्मचारीले पदको दुरुपयोग गरे तत्काल कारवाही गर्ने प्रतिवद्धता समेत मन्त्री बोहोराले जनाएका छन् ।
ईजरायलसँग नेपाल सरकारले गरेको समझौता बमोजिम १ सय १९ जना नर्सिङ पढेका व्यक्तिको नामावली पठाइसकिएको भन्दै चाँडै पहिलो लट कामदार ईजरायल जाने मन्त्रालयले जनाएको छ । यसैगरी हाल दुई महिनाको तालिम सञ्चालन भइसकेको र अवको एक महिना पछि थप व्यक्तिहरु ईजरायल जानका आवेदन दिन योग्य हुने भन्दै त्यसपछि थप व्यक्तिको सूची तयार पारिने मन्त्रालयले जनाएको छ ।
यसैगरी आगामी पुष २७ गते श्रम तथा रोजगार मन्त्रालयका सचिवको नेतृत्वमा एक कार्यदल साउदी अरेवियामा छलफलका लागि जाने भन्दै त्यसले श्रम सम्झौताका लागि आवश्यक वातावरण बनाउने मन्त्री बोहोराले जानकारी दिए । यसैगरी पुष २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सहितको टोली मलेसिया जानेछ । सो टोलीले मलेसियामा नेपाली कामदारको माग तथा पछिल्लो अवस्थाका बारेमा अध्ययन गर्ने जनाइएको छ । पहिलो तीन महिना भित्रमा नयाँ अन्तराष्ट्रिय श्रम बजारको खोजी र प्रवद्र्धनका लागि पनि मन्त्रालयले योजना बनाएको छ ।
बैदेशिक रोजगारीका बारेमा सुसूचित गर्ने उद्धेश्यले मन्त्रालयले मुख्य गन्तव्य मुलुकका बारेमा महत्वपूर्ण सुचना सामग्रीहरु स्थानिय भाषामा नै तयार पारेर वितरण गर्ने मन्त्री बोहोराले बताए । यसैगरी मन्त्रालयले यसबर्ष ११ हजार ५ सय व्यक्तिलाई सीपमूलक तालिम प्रदान गर्ने समेत योजना सार्वजनिक गरेको छ । यसैगरी मन्त्री बोहोराले एक सय दिनको कार्ययोजना भित्र आधिकारिक ट्रेड यूनियनको निर्वाचन, भुकम्प प्रभावित क्षेत्रमा सीपमूलक तालिम सञ्चालन लगायतका योजना बनाइएको बताए ।
