
लन्डन- गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले संघलाई समय सापेक्ष बनाउनु पर्ने बताएका छन्। गैरआवासीय नेपाली संघ यूकेले हिजो सोमबार अल्डरशटमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले संघमा सुधारको आवश्यकता औंल्याएका हुन् ।
संस्था बिगत १२ बर्षदेखि एउटै मोडलमा चलिरहेकाले अब यसमा सुधार जरुरी भइसक्यो, अध्यक्ष घलेले भने, ‘कुनै पनि सामाजिक संस्था होस् वा व्यवसायिक कम्पनी धेरै लामो समयसम्म एउटै मोडलमा चल्न सक्दैन । संघलाई समयसापेक्ष सुधार गरिएन भने कमजोर हुन्छ ।’
उनले अगामी २० बर्षपछिको नयाँ पुस्ता कस्तो होला तिनीहरुले के सोच्ला भन्ने परिकल्पना दीर्घकालीन कार्ययोजना ल्याउनुपर्ने तर्क अघि सारे । अध्यक्ष घलेले गैरआवासीय नेपाली संघले काठमाडौंमा निर्माण गर्न लागेको एनआरएन भवन गैरआवासीय नेपालीको हितमा प्रयोग गरिने बताए ।
विदेशमा बस्ने नेपालीको मुद्दामा गैरआवासीय नेपाली संघ सक्रिय रुपमा लागेको अध्यक्ष घलेले बताए । उनले दोहोरो नागरिकता, पूर्वगोर्खा लगायतका क्षेत्रमा उल्लेख्य काम भएको जानकारी दिए ।
गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै एनआरएन संरक्षक दिल गुरुङले एनआरएनको बनिरहेको पर्खालाई एक इटा थपेर अग्लो बनाउनु पर्ने भन्दैं बनिसकेको पर्खाल भत्काउन उचित नहुने तर्क गरे ।
गैरआवासीय नेपाली संघका सल्लाहाकार हेमराज शर्माले काठमाडौंमा बन्दै गरेको एनआरएन भवन भौतिक रुप मात्र नभएर सबै विदेशका बस्ने नेपालीको भावना बोकेको हुने विश्वास ब्यक्त गरे ।
बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएन सल्लाहाकार विश्वआर्दश पण्डितले एनआरएनले काठमाडौंमा बनाउन लागेको भवन एउटा ऐतिहासिक धरोहर भएको बताए । उनले एनआरएन अध्यक्ष घलेले लन्डनमा कुनै शक्ति प्रदर्शन गर्न जरुरी नभएको भन्दै एनआरएन विश्व सम्मेलनमा अध्यक्ष घलेले प्राप्त गरेको ८१ प्रतिशत मत नै शक्ति प्रर्दशनका लागि पर्याप्त भएको बताए ।
गैरआवासीय नेपाली सँघको सकृयतामा काठमाण्डौंमा निर्माणाधिन एनआरएन भवनको लागि सहयोग संकलन आयोजित सो कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका सचिब अर्जुन श्रेष्ठले ४० लाख नेपालीको नेतृत्व गर्ने संस्थाले विगत केही बर्षदेखि घर बनाउने सपना देखे पनि अहिलेसम्म पूरा नभएको बताए । अब सपना साकार हुने अवस्थामा पुगेको उनको तर्क थियो ।
एनआरएन यूरोप संयोजक कुल आचार्यले गैरआवासीय नेपाली संघको अभियान केही लिन भन्दा दिन आउने संस्था भएको नेपालीका लागि नेपाली भन्ने भावनाका साथ सहयोग गर्न आग्रह गरे । उनले एनआरएनभित्र पछिल्लो समयमा देखिएको विवादबारे अध्यक्ष घलेको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा अमेरिका संयोजक सोनाम लामाले एनआरएन भवन निर्माणका लागि विश्वव्यापी रुपमा सहयोग संकलन भएको बताए । एनआरएन यूरोप उपसंयोजक प्रेम गुरुङले ५१ औं बैठकले गरेको निर्णयबारे चिन्ता व्यक्त गरे ।
एनआरएन आइसीसी सदस्य कृष्ण तिमल्सिनाले एनआरएन भवन एक महत्वपूर्ण तथा महत्वकांक्षी परियोजना भएकाले सबै पक्षलाई सहयोगका लागि आग्रह गरे ।
कार्यक्रममा एनआरएन यूरोप पूर्वउपसंयोजक सोम सापकोटाले एनआरएनले आफ्नो पहिचान बोकेको भवन काठमाडौंमा निर्माण गर्न लागेको बताए । गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष महेन्द्र कंडेले बिगत १२ बर्षदेखि गैरआवासीय नेपालीले परिकल्पना गरेको एनआरएन भवनले मूर्त रुप लिन लागेकोमा खुशी ब्यक्त गरे । एनआरएन यूकेका पूर्व अध्यक्ष योगेनबहादुर क्षेत्रीले एनआरएन भवन बनेपछि विदेशमा बस्ने नेपालीका लागि काम गर्ने एक दूतावासको हैसियतमा काम गर्न सकिने तर्क गरे ।
एनआरएन यूकेका संरक्षक सूर्य गुरुङले एनआरएन अभियनाका लागि एनआरएन भवन एक महत्वपूर्ण कोसेढुंगा भएको बताए । उनले होस्टेमा हैंसे गरेर सहयोग गर्न सबैलाई अपिल गरे । अर्का संरक्षक डमर घलेले प्रवासमा रहेका नेपालीको हकहितका लागि बन्न लागेको भवन निर्माणका लागि आत्मबलसहित सहयोग गर्न आग्रह गरे ।
कार्यक्रमका एनआरएन यूकेकी शान्ति थापाले स्वागत मन्तब्य दिएकी थिइन भने कार्यक्रम संयोजक योग फगामीले धन्यवाद मन्तब्य दिए ।
कार्यक्रममा सुजन गुरुङलगायतले बोलेका थिए भने स्नेहा श्रेष्ठको एनआरएन गीतबाट सुरु भएको कार्यक्रममा एनआरएन आइसीसी सदस्य जमुना घलेसमेतको उपस्थिति थियो । कार्यक्रममा पूर्व मिस नेपाल यूके गौमाया गुरुङले एनआरएन भवनको आवश्यकता, महत्व र स्थायित्वका बारेमा बोलेकी थिइन् । छमिमाया पुनको संयोजनमा विभिन्न सांस्कृतिक कार्यक्रम देखाइएको थियो । एनआरएन यूकेका प्रबक्ता खुशी लिम्बुका अनुसार एनआरएन भवनका लागि अघिल्लो कार्यसमितिले संकलन गरेको सहयोग सहित १ करोड भन्दा बढी रकम संकलन भएको छ ।
नागरिकबाट