फेसबुक र भाइवरबाट ठग्दै युवती 

काठमाडौं, पुष २१- आफूलाई कहिले डाक्टर त कहिले डिआइजीकी छोरी भन्दै ५० जनाभन्दा धेरैलाई ठगिसकेकी भगवती केसी पक्राउ परेकी छिन् । गुल्मी घर भएकी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । आफूलाई डा. सुहाना केसीका रूपमा परिचय दिई चिकित्सक तथा धनाढ्यसँग नजिकिएर उनले ठगी गर्दै आएको प्रहरीले जनाएको छ । बेलुकासँगै बसेर बेहोस हुने औषधि खुवाई धनमाल लिएर भाग्ने गरेकोसमेत प्रहरीले दाबी गरेको छ । 

पहिलो ठगी धन्दा पोखरामा

दुई वर्षदेखि ठगी धन्दामा लागेकी भगवतीले ठगीका लागि सुरुमा पोखरालाई आधार बनाएको अनुसन्धानका क्रममा फेला परेको प्रहरीले जनाएको छ । पोखराको फेवा अस्पतालमा केही समय उनले चिकित्सककै रूपमा कामसमेत गरेको खुलेको छ । स्थानीय सञ्चारमाध्यमले उनको वास्तविकताबारे समाचार छापेपछि उनी पोखराबाट फरार भएकी थिइन् ।

काठमाडौंमा ठगेपछि भारततिर

पोखरामा वास्तविकता खुलेपछि फरार भएकी उनी गत वैशाखमा काठमाडौं आएकी थिइन् । काठमाडौं आएपछि उनले विभिन्न अस्पतालका चिकित्सक र धनाढ्यसँग सम्पर्क बढाएर ठगी गर्न थालेकी थिइन् । एकपछि अर्को ठगीका उजुरी परेपछि प्रहरीले छानबिन सुरु गरेसँगै उनी काठमाडौंबाट पनि भागेकी थिइन् । त्यसपछि प्रहरीले उनको फेसबुक आइडी ट्रयाक गरी भारतमा रहेको पत्ता लगाएर भारतबाटै पक्राउ गरी काठमाडौं ल्याएको हो ।

ठगीका उपाय अनेक

ठगी गर्न उनले उपाय पनि अनेक लगाउने गरेको पाइएको छ । चिकित्सक तथा धनाढ्यसँग नजिकिएर बेलुका सँगै बस्ने प्रलोभनमा पारेर बेहोस हुने औषधि खुवाई धनमाल लिएर भाग्ने गरेको प्रहरीले दाबी गरेको छ । यसैगरी केहीसँग प्रेमको नाटक गरी लामो समयसम्म नियमित रूपमा ठगी गर्ने गरेको पनि पाइएको छ । केहीका मोबाइल चोर्ने, बाइक चोर्नेसमेत गरेको पाइएको छ ।

चिकित्सक र धनाढ्य सिकार

आफूलाई डा. सुहाना केसीका रूपमा परिचय दिई चिकित्सक तथा धनाढ्यलाई आफ्नो सिकार बनाउने गरेको पाइएको छ । प्रहरीका अनुसार उनले आफूलाई चिकित्सक बताएर विभिन्न अस्पतालका चिकित्सकसँग नजिक हुने र ठगी गर्ने गरेकी थिइन् । त्यसक्रममा पोखराको फेवा अस्पताल, गण्डकी अस्पताल र मणिपाल अस्पतालका चिकित्सक उनीबाट ठगिएको अनुसन्धानका क्रममा खुलेको अपराध महाशाखाका इन्स्पेक्टर गोविन्द पन्थीले बताए । काठमाडौंमा पनि शिक्षण अस्पतालका डाक्टरसँग सम्बन्ध राखी ठगी गरेको प्रहरीमा उजुरी परेको छ ।

ठगी गर्न नाम अनेक

ठगीका लागि अनेक उपाय लगाउने गरेकी उनले आफ्नो नाम पनि अनेक बताउने गरेकी थिइन् । आफूलाई डा। सुहाना, अदिती, सृष्टि केसीजस्ता नामले चिनाउँदै आएकी केसीको स्थायी घर भने गुल्मीको हस्तिचौर हो । २३ वर्षीया केसीले प्लस टुसम्मको अध्ययन गरेको प्रहरीले जनाएको छ । अनेक नामजस्तै उनका साथबाट प्रहरीले मोबाइल फोनका ११ वटा सिमकार्ड पनि बरामद गरेको छ । प्रहरीका अनुसार विगत दुई वर्षदेखि उनी ठगीमा संलग्न थिइन् ।

डिआइजीका नाममा पनि ठगी

उनले आफूलाई चिकित्सकका रूपमा मात्र होइन, डिआइजी सनत केसीकी छोरीका नाममा समेत परिचित गराएर ठग्ने गरेकी थिइन् । प्रहरीका अनुसार त्यो क्रम काठमाडौंभन्दा बढी पोखरामा थियो । पोखराका होटेल र स्टोरमा आफूलाई डिआइजी केसीकी छोरी हुँ भन्दै धम्क्याएर सामान लिने र पैसा नतिर्ने गरेको खुलेको छ ।

पोखराको होटेल पान्डामा बसेर पैसा तिर्ने वेला आफ्ना बुबा डिआइजी भएको भन्दै एक व्यक्तिलाई डिआइजी बनाएर फोन गर्न लगाएकी थिइन् । एकछिनका लागि भनेर उनले होटेल साहुका छोराको मोटरसाइकलसमेत लिएर भागेको उजुरी प्रहरीमा परेको छ ।

फेसबुक र भाइबरको प्रयोग

ठगीका लागि सुरुमा उनले सामाजिक सञ्जाल फेसबुक र भाइबरको सहायता लिने गरेको पाइएको छ । सुरुमा फेसबुक तथा भाइबरमार्फत चिनजान गर्ने र बिस्तारै नजिकिएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । उनीबाट पीडित २०–२५ जना सम्पर्कमा आइसकेको अपराध महाशाखाका डिएसपी रमेश थापाले बताए ।

फेसबुकमा डा. सुहाना केसी भनेर अकाउन्ट छ । जसमा नायक राजेश हमालसँगका फोटोसमेत छन् । गत २६ असोजमा एक चिकित्सकसँग बिहे गर्न खोज्दा विवाद भएपछि उनी एक दिन सातदोबाटो वृत्तमा थुनामा परेकी थिइन् ।

नयाँ पत्रिकाबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय