काठमाडौं, पुष २४- कतारमा सन् २००४ मा जारी भएको श्रम कानून(जसलाई २००४ को कानून नं. १४ भनिन्छ) श्रमिकहरुलाई लागु हुन्छ । यो कानून कतारमा काम गर्ने नेपाली प्रवासी श्रमिक लगायत सम्पूर्ण प्रवासीहरुलाई लागु हुन्छ ।

रोजगार सम्बन्ध स्थापना भएका सबै श्रमिक जस्तै कारखाना, होटल, डिपार्टमेन्ट स्टोर तथा मल, निर्माण क्षेत्र लगायत एकजना मात्र श्रमिकलाई काममा लगाउने व्यवसायमा पनि यो कानून लागु हुन्छ ।

सो कानूनमा रहेका मुख्य कुरा के छन् ? देशपरदेशले यसअगाडी पनि विदा, ओभरटाइम लगायतका विषयमा जानकारी प्रस्तुत गरिसकेको छ । जानकारीको दोश्रो भाग: 

उपदान सम्बन्धी व्यवस्था

  • एक वर्ष वा सो भन्दा बढी सेवा गरेकोमा वार्षिक ३ हप्ताभन्दा कम नहुने गरी रोजगार सम्झौतामा उल्लेख भए अनुसारको उपदान पाउनेछन् ।

दुर्घटना र क्षतिपूर्ति सम्बन्धमा

  • रोजगारदाताले तोकेको काम गर्दा गर्दै वा सो काममा जाँदा र फर्कदा दुर्घटना भएमा रोजगारदाताले डाक्टरको सल्लाह अनुसार उपचार खर्च सबै व्यहोर्नु पर्छ ।
  • दुर्घटनाको कारण मृत्यु वा शतप्रतिशत अङ्गभङ्ग भएमा दुई लाख कतारी रियाल क्षतिपूर्ति पाउँछन् । 
  • आंशिक रुपमा अङ्गभङ्ग भएमा सो अनुपातले नै क्षतिपूर्ति पाउँछन् । यसको सूची कतारी श्रम कानुन २००४ को अनुसूचीमा दिइएको छ ।
  • मृत्यु भएमा शवलाई नेपाल पठाउने दायित्व रोजगारदाताको हुनेछ ।

दुर्घटना बिदा

  • उपचारको क्रममा ६ महिनासम्मको पूरा तलब र सोभन्दा पछाडि उपचार नभएसम्म वा काममा फर्कन नसक्ने प्रमाणित नभएसम्म आधा तलब दिइन्छ ।

क्षतिपूर्ति नपाउने

  • जानाजान दुर्घटना गराएमा वा लागु पदार्थ वा मादक पदार्थ सेवन गरी दुर्घटना गराएको कारण अङ्गभङ्ग वा मृत्यु भएमा क्षतिपूर्ति पाईंदैन ।
  • यसरी नै सुरक्षा निर्देशन उल्लङ्घन गरेको भएमा पनि क्षतिपूर्ति पाईंदैन ।
  • उपचार गर्दा डाक्टरले भने बमोजिम काम नगरे पनि क्षतिपूर्ति नपाउने हुन सक्छ ।

त्यसैले काम गर्दा सुरक्षा उपकरण, सुरक्षा निर्देशनको प्रयोग र पालना गर्न तथा डाक्टरको सल्लाह मान्नुपर्छ ।

मृत्यु भएमा हकवालाले पाउने

दुर्घटना वापतको क्षतिपूर्ति श्रमिकको मृत्यु भएमा हकवालालाई दिइन्छ ।

क्षतिपूर्तिको भुक्तानी

  • अपाङ्गता प्रमाणित भएको १५ दिनभित्र श्रमिकलाई क्षतिपूर्ति दिनुपर्छ ।
  • मृत्यु भएकोमा सो मितिले १५ दिनभित्र अदालतमा क्षतिपूर्ति रकम जम्मा गर्नुपर्छ ।
  • अपाङ्गता प्रमाणित भएको वा मृत्यु भएको एक वर्षभित्र क्षतिपूर्ति दाबी गरिसक्नु पर्छ । सो भन्दा पछाडि उक्त क्षतिपूर्ति दाबी गर्न सकिंदैन ।

व्यवस्थापन प्रबन्ध

रोजगारदाताले श्रमिकलाई क्वाटर अर्थात वासस्थान व्यवस्था गर्दा निम्न कुरा पालना गर्नुपर्छ ः

  • प्रत्येक श्रमिकलाई ४ वर्ग मिटर हुने व्यवस्था
  • एउटा कोठामा ८ जना भन्दा बढी राख्न नपाउने
  • ८ जना बराबर एउटा शौचालय र २० जना बराबर एउटा वाटर कुलरको व्यवस्था
  • वासस्थलका झ्यालमा जाली हुनुपर्ने, कोठामा हावा, प्रकाश र बिजुलीको व्यवस्था
  • खाट र दराज दिनुपर्ने
  • वासस्थान दिए बापत तलवबाट कुनै रकम कट्टा गर्न नपाउने

व्यक्तिगत सुरक्षा उपकरण

  • कार्यस्थलको काम सम्बन्धी व्यक्तिगत सुरक्षा उपकरण रोजगारदाताले दिनुपर्छ  । सो बापत तलब कट्टा गर्न पाइदैन ।

क्रमशः

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय