अघि बढ्यो साउदीसँग श्रम सम्झौता

काठमाडौं- लामो समयदेखि श्रम सम्झौता नगरी कामदार जाने गरेको साउदीमा बल्ल नेपाल सरकारले श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ। श्रम सम्झौता नगरी कामदार वैदेशिक रोजगारीमा जाँदा आर्थिक, शारीरिक र मानसिक शोषणमा पर्ने घटना वृद्धि भएपछि श्रम सम्झौता गर्नुपर्ने दबाब खेपिरहेको साउदी सरकारले सहमति जनाउँदै यही पुस २७ र २८ गते नेपाली टोलीलाई साउदी बोलाएको छ।

श्रम सम्झौतालाई टुंगोमा पुर्याेउन साउदी सरकारले मिति तय गरेर नेपाली टोली बोलाएपछि श्रम तथा रोजगार र परराष्ट्र मन्त्रालयका सहसचिव सम्मिलत प्राविधिक टोली रियाद जाने तयारीमा जुटेको छ। साउदीमा हुने दुवै देशका प्राविधिक टोलीले छलफल गरेपछि श्रम सम्झौताको अन्तिम मिति तय हुने कार्यक्रम छ। श्रम तथा रोजगार मन्त्रालयका एक अधिकारीका अनुसार दुवै देशले श्रम सम्झौता तयारी अवस्थामा राखे पनि कूटनीतिक मान्यता अनुरुप प्राविधिक टोलीबीच छलफलको कार्यक्रम राखिएको हो। प्राविधिक टोलीको मुख्य काम श्रम सम्झौतालाई अन्तिम रुप दिनुका साथै प्रधानमन्त्री/मन्त्री या अन्य उच्चस्तरीय टोलीबीच हस्ताक्षर गराउने मिति तय गर्नु हो।
नेपालले लामो समयदेखि श्रम सम्झौता गर्नुपर्ने माग गर्दै आए पनि कहिले साउदीले अटेर गर्दा त कहिले नेपाली पक्षको ढिलासुस्तीका कारण श्रम सम्झौता हुन सकेको थिएन। जसका कारण साउदीमा नेपाली कामदारले तोकेअनुसार काम नपाउनुका साथै पारिश्रमिक प्राप्तिमा समस्या हुँदै आइरहेको थियो।
पछिल्लो समय साउदी सरकारले घरेलु कामदार पठाउन नेपाललाई निरन्तर दबाब दिइरहेपछि नेपाल सरकारले घरेलु काममा पठाउने महिला र अन्य कामदारका लागि श्रम सम्झौता गर्नुपर्ने अडान लिँदै आएको थियो। गत जेठमा घरेलु कामदारका रूपमा महिला पठाउन नेपालले सहमति जनाए पनि श्रम सम्झौता हुन नसक्दा महिला कामदार साउदी जान सकेका छैनन्। ‘हामीले घरेलु कामदारको मात्र नभई अन्य कामका लागि पनि श्रम सम्झौता गर्नुपर्ने माग राखेका थियौं,’ श्रम तथा रोजगार मन्त्रालयका एक अधिकारीले भने, ‘नेपालले अडान नछाडेपछि साउदी अन्ततः सबै कामदारको हकमा श्रम सम्झौता गर्न राजी भएको हो।’
विगतका वर्ष नेपालले श्रम सम्झौता गर्ने प्रयास गर्दा विभिन्न आलटाल गर्ने गरेको साउदीले यसपटक मिति तय गरेरै प्राविधिक टोलीलाई बोलाएपछि साउदीसँगको श्रम सम्झौता हुनेमा धेरैजसो सरकारी अधिकारी आशावादी छन्। श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले साउदीले प्राविधिक टोलीलाई बोलाएलगत्तै साउदी जान आवश्यक खर्च निकासाका लागि अर्थ मन्त्रालयसँग भनिएको बताए। ‘अर्थले निकासा दिए साउदी सरकारले बोलाएकै मितिमा नेपाली टोली त्यसतर्फ जाने योजनामा छौं,’ भूर्तेलले भने ।
