मलेसिया – मलेसियामा अवौधानिकरुपमा काम गरिरहेका अप्रावासी कामदारलाई मलेसिया सरकारले डिसेम्वर ३१ सम्ममा स्वदेश फर्कन समयसिमा तोकेको छ । यसै वर्षको जनवरीबाट ‘स्वेच्छिक घर फिर्ती कार्यक्रम’ ल्याएको मलेसिया सरकारले डिसेम्वर ३१ सम्मको समय सिमा तोकेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
विनाकागजात मलेसियामा काम गरिरहेका नेपालीलाई दूतावासले डिसेम्वर ३१ सम्म घर फर्किन आग्रह समेत गरेको छ । हालसम्म अवैधानिक रुपमा बसेका हजारौँ नेपाली स्वदेश फर्किसकेको दूतावास स्रोतले जनाएको छ ।
नेपाली दूतावास मलेसियाका अनुसार अवौधानिक रुपमा काम गरिरहेका नेपालीलाई घर फर्किन एकतर्फी यात्राअनुमतिपत्र दिइएको छ । यात्रा अनुमतिपत्र लिएका नेपालीले यहाँको अध्यागमनमा गएर आत्मसर्मपण गरी तोकिएको जरिवाना तिरेर नेपाल फर्किन सक्नेछन् । २०१३ जुलाईदेखि हालसम्म करिब ५६ हजार यात्रा अनुमतिपत्र वितरण गरिएको दूतावास श्रोतले जनाएको छ ।
सो यात्रा अनुमति पत्रको एक सय ६० रिंगेट शुल्क श्रमिकले बुझाउनु पर्ने हुन्छ । मलेसियाबाट घर फर्कन चाहनेलाई दूतावासले यात्रा अनुमति पत्रमात्र दिने हुँदा समस्यामा पर्ने गरेको भुक्तभोगीहरु बताउँछन् । यहाँको अध्यागमनसम्म पुग्न समस्या भएकाले अवैधानिक रुपमा बसेका नेपाली श्रमिक दलालसँग पुग्दा घर फर्किन एक हजार आठदेखि तीन हजार रिंगेटसम्म तिर्न बाध्य भएका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरमा रहेका नेपाली रेष्टुरेन्टमा घर फर्किन लागेका नेपालीको संख्या बाक्लिएको गैर आवसीय नेपाली संघ मलेसियाका अध्यक्ष महेन्द्रजंग शाह बताउँछन् । ‘दलालको जगजगी यसरी बढेको छ कि दूतावास परिसरमै झोला बोकेर विहान पुगे दलालले तान्न आउँछन्’, शाहले भने । नेपाली श्रमिकलाई घर फर्काउन दूतावासले यहाँको एक कम्पनीसँग गरेको सम्झौता खारेज गरेपछि नेपाली श्रमिक थप समस्यामा परेका छन् ।
नेपाली श्रमिकलाई न्यूनतम शुल्कमा घर फर्काउन आग्रह गर्दै गैरआवासीय नेपाली संघले दूतावासमा गरेको प्रस्ताव अस्विकृत भएको थियो । अध्यक्ष शाहले भने, ‘अवैधानिक रुपमा बसेका नेपालीलाई घर फर्किन सहज बनाउनुको विकल्प छैन ।’
अन्नपूर्ण पोष्टबाट