किन अकस्मत बढे पासपोर्ट बनाउनेहरु ? 

काठमाडौं, पुष २१- डेढ महिनायता राहदानी बनाउन प्रशासन कार्यालय धाउनेको संख्या बढेको छ। वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो मात्रामा गिरावट आइरहेका बेला पासपोर्ट बनाउनेको संख्या भने आश्चर्यजनक रूपमा बढेको हो। नोभेम्बर २४ यता नयाँ पासपोर्ट बनाउन आउनेको संख्या ह्वात्तै घट्ने अनुमानविपरीत आवेदन संख्या देख्दा राहदानी विभागसमेत चकित छ। 

नोभेम्बर २४ अघिको तुलनामा त्यसपछिका दिन दैनिक औसत १ हजार ४ सयभन्दा बढी पासपोर्टका लागि आवेदन परेको देखिन्छ। पुरानो हस्तलिखित पासपोर्ट विस्थापित गर्दा समेत यति ठूलो संख्यामा आवेदन पर्ने गरेको थिएन। अहिले पासपोर्टका लागि एकैदिन करिब ८ हजार सेवाग्राहीको आवेदन पर्न थालेको छ।

‘सन् २०१५ को नोभेम्बर २४ पछि पासपोर्ट बनाउन आउने संख्या घट्ने अनुमान थियो, त्यो मिलेन। त्यसअघिका दिनमा भन्दा पनि बढी सेवाग्राही पासपोर्ट बनाउन आउन थालेका छन्। तथ्यांक हेर्दा हामीसमेत चकित परेका छौं’ राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले भने।

विभागले सन् २०१० डिसेम्बर २६ बाट हस्तलिखित पासपोर्ट बन्द गरी मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी गर्न सुरु गरेको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार हस्तलिखित पासपोर्ट सन् २०१५ नोभेम्बर २४ सम्म मात्र प्रयोग गर्न सकिन्थ्यो। जसअनुसार केही हजार राहदानीबाहेक सबै हस्तलिखित पासपोर्ट विभागले विस्थापित गरिसकेको छ।

विभागको तथ्यांकअनुसार सन् २०१० डिसेम्बर २६ देखि २०१५ नोभेम्बर २४ सम्म (१ हजार ७ सय ९५ दिन) कुल ३८ लाख ६ हजार ३ सय ७६ थान पासपोर्ट जारी भएका छन्, जतिबेलासम्म हस्तलिखित राहदानीसमेत प्रयोग गर्न सकिन्थ्यो। यो १ हजार ७ सय ९५ दिनमा विभागले औसत प्रतिदिन २ हजार १ सय २० पासपोर्ट जारी गरेको थियो।

हस्तलिखित पासपोर्ट प्रयोगमा पूर्ण बन्देज लागेपछि सन् २०१५ नोभेम्बर २५ देखि २०१६ जनवरी ३ (४० दिनमा) सम्म विभागले १ लाख ४० हजार ८ सय ६६ पासपोर्ट जारी गरेको छ। यो अवधिमा प्रत्येक दिन औसत ३ हजार ५ सय २१ पासपोर्ट जारी गरेको छ। विभागको तथ्यांक तुलना गर्दा सन् २०१५ नोभेम्बर २४ सम्म भन्दा त्यसपछिका दिनमा औसत प्रतिदिन १ हजार ४ सय १ बढी पासपोर्ट जारी भएका छन्।

‘हस्तलिखित पासपोर्ट विस्थापन गर्ने कार्य लगभग सकिएकाले नोभेम्बर २४ पछि पासपोर्ट बनाउन आउनेको भीड पहिले जस्तो नहोला भन्ने हाम्रो सोच थियो तर झन्झन् बढ्दो छ’ महानिर्देशक थापाले भने। यसअघि दैनिक सबैभन्दा बढी पासपोर्ट सन् २०१५ जनवरीदेखि नोभेम्बर २४ सम्म बनाउन आउने अनुमान गरिएको थियो। हस्तलिखित पासपोर्ट विस्थापन र नयाँ पासपोर्टसमेत जारी गर्नुपर्ने अन्तिम मिति परेकाले यो अवधिमा पासपोर्ट बनाउनेको भीडलाई सबैभन्दा ठूलो रूपमा लिइएको थियो। तर, यो अवधिमा भन्दा पनि नोभेम्बर २४ पछि पासपोर्ट बनाउन आउनेको संख्या ठूलो मात्रामा बढेपछि विभाग चकित परेको हो।

सन् २०१५ जनवरी १ देखि नोभेम्बर २४ (३ सय २८ दिनमा) को अवधिमा विभागले कुल ९ लाख ८३ हजार ४० पासपोर्ट जारी गरेको छ। यो अवधिमा प्रतिदिन औसत २ हजार ९ सय ९७ थान पासपोर्ट जारी भएका छन्। नोभेम्बर २४ पछिका ४० दिन औसत प्रतिदिन ३ हजार ४ सय ९९ पासपोर्ट जारी भएको देखिन्छ। अर्थात २०१५ नोभेम्बर २४ सम्मको तुलनामा त्यसपछिका दिनमा औसत प्रतिदिन ५ सय २४ थान राहदानी बढी जारी भएका छन्। नोभेम्बर २५ पछि एकैदिन सबैभन्दा बढी डिसेम्बर १८ मा ७ हजार ९ सय ६७ सेवाग्राहीको आवेदन परेको थियो।

