मुक्त कमैया भए ट्रयाक्टर मालिक

भीमदत्तनगर– नौ वर्ष साहुको घरमा कमैया बसेर परिवारको लालनपालनमा कष्टकर दिन गुजारेका हर्क चौधरी यतिखेर एउटा ट्याक्टरका मालिक भएका छन्। 

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्त कमैया शिविरमा आश्रय लिइरहेका हर्क चौधरी ट्र्याक्टरका मालिकमात्रै होइनन् उनी झन्डै १५ कट्ठा जमिनमा नगदे बाली गर्ने व्यावसायिक किसानका रुपमा परिचित हुन थालेका छन्। ‘सरकारले हलिया मुक्त गरेपछि पाँच कट्ठा मोहना नदीको बगरमा जग्गा दिएको थियो’ चौधरीले भने, ‘त्यो बगरमा गरिबी निवारण कोषले हामीलाई मेहनत गर्न सिकायो।’ गरिबी निवारण कोषले मुक्त कमैयाको आर्थिकस्तर उकास्न शिविरमा विभिन्न आयमूलक कार्यक्रम बेलाबखतमा सञ्चालन गर्ने गरेको उनले बताए। 

‘हामी चारजना मुक्त कमैया मिलेर तरकारी बेचेर कमाएको पैसाबाट तीन लाखमा पुरानो ट्र्याक्टर खरिद गरेका छौं’ उनले भने, ‘अरुको घरमा कमैया बस्दा कहिल्यै ट्र्याक्टरको मालिक भइएला भन्ने सोचेको थिइन। अहिले नगदे बालीका रुपमा आलु, काउलीलगायतका तरकारी लगाएको छु । १० कट्ठा ठेक्कामा लिएर पनि तरकारीखेती गर्दै आएको छु।’ उनले मुक्त कमैया शिविरका करिब ५० प्रतिशत स्थानीय गाउँमा विभिन्न समूह बनाएर तरकारी उत्पादन गर्दै आएको बताए। 

‘गाउँमा उत्पादन भएको तरकारी कैलालीकाु अत्तरिया र स्थानीय गुलरिया बजारमा खपत हुन्छ’ चौधरीले भने, ‘व्यवसायबाट दुई छोराछोरीलाई बोर्डिङ पढाउन सकेको छु।’ त्यसैगरी मुक्त कमैया शिविरका आशाराम चौधरीले पनि पाँच कट्ठा जमिनबाट ३० क्विन्टल सख्खरखण्ड उत्पादन गरी बिक्री गरेको सुनाए। ‘यो पाली सखरखण्ड राम्रै उत्पादन भयो’ आशारामले भने, ‘करिब ७५ हजारमा बिक्री भयो।’ उनले आफूले उत्पादन गरेको सख्खरखण्ड अत्तरिया बजारमा प्रतिकिलो २५ का दरले बिक्री गरेको बताए। 

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) गरिबी निवारण कोष कार्यक्रम संयोजक टेक बुढाले पनि कोषको सहयोगमा मुक्त कमैया शिविरका नागरिकहरु स्वावलम्बी बन्दै गएको बताए। ”पाँचवटा समूहमा मासिक रुपमा बचतसमेत गरेर यहाँका मुक्त कमैयाहरु आयमूलक व्यवसायमा लागेका छन्’ संयोजक बुढाले भने, ‘हामीले पनि शिविरमा १८ लाख बराबरको लगानी गरिसकेका छौं।’ गरिबी निवारण कोषले शिविरमा आयमूलक व्यवसायमा लगाउन मुक्त कमैयालाई बङ्गुर पालन, कुखुरा पालन, तरकारीखेती, माछा पालनलगायतका व्यावसायिक कामका लागि अनुदान दिँदै आएको उनले जानकारी दिए। रासस 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: