
काठमाडौं, मंसिर २९- बाजुराको कुल्देवमाण्डौंका नरेन्द्रबहादुर शाह ७३ वर्ष पुगे। अग्लो र पातलो वृद्ध शरीरले भारतको राजधानी सहर नयाँदिल्लीको अशोक बिहारमा चौकीदारी गर्न थालेको ५० वर्ष पूरा हुँदै छ।
यस अवधिमा उनले दर्जनौं ठाउँमा चौकीदारी गरे। पछिल्ला १५ वर्षदेखि निरन्तर एक धनाढ्यको घरको मुलगेटमा राति ८ देखि बिहान ८ बजेसम्म खटिँदै आएका छन्। त्यस समयमा घरमा चोरी भए उनकै थाप्लोमा आउँछ। युवावस्थादेखि नै भारतका विभिन्न सहरमा रोजीरोटीका लागि भौंतारिँदै आएका शाहले बुढेसकालमा अनेकौं हैरानी खेप्नुपरेको छ।
शरीर रोगी हुँदै गएपछि आइलाग्ने समस्या त छँदै थियो, दिनहुँ परिवारले नाकाबन्दीका कारण गाउँघरमा समेत कष्ट बढ्दै गएको सुनाउने गरेकाले उनी झनै चिन्तामा छन्। चौकीदारीबापत आउने मासिक ८ हजार भारतीय रुपैयाँले परिवार पालिने भएकाले तत्काल अर्को विकल्प पनि देख्दैनन्।
नयाँदिल्लीमा चिसो सुरु भइसकेको छ। त्यही चिसोमा नयाँदिल्लीको रोहिणी १६ स्थित मुख्य बजारमा रातभर बाँसको लठ्ठी बजार्दै २४ वटा घर, पसलको सुरक्षा गर्न हिँडिरहेका भेटिन्छन्, बाजुराकै बाह्रबिसका मनबहादुर शाही। ३८ वर्षीय उनी पनि सानै उमेरदेखि साथीहरूको लहलहैमा लागेर दिल्लीमा चौकीदारी गर्न आएका हुन्।
घरको आर्थिक अवस्था कमजोर भएपछि पढाइ–लेखाइ छाडेर अरूजस्तै उनी दिल्ली आएका हुन्। ‘बाध्यताले म दिल्ली पसें,’ शाहीले दु:खेसो सुनाए। रातभर चौकीदारी गरेपछि उनलाई मासिक ५ हजार तलब जुट्छ।
चौकीदारीबाट आएको रकमले महिनाभरि खानेबस्ने जोहो गर्न मुस्किल पर्छ। त्यति रकमले नधान्ने भएपछि १० घन्टाको कठोर चौकीदारीपछि उनी बिहानको समय गाडी सफा गर्छन्। करिब ४ घन्टाको समय लगाएर ५० गाडी सफा गरेबापत शाहीलाई १० हजार रुपैयाँ अतिरिक्त आम्दानी हुन्छ। ‘यही रकम जोगाएर घरखर्च र छोराछोरीको पढाइको व्यवस्था मिलाएको छु,’ मनबहादुरले भने।
यी चौकीदारले १५ वर्ष दिल्लीका सडक र गल्लीमा बिताएका छन्। यसै वर्ष एसएलसी उत्तीर्ण गरेको छोरालाई कञ्चनपुरको महेन्द्रनगरमा डेरामा राखेर भर्ना गराएका शाहीको एउटै चिन्ता छ, ‘शिक्षाबाट वञ्चित भएर मेरोजस्तै चौकीदारी छोराले गर्नु नपरोस्।’ उसो त, दिल्लीमा चौकीदारी गर्नेहरू स्नातक तह उत्तिर्ण भएकासम्म भेटिन्छन्।
त्यसबाट आउने तलबले कसैको गुजारा नचल्ने भएपछि बिहान साहुका गाडी सफा गर्नु उनीहरूको अर्को पेसा हो। चाहेजति गाडी पनि पाउन मुस्किल छ। जति बढी संख्यामा गाडी सफा गर्ने अवसर पायो, त्यति नै खुसी हुन्छन्। एउटा गाडी सफा गरेबापत २ सय रुपैयाँ पाउँछन्।
‘रातभरि चौकीदारी र बिहान गाडी सफाइ दिल्लीका नेपाली चौकीदारहरूको दैनिकी नै हो,’ कैलाशमाण्डौं बागापाटाका विनोद थापाले भने, ‘बिहानको चिसो भनेर के गर्नु, गुजारा चलाउन परदेश आइसकेपछि दु:ख भन्न कहाँ पाइन्छ र?’
उहिले बहादुर कहलिएका धेरै नेपालीको अहिले भारतमा कठोर जीवन छ। ‘भारतीयहरूले बोलाउँदा र अह्राउँदा बहादुर शब्द उच्चारण गर्छन्, त्यसभित्र इज्जत नभई रुखोपन र अपमान मिसिएको हुन्छ,’ थापाले भने।
हिजोआज चौकीदारी गर्ने गोर्खालीहरू थप तनावमा छन्। मनबहादुर, विनोदलगायत हजारौ चौकीदारलाई दिनहुँ परिवारका सदस्यले फोनबाट भारतीय नाकाबन्दीले गाउँघरमा उत्पन्न असजिलो सुनाइरहेका हुन्छन्।
‘औषधि उपचार गर्न नपाएको, महँगी बढेर मूल्य दोब्बर भएको, गाउँघरमा नुन, तेल चामललगायत दैनिक उपभोग्य सामग्री पाउनै छाडेको भनेर परिवारले सुनाउँदा चिन्ता बढेको छ,’ तोलीका चक्र बूढाले भने, ‘बाध्यताले शरीर यता भए पनि मन त घरमै छ।’
नेपाल र भारतको सम्बन्ध बिग्रिंदै जाँदा चौकीदारहरूलाई हेप्ने प्रवृत्ति पनि बढेको उनीहरूले बताए। ‘नेपालले हाम्रो देशसँग जोरी खोज्दा यस्तै हुन्छ भनेर कतिपयले धम्क्याइरहन्छन्,’ अछाम कुस्कोटका चक्र साउदले भने।
नाकाबन्दीका कारण नेपालीले दु:ख पाएकामा चौकीदार आक्रोसित पनि छन्। तर, वर्षौंदेखि अपनाएको रोजगारीको विकल्प पनि छैन। ‘आक्रोसमा यता छोडेर आफ्नै गाउँघर फर्किउँ भने पनि परिवार पाल्ने उपाय छैन,’ साउदले भने। बाजुराकै जयबहादुर कटुवालले भने अपहेलना सहेर बस्नुभन्दा स्वदेश नै फर्किनु उपयुक्त हुने सोच्न थालेका छन्।
कान्तिपुरबाट