
काठमाडौं, पुष २०- पोल्ट्रीको राजधानीको रूपमा स्थापित चितवनमा अहिले उत्पादनमा ४० प्रतिशतले कमी आएको छ । वैशाख १२ को भूकम्प, तराईमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीले उत्पादनमा कमी आएको हो ।
उत्पादनमा आएको गिरावटसँगै यहाँका पोल्ट्री व्यवसायीले दैनिक २ करोड १८ लाख रुपैयाँ प्रत्यक्ष रूपमा घाटा बेहोर्दै आएको बताएका छन् । ब्रोइलर चल्ला उत्पादन लागत ४८ रुपैयाँ परे पनि घाटा खाएर २० रुपैयाँमा बिक्री गर्न बाध्य हुनुपरेको पालक बताउँछन् ।
त्यस्तै लेयर्स चल्ला उत्पादनलागत ७२ रुपैयाँ परे पनि २४/२५ रुपैयाँमा, अण्डाको उत्पादन लागत ९ रुपैयाँ परे पनि ७ रुपैयाँमा, बोइलर जिउँदो कुखुराको उत्पादन लागत १ सय ५५ रुपैयाँ परे पनि १ सय ४० रुपैयाँमा बिक्री गर्न बाध्य हुनुपरेको पोल्ट्रीविज्ञ तिलचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार ७ महिनामा पोल्ट्री क्षेत्रमा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी घाटा भइसकेको छ ।
कुखुराका लागि चाहिने दानाको कच्चा पदार्थ ८० प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गर्छ । तर नाकामा भइरहेको अवरोधका कारण कच्चा पदार्थ आउन नसक्दा कुखुरा व्यवसायी मारमा परेका छन् । कतिपय व्यवसायीले दाना अभावमा कुखुरा, चल्ला र अण्डा नष्ट गर्न बाध्य भए । देशभरिमा १ सय २० दाना उद्योग छन् । तीमध्ये २६ भन्दा बढी दाना उद्योग चितवनमै रहेको दाना संघले जनाएको छ । संघका अनुसार गत वर्ष दानामा प्रयोग हुने मकै, भटमासलगायत अन्य सामग्री गरी १३ अर्ब रुपैयाँ बराबरको कच्चा पदार्थ आयात गरिएको थियो ।
कुखुरा, अण्डा र मासु उत्पादनमा मुलुक आत्मनिर्भर छ । तर अहिले मुलुकको असहज परिस्थितिका कारण यो क्षेत्रमा लगानी गर्ने साना किसानदेखि ठूला उद्यमीसम्म मारमा परेका छन् । मुलुकमा हुने कुखुरा, अण्डा तथा मासुका कुल खपतको ५० प्रतिशतभन्दा बढी चितवनबाटै उत्पादन हुने गर्छ । चितवनमा ३० अर्बभन्दा बढीको लगानी रहेको व्यवसायीको भनाइ छ ।
तर अहिले कुखुरालाई खुवाउने दाना, दानाका लागि चाहिने कच्चा पदार्थ तथा उत्पादित वस्तु बजारसम्म पुर्याउन इन्धन अभाव हुनुले पोल्ट्रीक्षेत्र धराशयी बन्दै गएको मंगलपुरका कुखुरा कृषक रामकृष्ण अधिकारीले बताए । ‘अहिले व्यवसायी दुविधामा परेका छौं,’ उनले भने, ‘एकपल्ट लगानी डुबे धेरै क्षति बेहोर्नुपर्छ ।’ मध्यम तथा निम्नवर्गीय व्यवसायी तथा कृषकको नाकाबन्दी र बन्द हडतालले टाट पल्टेको छ ।
कान्तिपुरबाट