
काठमाडौं, पुष १५
युएईमा नयाँ बर्ष २०१६ सुरु भएपश्चात श्रम क्षेत्रमा केहि कुरामा अनिवार्य रुपमा फेरवदल हुने त्यहाँको सरकारले यसअघि नै घोषणा गरिसकेको छ । त्यसमध्ये पहिलो महत्वपूर्ण परिवर्तनका रुपमा रोजगारदाता फेर्न पाइने व्यवस्था हो । जस अनुसार रोजगारदाता तथा कामदारको आपसी सहमति भएमा तत्काल रोजगारदाता फेर्न पाइनेछ । यसका लागि कुनै निशिचत समयको प्रतिवन्ध लागु हुनेछैन ।
स्थानीय अरविक दैनिक पत्रिका अल बयानले समाचार अनुसार रोजगारदाता र कामदारबीच वर्क परमिट र रोजगारी सम्झौता आपसी सहमतिमा तोडिएमा यसअघि लाग्दै आएको ६ महिने प्रतिवन्धको व्यवस्थालाई हटाइएको युएईको श्रम मन्त्रालयले प्रष्ट पारेको छ ।
मन्त्रालयका अनुसार त्यसरी रोजगार अनुमति खारेज भएमा कामदारले तत्काल अर्को रोजगारी सुरु गर्न पाउनेछन् । दुई बर्ष पुरा नगरेका कामदारले समेत यो सुविधा उपभोग गर्न सक्ने समाचारमा जनाइएको छ । तर मन्त्रालयका अनुसार चौथो र पाँचौं तहका कामदारले भनें पहिलो ६ महिना पुरा नगरी यो सुविधा उपभोग गर्न पाउने छैनन् ।
यो नयाँ व्यवस्था गत सेप्टेम्वरमा घोषणा गरिएको सुधार कार्यक्रम अन्तर्गतको नै भएको युएईका श्रम मन्त्री सकर गोवासले बताएका छन् । नयाँ व्यवस्था जनवरी देखि लागु हुने उनले प्रष्ट पारेका छन् । अहिले गर्न खोजिएको नयाँ व्यवस्था कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण तयार मन्त्रालयले गरिसकेको गोवासले बताएका छन् ।
श्रम मन्त्रालयका सहायक उपसचिव हमिद रसिद दिमास अल सुवाइदीले नयाँ व्यवस्था अनुसार रोजगारादातासँगको सहमतिमा रोजगार अनुमति सम्झौता रद्ध गरेका कामदारले तत्काल अर्को कम्पनीमा काम गर्न सक्ने बताएका छन् । त्यसका लागि युएईमा दुई बर्ष काम गरिसकेको हुनु नपर्ने उनको भनाई छ ।
यसैगरी दोश्रो महत्वपूर्ण व्यवस्था कामदारलाई उनीहरुको आफ्नै भाषामा श्रम सम्झौता दिनु हो । यसैगरी सन् २०१६ देखि कुनैपनि देशबाट कामदार मगाउँदा सोही देशको भाषामा मागपत्र पठाउनुपर्ने व्यवस्था पनि युएईको सरकारले गरेको छ ।
युएईका श्रम मन्त्री सकर गोवासले नयाँ बर्षको सुरुवातसँगै श्रम क्षेत्रमा तीनवटा नयाँ व्यवस्था लागु हुने यसअघि नै बताइसकेका छन् । उनले कामदारले पाउने तलव, सुविधाका बारेमा प्रष्ट रुपमा लेखिएको करारपत्र कामदारलाई उपलव्ध गराउनु पर्ने र त्यसो नगरिएका करारलाई सरकारी मान्यता नदिइने प्रष्ट पारेका छन् । यो व्यवस्था कार्यान्वयनमा आएपश्चात युएईमा कार्यरत नेपाली कामदारले नेपाली भाषामा नै श्रम सम्झौता पाउनेछन् ।
यसैगरी कामदार मगाउँदा नै कामदारले पाउने सेवा सुविधाका बारेमा प्रष्ट रुपमा सोही देशको भाषामा लेखेर पठाउनुपर्ने समेत मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार सो पत्रमा कामदार तथा रोजगारदाताको अधिकार तथा दायित्वका बारेमा खुलाएर लेखेको हुनुपर्नेछ । यसले कामदारले युएई आउनु अगाडी नै आफ्नै भाषामा सवैकुरा बुझेर आउनसक्ने मन्त्रालयको भनाई छ ।
स्थानीय एक अधिकारीलाई उधृत गर्दै ईमिरेट्स लेख्छः यसले विभिन्न देशहरुबाट आउने कामदारले आफ्नै देशमा हुँदा नै आफुले गर्नुपर्ने काम र त्यसवापत पाउने सेवा, सुविधाका बारेमा जानकारी पाउनेछन् । यसैगरी मन्त्रालयले दुवैपक्षको हस्ताक्षर गरिएको श्रम सम्झौता बुझाएपछि मात्र कामदारलाई काममा लगाउन पाइने प्रष्ट्याएको छ । यसरी गरिएको श्रम सम्झौता मन्त्रालयको अनुमति लिएर मात्र रद्ध गर्न पाइनेछ ।