युएई, पुष २०- द्वन्द्व सरोकार केन्द्र नेपालले आगामी जनवरी ९ तारिखमा युएईको बरदुबईमा द्वन्द्वबाट पीडित नेपालीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
१० बर्षे माओवादी आन्दोलनमा प्रत्यक्ष रुपमा संलग्न भई सरकारी र बिद्रोही दुबै पक्ष बाट प्रभाबित तथा भूकम्पमा पिडित भएका धेरै नेपाली खाडी मुलुकमा रहेको हुनाले उनिहरुको राय तथा अबस्था संकलन गर्ने र सरकार समक्ष अपील गर्ने द्वन्द्व सरोकार नेपालका केन्द्रिय सदस्य मनोज गोर्खालीले बताएका छन् । पूर्णरुपले पीडित, आँशिक रुपले पीडित र साधारण पीडितहरु के कस्तो अवस्थामा छन मुल्याङ्कन गरी त्यही अनुरुपको लाभदायक सेवा सहुलियत र सदस्यता प्राप्त गर्न सरकार समक्ष अनुरोध गर्न उक्त कार्यक्रम गर्न लागिएको गोर्खालीले बताए ।
भुकम्पबाट प्रभाबित हजारौ नेपालीलाई समयमै ब्यवस्थापन गरी यसको जोखिमलाई न्युनिकरण गर्न सकिएन भने भोलिका दिनमा यसले अर्को ठुलो द्वन्द्व निम्त्याउने हुनाले अन्तकृया कार्यक्रममा यसबारे समेत छलफल हुने बताइएको छ । कार्यक्रमको लागि द्वन्द्व सरोकार केन्द्रका अध्यक्ष रमेश कुमार श्रेष्ठ, उपाध्यक्ष गंगा बहादुर लामा, महासचिव सन्तोष पौडेल, तथा बिशेष सल्लाहकार सत्या पहाडी आउनेछन् । यसैगरी भुकम्पबिद् प्राध्यापक भीमनाथ रेग्मी समेत युएई आउनेछन् ।
गैर आबासिय नेपाली संघ, युएईको बिशेष सहयोग र समन्वयमा सम्पन्न हुन लागेको उक्त कार्यक्रममा नेपालबाट युएई आएर रोजगारी गरिरहेका द्वन्द्व पीडितहरु तथा अपाङ्गहरुसँग छलफल केन्द्रित गरिने एनआरएनए युएईका अध्यक्ष सुदीप कार्कीले बताए । कार्कीका अनुसार द्वन्द्वकालमा सरकारी पक्ष र बिद्रोही पक्षबाट मानसिक, आर्थिक र भौतिक रुपले पीडित बनेका धेरै द्वन्द्वपीडितहरु युएईमा रहेका र नेपालमा रहेका तिनका परिवारहरु पनि उनिहरुकै पैसामा आश्रित रहेकोले पनि यो छलफल तथा अन्तकृया सार्थक हुने अपेक्षा गरिएको छ ।
द्वन्द्व सरोकार केन्द्रका केन्द्रिय सदस्य गोर्खालीका अनुसार केन्द्रले युएईमा रहेका सबै राजनीतिक दलका भात्रृ संगठनहरुलाई समन्वय र सहयोगको लागि अनुरोध गरिसकेको छ । प्रवासमा रहेका द्वन्द्व पीडितहरुको आवाजलाई बुलन्द गर्दै सरकारलाई अपील गर्दै दबाब दिने उद्देश्य रहेकोले सरोकारवालाहरुलाई उपस्थितीको लागि गोर्खालीले बिशेष आग्रह गरेका छन ।