कोरियामा पनि पाउँदैनन् नेपाली कामदारले तलव 

काठमाडौं, पुष २२

कोरियाको रोजगारी थुप्रै नेपाली युवाका लागि आकर्षणको विषय भएपनि कोरिया गएका नेपाली कामदार तलव समेत नपाउने अवस्थामा रहेको सोही क्षेत्रमा कार्यरत व्यक्तिहरुले बताएका छन् । उनीहरुले रोजगारदाताबाट तलव नपाउने देखि किस्तावन्दीमा तलव पाउने र ढिलो तलव पाउने समस्या भोगिरहेको उनीहरुले बताएका छन् । 

माइग्रेण्ट सेण्टरले आयोजना गरेको रोजगार अनुमति प्रणाली(एपिएस) सम्वन्धि छलफल तथा अन्तरक्रियामा विगत १८ बर्षदेखि कोरियामा बसेर सामाजिक काम समेत गर्दै आएका यज्ञराज सुवेदीले त्यहाँ कार्यरत नेपालीले भोगिरहेका समस्याको फेहरिस्ता प्रस्तुत गरे । 

किम्हे माइग्रेण्ट सेण्टरका सुवेदीका अनुसार कोरियामा कार्यरत नेपालीले भोगिरहेको दोश्रो ठूलो समस्या दुर्घटना तथा क्षतिपूर्ति नपाउनु रहेको छ । कोरियामा हरेक बर्ष कारखानामा हुने दुर्घटना बढ्दो क्रममा रहेको उनले बताए । उनका अनुसार कतिपय दुर्घटना रोजगारदाता र कामदारबीच सही रुपमा सम्वाद हुन नसक्दा समेत हुने गरेको छ । 

यसैगरी कोरियामा लैगिक तथा यौनिक र शारिरीक हिंसा तथा दुव्र्यवहारका घटना पनि प्रसस्त हुने गरेका छन् । थोरै संख्यामा कुनै सानो कम्पनी वा कृषिमा काम गर्ने महिला श्रमिकलाई रोजगारदाताले यौन हिंसा गर्ने गरेको पाइएको उनले बताए । कोरियामा ५ जनाभन्दा कम कामदार कार्यरत कम्पनी वा कृषि क्षेत्रमा श्रम कानून लागु नहुने भन्दै सुवेदीले यसले पनि अन्यायमा पर्दा न्यायका लागि अपिल गर्न समस्या भएको उनको भनाई छ । त्यस्ता कम्पनीमा काम गर्दा अतिरिक्त समय काम गरेपनि ओभरटाइम वापतको रकम नपाउने समस्या कोरियामा रहेको छ । 

कोरियामा रोजगारदाता रोज्न नपाउनु ठूलो समस्या रहेको भन्दै सुवेदीले पहिले थाहा नपाएर विदेशी कामदारलाई भेदभाव गर्ने कोरियालीहरुले पछिल्लो समयमा जानजान भेदभाव गर्न थाल्नु चिन्ताको विषय भएको बताए । तर कोरियामा कोरियाली कामदारले नपाउने थप दुईवटा बीमा समेत विदेशी कामदारलाई रहेको भन्दै नेपाली कामदारले राम्रोसँग भाषा सिकेर कोरिया गएमा अहिले भोगिरहेको समस्या न्यून गर्न सकिने सुवेदीको भनाई छ ।

सोही अवशरमा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणी भूर्तेलले बैदेशिक रोजगारीले देशमा दिगो आर्थिक विकास नहुने भन्दै नेपाल सरकारले यसलाई तत्कालको विकल्पका रुपमा मात्र लिएको बताए । उनले बैदेशिक रोजगारीबाट नेपालीले कमाएको रकमको सदुपयोगका लागि नीति आवश्यक पर्ने भन्दैै त्यसका लागि मन्त्रालय प्रयत्नशिल रहेको जानकारी दिए । नेपालीले विदेशमा कमाएको रकम मध्ये ८० प्रतिशत भन्दा धेरै उपभोगमा खर्च भइरहेको भन्दै त्यसलाई उत्पादनको क्षेत्रमा लगानी गर्ने वातावरण तयार गर्न सवैले मिलेर काम गर्नुपर्ने खाँचो रहेको औंल्याए । 

कोरिया जाने कामदारको अभिभमुखिकरणको समयावधि बढाउनु पर्ने आवश्कता बोध भएको भन्दै भूर्तेलले कोरियाबाट फर्केकाहरु केहि उत्पादनमुलक काममा संलग्न भएको भन्दै त्यसको प्रशंसा पनि गरे । उनले बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई संगठित गर्न मन्त्रालयले पहल थालेको भन्दै उत्कृष्ट उद्यमीलाई प्रोत्साहित गर्ने नीति श्रम तथा रोजगार मन्त्रालयको भएको बताए । 

कोरियाका लागि पूर्व श्रम सहचारी राजाराम बर्तौलाले कोरियास्थीत नियोग, श्रम सहचारी, कोरियामा रहेका सामाजिक संघसंस्था र नेपाली समुदाय मिलेर अगाडी बढेमा धेरै समस्या हल हुने धारणा राखे । उनले यसका लागि श्रम सहचारीको भूमिका ठूलो हुने भन्दै यसमा ध्यान दिन समेत आग्रह गरे । 

खाडी र मलेसियामा जस्तो कोरियामा नेपाली कामदारले समस्या भोगिरहेको अवस्था नभएको भन्दै बर्तौलाले तर कोरियाको समस्यालाई पनि सम्वोधन गर्न भनें तत्परता देखाइनुपर्ने बताए । उनले नेपाली कामदारका लागि अभिमुखिकरण तालिम पर्याप्त हुुन नसकेको भन्दै त्यसको समयावधि बढाउन आवश्यक रहेको धारणा राखेका थिए । 

यसअघि माइग्रेण्ट सेण्टरका तर्फबाट बोल्दै निलाम्वर बडालले आफ्ना संस्था ३० जिल्लामा पुगेको र १७ जिल्लामा निर्वाचित पदाधिकारी सहितको संगठन कृयाशिल रहेको बताए । बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई संगठित गर्दै उनीहरुलार्ई उत्पादनमुलक कार्यमा संलग्न गराउन आफूहरुको पहल, प्रयास केन्द्रीत रहेको उनको धारणा थियो । त्यसका लागि सीपमूलक तालिम सञ्चालन, होमस्टे सञ्चालन, विभिन्न उपहार घरहरुको सञ्चालनमा आफूहरुले हातेमालो गरिरहेको बडालले बताए । 

कार्यक्रममा ईपिएस शाखाका प्रमुख डिल्लीराम बाँस्तोला, माइगे्रण्ट सेण्टरका अध्यक्ष सिद्धिचरण बराल लगायतले धारणा राखेका थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय