मलेसिया- रोजगारीका लागि मलेसिया आएकी चितवनकी कमला बराल सोचेअनुसारको कमाइ नहुँदा निराश बनेकी छन् । मलेसिया छिर्दासम्म उनलाई राम्रै कमाइ गरेर नेपाल फर्किन्छु भन्नेमा पूर्ण विश्वास थियो । नेपालबाट पठाउने म्यानपावर कम्पनीले निकै राम्रो कमाइ हुन्छ भन्ने आश्वासन पनि दिएको थियो । तर यहाँ आएर काम गर्न थालेपछि थाहा भयो– मलेसियामा कमाएको पैसाले त ऋण तिर्नमात्र पुग्ने रहेछ ।
कमला रोजगारीको खोजीमा मलेसिया आएको एक वर्ष भइसकेको छ । मासिक नौ सय रिंगेट कमाउन पनि मुस्किल परेको उनले बताइन् । ‘ओभरटाइम पाएका बेलामा भने १२ सय रिंगेटसम्म हुन्छ’, उनले भनिन् । नेपालमा म्यानपावर कम्पनी र एजेन्टलाई उनले एक लाख रुपैयाँभन्दा बढी पैसा तिरेकी थिइन् ।
नेपालमा गरिएको सम्झौताअनुसार कम्पनीले तलब, सुविधा र बिदा केही पनि नदिएको उनले बताइन् । ‘बिरामी भएर एक दिनमात्र बिदामा बस्दासमेत कम्पनीले तलब नै रोकिदिन्छ’, उनले भनिन् ।
सीसीटी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्ने उनलाई एक दिन बिदामा बस्दा कम्पनीले एक महिनाकै तलब रोकिदिएको छ । बानेश्वरस्थित बीएम ओभरसिजबाट मलेसिया आएकी उनले आफूजस्तै सीसीटी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्ने अन्यले पनि सम्झौताअनुसार तलबसुविधा नपाएको बताइन् ।
कम्पनीमा काम गर्दा नेपालमा गरिएको सम्झौताअनुसारको सुविधा नपाएको कमलाको गुनासो छ । ‘महिनामा तीसै दिन काम गर्नुपर्छ । बिरामी बिदासम्म पाइँदैन, अन्य बिदाको कुरै नगरौं’, उनले भनिन्, ‘तर पनि भनेजस्तो तलब सुविधा छैन ।’
सामान्यतया आठ घन्टा काम गरेबापत २६ दिनको ९ सय रिंगेट पाउनुपर्ने यहाँको सरकारी नियम भए पनि कमलाले काम गरिरहेको सेले¨रङ राज्यको यस कम्पनीले विदेशी कामदारलाई त्यो सुविधा दिएको छैन ।
महिलामात्र काम गर्ने यस कम्पनीमा नेपालीबाहेक म्यानमार र इन्डोनेसियाका कामदार पनि छन् । सन् २०१३ मा यहाँको सरकारले सबै श्रमिकलाई न्यूनतम तलब ९ सय रिंगेट घोषणा गरी सन् २०१४ बाट सबै कम्पनीले यो नियम अनिवार्य लागू गर्नुपर्ने निर्देशन दिएको थियो । सरकारले यो नियम लागू गरे पनि कतिपय कम्पनीले न्यूनतम तलब दिन आनाकानी गरिरहेका छन् ।
महोत्तरीका सोमफी महतोलाई नेपालका म्यानपावरले सेले¨रङको मुवा मोडेक्सभी प्लास्टिक कम्पनीमा काम गर्न आउँदा १२ सय ४८ रिंगेट कमाइ हुने आश्वासन दिएका थिए । दुई वर्षअघि उनीसहित ६ जना नेपाली कामदार एक लाख ४० हजार तिरेर उक्त कम्पनीमा आएका थिए । कम्पनीले ९ सय न्यूनतम तलब दिए पनि लेबी, होस्टेल र पानीको शुल्क भन्दै २ सय ६० रिंगेट काट्ने गर्छ । ‘महिनाभर काम गर्दासमेत ७ सय रिंगेटभन्दा बढी कमाइ हुन सक्दैन’, उनले भने, ‘घर फर्किऊँ भने तीन हजारभन्दा बढी रकम कम्पनीले माग्छ । त्यत्रो पैसा कहाँबाट जुटाउनू रु ’
उक्त कम्पनीमा काम गर्ने नेपाली कामदारको उपचारका नाममा पैसा काट्ने गरिए पनि बिरामी हुँदा लाग्ने रकम भने कामदारले नै तिर्नुपर्छ । ‘सामान्य बिरामी हुँदा बिमार लुकाउनुको विकल्प छैन’, उनले भने ।
यस्तै अर्घाखाँचीका राधेश्याम भुसाललाई नेपालको म्यानपावरले कम्पनीको काम भन्दै मलेसिया पठायो । हाल उनी कन्ट्र््याक कम्पनीअन्तर्गत काम गर्छन् । नेपालमा भएको श्रमसम्झौताअनुसार सेवासुविधा नपाएको उनले बताए । नेपालबाट डाइरेक्ट कम्पनी भनेर म्यानपावरले पठाए पनि त्यसअनुसार सेवा सुविधा नपाएको उनको गुनासो छ । भनेजस्तो तलब सुविधा नहुँदा सोचेजस्तो कमाइ नभएकोमा उनी पनि निराश छन् ।
नेपालबाट श्रमिक मलेसिया पठाउँदा सीधै कम्पनीको भिसामा मात्र पठाए श्रम समस्या कम हुने नेपाली दूतावास मलेसियाका श्रमसहचारी बुद्धिनाथ भट्टराईले बताए । मलेसियाका कम्पनीले नेपालमा गरिएको सम्झौताअनुसार तलब दिँदैनन् । रिंगेटको भाउ घट्दा कामदार अझ बढी मारमा परेका छन् ।
दुई वर्षअघि एक रिंगेटबराबर ३३ नेपाली रुपैयाँ सटही दर हुने गरेकोमा अहिले २४ रुपैयाँमा झरिसकेको छ । मलेसियाको अर्थतन्त्र संकुचन हुँदा रिंगेट अवमूल्यन भएको हो । मलेसियामा कामदारको असुरक्षा पनि बढ्दो छ । निःशुल्क टिकट र भिसाको प्रावधान भए पनि कतिपय म्यानपावरले कामदारसँग मोटो रकम असुलिरहेका छन् । हाल मलेसियामा आठ लाख नेपालीले काम गरिरहेका छन् । नेपालमा भित्रिने कुल रेमिट्यान्समा मलेसियाको हिस्सा करिब ४० प्रतिशत छ ।
अन्नपर्ण पोष्टबाट