मौरीबाट मालामाल

सिन्धुली, ७ पुस- सिन्धुली भिमान डाँडाटोलका किसान जीवनाथ बराल व्यावसायीक मौरी गर्दै आएका छन् । १५ वर्षदेखि व्यावसायीक मौरीपालन गर्दै आएका उनले आधुनिक मौरी घार बनाउनुका साथै व्यावसायीक मौरीपालन पनि गर्दै आएका छन् । आँफुले बनाएको आधुनिक मौरीका घारहरु धनकुटा, इलाम, भोजपुरलगायतका जिल्लामा बिक्री गर्ने गरेको बराल बताउँछन् ।

कतिपय किसानले सहज रुपमा घार उपलव्ध नहुने भएकाले मौरीपालन व्यवसायलाई निरन्तरता दिन नसकेका बेला बरालले भने वर्षमा ६० भन्दा बढी घारहरू बनाउने गरेका छन् । धेरै घारहरु चाहिँ माग अनुसार बनाउने गरेको उनको भनाइ छ ।

घार निर्माण सँगसगै व्यावसायीक रुपमा मौरीपालन गरेर आफ्नो आर्थिक उपार्जनमा पनि परिवर्तन गर्न बराल सफल भएका छन् । एकपटकमा ५० देखि ६० केजी मह निकाल्ने गरेको उनको भनाइ छ । अहिले बजारमा एक किलोको ६ सय रुपैयाँमा मह बिक्री भइरहेको छ । महबाट मात्रै वर्षमा एक लाखभन्दा बढी आम्दानी हुने बरालको अनुभव छ ।

सिन्धुली डाडीगुँरासे गाविसका कृष्णचन्द्र खड्काले पनि १० वर्षदेखि व्यवसायीक मौरी पालन गर्दै आएका छन् । आजभोली उनको घरमा नै २० घार मौरी छन् । महबाट उनले वार्षिक डेढ लाख भन्दा बढी आम्दानी गर्ने गरेका छन् । आफूले सेराना मौरीको जातको व्यवसाय गरेको उनले बताए ।

खड्काले जिल्ला कृषि विकास कार्यालय सिन्धुलीबाट गत आर्थिक वर्षमा अनुदान पाएका थिए । १ लाख ८० हजार अनुदान पाएका उनले मौरी पालन व्यवसाय भने दिगो हुन सकेन् । ‘प्राविधिकले मेनिफेरा जातको मौरी सिफारिस गरेकाले आफूले सिरफारिस गरेको जातको मौरी पालेको भएपनि सफल भएन’, उनले भने । सरकारको अनुदान त्यतिकै खेर गएको उनको भनाई छ । आफुले १० वर्षदेखि सेरेना जातको मौरी पालन गरको र हावापानी पनि मिलेको बताउँदै कृषि विकास कार्यालयले मेलिफेरा सिफारिस गरेको र आफूले त्यही पालन गरेको भएपनि सफल नभएको बताए । हावापानी नमिलेर पनि मेनिफेरा जातको मौरी पालन गर्न समस्या भएको उनको भनाई छ ।

जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले पनि मौरीपालन किसानका लागि विभिन्न सहयोग गर्दै आईरहेको छ । कार्यालयका अनुसार पोहोर मौरीसहितको आधुनिक घार कृषकहरुलाई वितरण गर्ने गरेको छ । आधुनिक घारहरु मौरी पालनको लागि प्रभावकारी हुने कार्यालयको भनाई छ ।

केही समय यता सिन्धुलीमा व्यावसायीक रूपमा मौरीपालन गर्ने किसानको संख्या बढिरहेको छ । श्रमअनुसारको आम्दानी हुने र जिल्ला कृषि विकास कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गरेकाले पनि यो सङ्ख्या बढेको हुन सक्ने अनुमान गरिएको छ । कतिपय किसानले वर्षमा ६० देखि ७० घार मौरीसमेत बिक्री गर्ने गरेका छन् । वर्षमा एक घार मौरीले १० देखि १५ केजीसम्म मह उत्पादन गर्ने विज्ञहरुको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार सिन्धुलीमा पाँचदेखि सातसय किसानले व्यावसायीक मौरीपालन गर्ने गरेका छन् भने प्रति घार १० देखि १५ केजी मह उत्पादन हुने गरेको छ । व्यावसायीक मौरीपालनका विषयमा किसानलाई तालिमका साथै आधुनिक घारको व्यवस्थापन बारे पनि जानकारी दिइरहेको कार्यालयले जनाएको छ । मौरीका आधुनिक जातहरू, मौरीपालन व्यवसायसँग सम्बन्धित नयाँ प्रविधिलगायतका बारेमा किसानलाई जानकारी गराउने हो भने मौरीपालक किसानले जिवीकोपार्जनका लागि अरू उपायहरु खोज्नु नपर्ने कृषकहरुको भनाई छ ।

यो खवर कारोवारमा चिना थापाले लेखेकी हुन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: