राम प्रमेश मण्डल, जनकपुरधाम पुष ३
सुरक्षित बैदेशिक रोजगार, हामी सबैको सरोकार मुल नाराका साथ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१५ को अवसरमा रक्तदान, कविता वाचन, घटना अनुभव आदानप्रदान गरि मनाईएको छ । आप्रवासी कामदारहरुको अधिकारका लागि सक्रिय मित्र धनुषा, ईन्सेक, सेफ नेपाल, यु्वा अभियान, आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, ओरेक नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला अधिकार सरोकार समुह, रंग दर्पन, मिथिला नाट्यकला परिषद लगायत दुई दर्जन संघसंस्थाहरुको सक्रियतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा आप्रवासीहरुको मानव अधिकारको हनन भइरहेको अवस्था तथा त्यसलाई कसरी कम गर्न सकिन्छ भन्नेमा जोड दिइयो । यसैगरी आप्रवासी कामदार तथा तीनका परिवारको अधिकार सम्बन्धि महासन्धी १९९० को अनुमोदन नेपाल सरकारले गर्नुपर्नेमा आवाज उठाइयो ।
नेपाल रेडक्रस सोसाईटी, धनुषाको संयोजनमा गरिएको रक्तदान कार्यक्रममा सामी परियोजनाका संयोजक देव नारायण मण्डल, मित्र धनुषाका परियोजना संयोजक राम कुमार कर्ण, अनिरुद्ध मुखिया, मनिस राय, रिना झा, सरिता, स्वेता, ईन्सेकका विनोद महरा, सेफ नेपालका अध्यक्ष तथा सामाजिक अभियन्ता राम प्रमेश मण्डल, महिला अधिकारकर्मी सुधा कर्ण, ईन्दु सिंह, युवा अभियानका अशोक कुमार साह, रामु महरा, नथुनी साह, गोदारका श्याम सुन्दर साह, विवेक कुमार यादव, किरण कुमार कर्ण लगायत २३ जनाले रक्तदान गरेका थिए ।
त्यसै गरि मिथिलाका साहित्यकारहरु राम कुमार साह, अयोध्यानाथ चौधरी, दिगम्वर झा, प्रेम विदेह ललन, विजय दक्त, महिला कविहरुमा पुनम झ, हेमलता सिग्देल, विन्दु ठाकुर सपना कर्ण, किरण झा लगायत २० जना साहित्यकारहरुले बैदेशिक रोजगारी सम्बन्धी कविता तथा गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महिला अधिकारकर्मी उर्मिला यादव, आप्रवासी कामदार अमोद कुमार यादव लगायतले नेपाल सरकारले आप्रवासी कामदारहरुको हकहितका लागि ठोस रुपमा नीति बनाई त्यसको कार्यान्वयन गर्नुपर्ने तथा स्थानिय स्तरमा समेत संरचनाहरुको विस्तार गरि न्यायमा पहँुच बढाउन आवश्यक रहेको बताएका थिए ।