सबैभन्दा बढी पासपोर्ट वैदेशिक रोजगारीमा जानेले बनाउने गर्छन् तर आर्थिक वर्ष २०७२-२०७३ सुरु भएपछि विविध कारणले वैदेशिक रोजगारीमा जानेको संख्या घट्दो छ। भूकम्प, निःशुल्क टिकट र भिसाको व्यवस्था, मधेस आन्दोलनले गर्दा वैदेशिक रोजगारमा जानेको संख्या घट्दो क्रममा छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत मंसिरमा ३८ हजार ३ सय ५० जना वैदेशिक रोजगारीमा गएको देखिन्छ, जबकि २०७१ मंसिरमा यो संख्या ५३ हजार ३ सय ५४ थियो।

आर्थिक वर्ष २०७१-०७२ को साउनदेखि मंसिरसम्म २ लाख २५ हजार ९ सय ७७ जना वैदेशिक रोजगारीमा गएका थिए। यो आर्थिक वर्ष २०७२-०७३ को साउनदेखि मंसिरसम्म वैदेशिक रोजगारीमा जानेको संख्या घटेर १ लाख ७४ हजार ९ सय २६ पुगेको छ। अघिल्लो वर्षको चार महिना र यो वर्षको चार महिनाको तुलना गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या ५१ हजारभन्दा बढीले घटेको छ। ‘वैदेशिक रोजगारीमा जाने संख्या घटेको छ, मधेसमा आन्दोलन चलिरहेको छ तैपनि पासपोर्ट बनाउन आउनेको संख्या झन् बढ्नुको रहस्य हामीले बुझ्न सकेका छैनौं। यस विषयमा गहन अध्ययन हुन जरुरी छ’ महानिर्देशक थापाले भने।

तराईका ८ जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी साढे चार महिनादेखि आन्दोलित छ। यी ८ जिल्लाका सदरमुकाम प्रायः ठप्प छन्। वैदेशिक रोजगारीमा जाने सबैभन्दा ठूलो संख्या पनि यिनै ८ जिल्लामा छन् भने पासपोर्ट बनाउने पनि त्यहीँ धेरै छन्। राहदानी विभागले हालसम्म द्रूतसेवा (१० हजार रुपैयाँ राजस्व लिएर) अन्तर्गत साढे १६ लाख पासपोर्ट जारी गरेको छ, जसको करिब १५ प्रतिशत यिनै ८ जिल्लावासीका नाममा जारी भएका छन्। तर, पछिल्ला महिना तराईमा चलेको आन्दोलनका कारण यी जिल्लाबाट निकै कमले मात्र पासपोर्ट बनाएका छन्। तैपनि पासपोर्ट बनाउनेको संख्या घटेको छैन, बढ्दो छ।

पासपोर्ट हराउने कारणले गर्दा बनाउन आउनेको संख्या बढेको भन्ने तर्कसँग विभाग सहमत छैन। ५ वर्ष अवधिमा हस्तलिखित र एमआरपी गरी कुल १ लाख ३४ हजार ९ सय ६६ पासपोर्ट हराएका छन्। हराएका पासपोर्टमा एमआरपी संख्या निकै सानो छ। औसतमा प्रत्येक महिना २ हजार २ सय ४९ पासपोर्ट हराउने गरेका छन्।

विभागका निर्देशक शरदराज अरन विविध कारणले पासपोर्ट बनाउनको संख्या बढेको बताउँछन्। ‘हामीकहाँ अध्ययन त भएको छैन तर केही मनोवैज्ञानिक र प्राविधिक कारणले पासपोर्ट बनाउनेको संख्या बढेको हुनसक्छ’ उनले भने।

निर्देशक अरनका अनुसार पछिल्ला दिन पासपोर्ट बनाउन आउनेमा वृद्धवृद्धा र बालबालिकाको संख्या निकै बढेको छ। देशमा राजनीतिक संक्रमण लम्बिँदा विदेशमा रहेकाले आफ्ना आमाबुबा, छोराछोरीलाई उतै डाक्ने क्रम बढेको उनी बताउँछन्। त्यति मात्र होइन, कुनै एक देशले भिसा रिजेक्ट गरे अर्को देशले भिसा दिँदैन भन्ने मनोविज्ञानका कारण एकपटक भिसा नपाउनेबित्तिकै त्यो पासपोर्ट त्यागी नयाँ लिने क्रम बढ्दो छ। भिसा रिजेक्ट भएपछि पासपोर्ट हरायो भन्दै यस्ता व्यक्ति नयाँ पासपोर्ट बनाउन आउने गर्छन्।

राहदानी विभागले सन् २०१० डिसेम्बर २६ देखि २०१५ डिसेम्बर ३१ सम्म कुल ३९ लाख ३८ हजार ८ सय ४ एमआरपी जारी गरेको छ। पासपोर्ट लिनेमा ३२ हजार २९ हजार ९४ जना पुरुष, ६ लाख ९ हजार ६ सय ९९ महिला र ११ जना तेस्रोलिंगी छन्। विभागले पुरुषलाई ‘एम’ महिलालाई ‘एफ’ र तेस्रो लिंगीलाई ‘ओ’ सिम्बोल राखी पासपोर्ट जारी गर्ने गरेको छ। जारी एमआरपीमध्ये २२ लाख ३३ हजार ८ सय ३४ नयाँ जारी भएका हुन् भने १५ लाख ७० हजार ४ थान एमआरपी पुरानो हस्तलिखितलाई विस्थापित गर्न जारी भएका हुन्। अघिल्लो आर्थिक वर्ष २०७१ ०७२ मा मात्र पासपोर्टवापत विभागले कुल १० अर्ब २८ करोड ६९ लाख १७ हजार ५ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको थियो।

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय