सुदिप निउरे, क्वालालामपुर
मलेसियामा बिभिन्न मुलुकका गरि करीब ४० हजार अबैधानिक कामदारले सुरक्षा गार्डको काम गरीरहेको देखिएको छ । सरकारको अनुमति बिपरीत कतिपय कम्पनिहरुले अबैधानिक कामदारलाई सुरक्षा गार्डमा सामेल गरेको सेक्युरिटी सर्भिस एसोसियसन अफ मलेसियाका अध्यक्ष दातुक श्री मुस्तपालाई उध्रित गर्दै स्थानीय अधिकांश पत्रपत्रिकाले खबर प्रकाशित गरेका छन् ।
बंगलादेश ,पाकीस्तान , भारत लगाएत नेपाली अबैधानिक कामदार सुरक्षा गार्डमा सामेल रहेको एसोसियसनका अध्यक्ष मुस्तपाले बताएका छन् । कुन देशका कति व्यक्ति अबैधानिक तरिकाबाट सुरक्षागार्डको काममा छन भन्ने प्रष्ट गरिएको छैन। मलेसियाको गृह मन्त्रालयले बिदेशी कामदारमध्ये नेपालीलाई मात्र सुरक्षा गार्डको लागि अनुमति दिएको छ । मलेसिया सरकारसंग एक लाख ६८ हजार स्थानिय र २८ हजार नेपाली सुरक्षा गार्डको आधिकारिक तथ्यांक छ । कुल एक लाख ९६ हजार बाहेकका अन्य ४० हजार अबैधानिक सुरक्षागार्ड नियन्त्रण गर्न प्रहरी, अध्यागमन बिभाग र एसोसिएसनको एक कार्यदल समेत गठन भएको छ ।