काठमाडौं: सरकारले वैदेशिक रोजगारीका लागि कालो सूचीमा राखेको ५७ कम्पनीमध्ये ५२ वटा कम्पनी मलेसियाका परेका छन्। कालो सूचीमा परेकामध्ये प्रायः सबै कम्पनी मलेसियाको पर्नुले त्यहाँ कामदारको शोषण बढी रहेको पुष्टि हुन्छ। नेपालबाट लगेका कामदार अलपत्र पार्ने, तलबसुविधा नदिने र सम्झौताभन्दा अर्कै कम्पनी र काममा पठाउने कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो।
मलेसियाका अधिकांश कम्पनीले दलालमार्फत विदेशी कामदार लिने भएकाले त्यहाँ गएका अधिकांश नेपाली कामदार मारमा परेका हुन् । मलेसियास्थित् नेपाली दूतावासको सिफारिसमा वैदेशिक रोजगार विभागले त्यहाँका कम्पनीलाई कालो सूचीमा राखेको हो। कालो सूचीमा राखेका कम्पनीमा कामदार पठाउन पाईंदैन।
नेपालले वैदेशिक रोजगारीका लागि विश्वका एक सय नौवटा मुलुक खुला गरेको छ। यी मध्ये नेपाली कामदारको प्रमुख गन्तव्य खाडी मुलुक र मलेसिया हो। खाडी मुलुकमा मात्रै २० लाख हाराहारीमा नेपाली कामदार गएका भए पनि यी खाडी मुलुकका रोजगारदाता कम्पनी कालो सूचीमा पर्नेक्रम अत्यन्त न्यून देखिएको छ।
वैदेशिक रोजगार विभागका अनुसार कालो सूचीमा परेका ५७ वटा कम्पनीमध्ये कतारका दुई, साउदी अरबियाका दुई र संयुक्त अरब इमिरेट्सको एउटा कम्पनी छ। बाँकी सबै मलेसियाका कम्पनी हुन्।
मलेसियामा विदेशी कामदार लिने एजेन्सीमा राजनीतिज्ञ र उच्चतहका कर्मचारी र ठूला व्यापारिक घरनाको समेत सहभागिता हुने गरेको छ । शक्तिशाली नेता, मन्त्री तथा कर्मचारीका आफन्तका नाममा एजेन्सी खोलेर बहुराष्ट्रिय कम्पनीमा विदेशी कामदार आपूर्ति हुने गरेको छ।
पहुँचवाला व्यक्तिको कम्पनीले बद्मासी गर्ने भएकाले सरकारले कारबाहीसमेत नगर्ने म्यानपावर व्यवसायी बताउँछन्। यसबाहेक केही साना कम्पनीले विदेशी कामदार आपूर्तिका लागि दलालीको काम गर्छन्। केही कामदार आफ्ना कम्पनीमा राख्ने र बाँकी कामदार अन्य कम्पनीलाई कमिसन लिएर दिने गरेकाले समस्या बढेको हो।
नेपालबाट लगेका कामदार अलपत्र पार्ने, तलबसुविधा नदिने तथा सम्झौताभन्दा अर्कै कम्पनी र काममा पठाउने कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो।
मलेसियामा संस्थागत भ्रष्टाचारसमेत हुने गरेका खबर सार्वजनिक हुने गरेका छन्।वैदेशिक रोजगारका ज्ञाता डा.गणेश गुरूङ मलेसियामा खुलेका अधिकांश बहुराष्ट्रिय कम्पनीका लागि नेपाल, पाकिस्तान र बंगलादेशबाट कामदार आपूर्ति हुने गरेको र यी मुलुकका कामदार दलालमार्फत मात्रै बहुराष्ट्रिय कम्पनीमा पुग्ने गरेका बताउँछन्।
‘मिडलम्यानका कारण मलेसियामा गएका कामदार चर्को मारमा परेका हुन्,’ उनले भने, ‘दलाली काम गर्ने कम्पनी पनि निकै पहुँचवालाको हुने भएकाले ती कम्पनीमाथि कारबाहीसमेत हुँदैन।’ चीन, अमेरिका तथा युरोपका अधिकांश ठूला कम्पनी मलेसियामा खुलेका छन्। उद्योग खोल्न सजिलो, सस्ता कामदार तथा आयातनिर्यात व्यापार गर्नसमेत सजिलो भएकाले बहुराष्ट्रिय कम्पनीले मलेसियालाई रोजेका हुन्।
म्यानपावर व्यवसायी भने मलेसियाका कम्पनी कालो सूचीमा पर्नुमा कम्पनी, जाने कामदार र नेपालबाट कामदार पठाउने म्यानपावर कम्पनी तीनवटै पक्षको कमजोरी रहेको दाबी गर्छन् । मलेसियाका कतिपय कम्पनीले कामदारलाई सम्झौताअनुसार तलब नदिने तथा अतिरिक्त समय (ओभर टाइम) कामको पैसा दिँदैनन्।
दलालले कम्पनीसँग कमिसन खाएर कामदारलाई मारमा पार्ने प्रवृत्ति रहेको व्यवसायी स्वीकार गर्छन्। नेपालका कतिपय म्यानपावर कम्पनीले कामदार पठाउने कम्पनीको वास्तविक अवस्था अध्ययन नगर्दा पनि समस्या चुलिएको हो।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वमहासचिव कमल तामाङ मलेसियामा ठूला कम्पनीले दलालमार्फत कामदार लिँदा बढी समस्या भएको बताउँछन्। ‘दलालले कामदार लिने र कमिसन खाने, कतिपय कम्पनीले बद्मासी गरेर कामदारलाई तोकिएको तलब तथा ओभर टाइम नदिने गर्दा मलेसियामा चर्को समस्या उत्पन्न भएको हो,’ उनले भने।
अन्य मुलुकका तुलनामा मलेसियामा कामदारको संख्या धेरै भएकाले पनि समस्या बढी देखिएको उनको भनाइ छ। हाल मलेसियामा आठ लाख नेपाली कामदार छन्। ट्राभल डकुमेन्ट बनाएर नेपाल आउनका लागि कामदारले दूतावासमा गलत रिपोर्ट गर्दा समस्या बढी देखिएको कतिपय म्यानपावर कम्पनीको दाबी छ।
सबैभन्दा बढी रेमिट्यान्स भित्रिने मलेसियामा पछिल्लो समय थुप्रै समस्या देखिन थालेका छन्। कामदारमाथि असुरक्षा बढ्दो छ। आर्थिक मन्दीले ठूला कम्पनीले कामदार कटौती गरेका छन् । रिंगेटको भाउ घट्दा गएका कामदारले नेपाल पठाउने पैसा घटेको छ।
मलेसिया र खाडी मुलुकमा कामदार पठाउँदा अनियमितता चुलिएपछि सरकारले गत असारदेखि निःशुल्क टिकट र भिसामा मात्र कामदार पठाउन पाइने नियम बनाएको छ। कुल गार्हस्थ्य उत्पादनमा रेमिटेन्सको हिस्सा २५ प्रतिशत छ। मलेसियाबाट मात्रै कुल भित्रिने रेमिटेन्सको ४० प्रतिशत आउँछ । दैनिक औसतमा एक अर्ब ४८ करोड रेमिटेन्स भित्रिन्छ।
अन्नपूर्ण पोष्टबाट
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1