अघिल्लो वर्षसम्म नेपालले श्रम स्वीकृति दिएर कामदार जाने देशमा साउदी तेस्रो नम्बरमा थियो भने यो वर्ष दोस्रो नम्बरमा पुगेको छ। चालु आर्थिक वर्षको पाँच महिनामा कतारपछि सर्वाधिक कामदार जाने देश साउदी हो। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा कामका लागि साउदी जाने कामदार संख्या ५३ हजार सात सय ५९ छ। सोही अवधिमा कतारमा ५४ हजार एक सय २७ कामदार गएका छन्। मेनपावर व्यवसायीका अनुसार एकातिर मलेसियाको गिर्दो अर्थतन्त्र र अर्कातर्फ नेपाल सरकारले फ्रि भिसा फ्रि टिकट सुरु गरेपछि मलेसियाको साटो साउदी, कतार जाने कामदार संख्या बढ्दो छ। अघिल्लो वर्षसम्म सर्वाधिक कामदारको छनोटमा पर्ने गरेको मलेसियामा चालु आर्थिक वर्षको पाँच महिनामा ३१ हजार दुई सय एक जना गएको विभागले जनाएको छ।
श्रम तथा रोजगार मन्त्रालयका अधिकारीका अनुसार दुई वर्षदेखिको निरन्तर प्रयासले साउदी सरकार श्रम सम्झौता गर्न राजी भएको हो। नेपालले हुन गइरहेको श्रम सम्झौतामा साउदीमा बस्दा अन्य देशका नागरिकले जे सुविधा पाउँछन्, सोही सुविधा नेपाली नागरिकले पनि पाउनुपर्ने कुरालाई मुख्य रूपमा जोड दिएको श्रम तथा रोजगार मन्त्रालयका एक अधिकारीले जनाए। महिलाका हकमा पनि सोही पक्षलाई जोड दिइएको छ।
घरेलु कामदारका रूपमा साउदी पुगेका महिलामाथि शारीरिक तथा मानसिक शोषणका घटना बढेपछि नेपाल सरकारले महिलालाई साउदी जान रोके पनि भारतको बाटो हुँदै महिला कामदार जाने क्रम नरोकिएको सरकारी अधिकारी बताउँछन्। ‘एकातिर नेपाली महिलाहरू चोरीको बाटो हुँदै साउदी पस्ने क्रम नरोकिएको र अर्कातर्फ साउदी सरकारले निरन्तर महिला कामदार पठाउन आग्रह गरिरहेकाले नेपाल सरकारले गत जेठमा महिला कामदार पठाउन सहमति जनाएको हो,’ ती अधिकारीले भने।
नेपाली महिलाबाट साउदीमा जन्मने बालबालिका र कामदार मृत्युबारे भने श्रम सम्झौतामा केही उल्लेख गरिएको छैन। कामदारको मृत्यु भएको खण्डमा साउदीबाट शव ल्याउन धेरै समय लाग्ने भएकाले त्यसलाई छिटाछरितो बनाउनुपर्ने धेरैको माग रहँदै आएको थियो। ‘साउदीबाट शव ल्याउने प्रक्रिया उनीहरूकै मुस्लिम कानुनअनुसार हुने भएकाले श्रम सम्झौतामा खासै उल्लेख छैन,’ श्रम सम्झौताको मस्यौदा तयारीमा जुटेका अधिकारीले भने, ‘त्यस्तै कामका क्रममा कोही महिला गर्भवती भएको खण्डमा पनि के हुने भन्ने उल्लेख छैन।’ साउदीमा नेपाली महिला जानुको मुख्य कारण काम गर्नु भएकाले त्यहाँ पुगेका महिलाले बच्चा जन्माउँछन् भनेर कल्पना नगरिएको उनले बताए। काममा स्वतन्त्रता र उचित पारिश्रमिकलाई श्रम सम्झौताले जोड दिएको बताइएको छ। श्रम तथा रोजगार मन्त्रालयका अनुसार साउदीपछि मलेसिया, लेबनन र जोर्डनमा पनि श्रम सम्झौताको तयारी भइरहेको छ।
हाल नेपालले श्रम स्वीकृति लिएर विश्वका एक सय १० देशमा कामदार पठाउने गरे पनि कतार, बहराइन, युएई, जापान, कोरिया र इजरायलसँग मात्र श्रम सम्झौता गरेको छ। दैनिक सरदर १६ सयका दरले युवायुवती वैदेशिक रोजगारीमा जाने गरे पनि निकै कम देशसँग मात्र श्रम सम्झौता हुनुले कामदारलाई मार परिरहेको धेरैको गुनासो रहँदै आएको छ। नेपाल सरकारले गम्भीरतापूर्वक चासो नदिएका कारण श्रम सम्झौता हुन नसकेको आरोप लाग्दै आएको छ। वैदेशिक रोजगार विभागका अनुसार २०६५ सालयता श्रम स्वीकृति लिएर ४१ लाख युवायुवती वैदेशिक रोजगारीमा गएका छन्। 

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय