समुन्द्रमा काम गर्दै नेपाली 

दक्षिण कोरिया- समुद्रै समुद्रले घेरिएको दक्षिण कोरिया । निलो सागरहरुको बिचमा टुसुक्क उठेका ससाना हरिया टाँपूहरु प्रसस्तै देख्न सकिन्छ । यिनै टाँपू मध्ये कोरियाको दक्षिणी भेगमा रहेको घ्यङसाङनाम्दोस्थित थोङयोङ शहरको नजिक पर्ने एउटा सुन्दर टाँपू हो योकजीदो । शहरबाट ३२ किलोमिटर टाढा पर्ने यो टाँपू १४।५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । शान्त वातावरण,हेर्दै आनन्द लाग्ने यो टाँपूमा एक घण्टाको पानीजहाज चढेर घुम्न अनि माछा मार्न जानेहरु प्रसस्तै भेटिन्छन् । तर अहिले जाडोको याम, समुद्रमा सयर गर्ने भन्दा कपासको टुक्रा झैं फुस्फुसाइरहेको हिँउमा रम्नेहरु धेरै देखिन्छन् ।

यद्यपि,कहिल्यै समुद्र नदेखेका नत हिउँमा नै हुर्केका केही नेपाली युवाहरु विगत लामो समयदेखि यहि टाँपूलाई आफ्नो कर्मक्षेत्र बनाइरहेका छन् । स्याङजा घर भएका कुमार थापा सन् २००९ मा बैदेसिक रोजगार प्रणाली ९इपिएस० मार्फत् कोरिया आए । राम्रो कमाइ हुने मुलुक, अधिकांश युवा झैं उनी पनि मिठामिठा तन्नेरी सपना साँचेर आएका थिए कोरिया । तर सोचेजस्तो त्यति सजिलो छैन कोरिया उनको शब्दमा भन्नुपर्दा ।

मत्स्यपालन भन्नासाथ नेपालमा जस्तो खोलामा या पोखरीमा होला भन्ने सोचेका थिए तर यहाँ त एकैचोटी पुगे ठुलो समुद्रको बिचमा । समुद्र नभएको मुलुकबाट आउदा केही दिन त समुद्रको दृश्यले उनलाई लठ्ठै बनायो । तर, समुद्रमा माछापालन काम भने सजिलो थिएन । त्यहिमाथि भाषाको समस्या, खानपिन अनि समुद्रको हावापानी नमिल्दा छ महिनासम्म धेरै सास्ती भोगे । त्यो बेला कोरिया सपना निल्नु न ओकल्नु जस्तै भयो उनको लागि । तर, अलिकति पनि बिचलित नभई आफ्नो काममा एकोहोरो लागिरहे मनलाई दह्रो बनाएर । अनि, नेपालमा छाडेका घरपरिवार र आफ्नो भविष्य सम्झेर ।

‘सुरुमा साहुले सिधै समुद्रमा लगेर छाडिदियो । जता हेरे पनि समुद्रै समुद्र । लाग्थ्यो, समुद्र बाहेक अर्को संसार नै छैन यहाँ । कन्टेनरको बास, कति दुख भोगियो नि के गर्नु जस्तो काम पनि गर्नैपर्ने रहेछ’, थापा कोरियामा सुरुका दिन सम्झन्छन् । सुरुमा समुद्रको छालभित्र निसासिएका उनले गर्मीमा समुद्रको तातो हावा अनि जाडोमा असाध्यै चिसो सिरेटोसँग पैठेजोरी खेल्दै आफुलाई बानी पार्दै लगे ।

चारवर्ष १० महिना एकै ठाउँमा काम गरेर नेपाल गएका थापा फेरी कोरिया आएर एकवर्षदेखि यहि काममा लागेका छन् । ‘अब त हाम्रो संसार नै यहि टाँपू अनि समुद झैं लाग्छ’,उनी छिनभरमै भावुक बन्छन् । भन्छन्, ‘दुख र संघर्षबिनाको जिन्दगी के जिन्दगी रु अब त यहि काम प्यारो लाग्छ अनि सजिलो पनि ।’ तर उनको कामलाई अरुले अलि हेयको दृष्टिले हेरिदिदा भने उनलाई नमिठो लाग्छ । ‘कोरियनले त हेप्छन् हेप्छन् नेपालीले समेत हाम्रो कामलाई घृणा गर्छन्, इपिएसबाट आउनेले नै हामीलाई तल्लो स्तरको व्यवहार गर्छन् अनि दुःख लाग्छ,’ थापा आफ्नो गुनासो पोख्छन् ।

भाषा नबुझ्दाको एउटा रोचक घटना थापा कहिल्यै भुल्दैनन् । उनीहरु बस्ने घरमा एउटा कुकुरको बच्चा थियो । एकदिन साहुले त्यो बच्चालाई उता सार भनेको रहेछ भाषा नबुझेर ढुंगा हटा भनेको हो कि भनेर ढुंगा टिपेर अन्तै राखे । साहु रिसाउदै त्यो होइन भन्यो नबुझेर छेउमा भएको काठको टुक्रा पो होकि भनेर त्यसलाई पनि अर्कैतिर सारीदिए । फेरी साहु रिसाउदै आफै उठेर कुकुरको बच्चालाई अर्कोतिर सारिदियो । रमाइलो अनुभव सुनाउदै उनी थप्छन्,‘छ महिना त इसारामा नै काम गरियो नि । भाषा नबुझ्ने, कति गाली गथ्र्यो साहुले बुझे पो । ङिच्च दाँत देखाउनु बाहेक अर्को विकल्प नै थिएन ।’

फोनिजकोरियाबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय