५ लाख बढीलाई रोजगारी

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा सञ्चालित इँटाभट्टामा पाँच लाखभन्दा बढी मजदुरले रोजगारी पाउने गरेको उद्योगीहरुको दाबी छ। एउटा इँटाभट्टा सञ्चालनका लागि करिब पाँच हजार मजदुर आवश्यक पर्छन्। काठमाडौं उपत्यकामा करिब १ सय १० वटा इँटाभट्टा सञ्चालनमा छन्। 

नेपाल इँटा उद्योग व्यवसायी संघका केन्द्रीय अध्यक्ष महेन्द्र चित्रकारका अनुसार सबै भट्टामा मजदुरहरुले काम थालिसकेका छन्। प्रत्येक वर्ष कामका लागि इँटाभट्टामा पश्चिम नेपालका दाङ, रोल्पा, रुकुम, सल्यान, प्युठान, सुर्खेत लगायतका एक दर्जन बढी जिल्लाका अदक्ष मजदुर काम गर्न काठमाडौं उपत्यका आउने गरेका छन्। सुदूर जिल्लाबाहेक काठमाडौं उपत्यका नजिकका काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाबाट पनि कामका लागि मजदुरहरु आउने गरेको चित्रकारको भनाइ छ।

यी अदक्ष मजदुरले प्रायः काँचो इँटा बनाउन र बोक्न परिवारसहित आउने गरेका छन्। मजदुरहरुले भट्टामै छाप्रो बनाएर बस्ने गरेका छन्। इँटा पार्न, बोक्नबाहेक इँटा पोल्ने भट्टामा काम गर्न, पाकेको इँटा गाडीबाट ओसारपसार गर्ने काम पनि तिनले गर्छन्।

भक्तपुर नंखेलस्थित कारखानामा इँटा बनाइरहेकी मीनाकुमारी डाँगीले आफ्नो सात जनाको परिवारले काम पाएको बताइन्। आफू मात्रै नभई कामका लागि इँटाभट्टामा आउने प्रायः सबै जना परिवारसहित आउने गरेको उनले सुनाइन्।

भारतीय नाकाबन्दीका कारण यो वर्ष इँटाभट्टा सञ्चालनमा केही ढिलाइ भएको थियो। अघिल्ला वर्षमा कात्तिक महिनाबाटै काम सुरु हुन्थ्यो। यो वर्ष भने एक महिना पछाडि मंसिरबाट मात्रै काम गर्न पाइएको उनले जनाइन्। यतिबेला उनी र उनको परिवारले काँचो इँटा बनाउन सुरु गरेका छन्।

इँटा पोल्न नभई नहुने कोइला उपलब्ध हुने नहुने अनिश्चितताले काम सुरु गर्न ढिलाइ भएको कारखाना सञ्चालकको छ। इँटा उद्योग संघले दिएको जानकारीअनुसार अहिले केही उद्योगीले इँटा पोल्न भट्टामा आगो लगाउन सुरु गरिसकेका छन्।

उपत्यकामा सबैभन्दा बढी उद्योग भक्तपुरमा छन्। यहाँ गत वर्ष ६२ वटा उद्योग चलेका थिए। संघका भक्तपुर अध्यक्ष नातिभाइ ह्योम्बाले भारतीय नाकाबन्दीको अन्योलका कारण काम केही ढिला भएको जनाए। व्यवसायीहरुका अनुसार इँटा पार्ने कामदारहरुलाई ३५ देखि ४० लाखसम्म पेश्की पहिला नै दिइसकेका हुन्छन्।

उपत्यकामा चल्ने यी इँटाभट्टा बाह्रै महिना सञ्चालनमा रहँदैनन्। प्रत्येक वर्षको हिउँदमा मात्रै सञ्चालन हुन्छन्। प्रत्येक वर्ष धान काटिसकेपछि चैतसम्म यहाँका इँटा कारखाना सञ्चालन हुने गरेको चित्रकार बताउँछन्।

चाइनिज इँटा उद्योग बन्द

भक्तपुर जगातीस्थित नेपालकै पहिलो चाइनिज इँटा कारखाना बन्द छ। महाभूकम्पले चिम्नीसहितको भौतिक संरचनामा क्षति पुगेपछि कारखाना बन्द भएको भक्तपुर इँटा तथा टायल उद्योग प्रालिले जनाएको छ। २ सय ५० रोपनी क्षेत्रफलमा फैलिएकोे यो उद्योग निजीकरण गरेपछि नेपाल सरकारसँग २०६० पुस २२ गतेबाट सञ्चालनमा ल्याइएको थियो। वार्षिक ४० लाख रुपैयाँ भाडा तिर्दै निजी क्षेत्रबाट उद्योग संचालनमा आएको थियो। वैशाख १२ को भूकम्पपछि उद्योग पूर्ण रुपमा बन्द भएको छ। उद्योग बन्द भएसँगै उद्योगमा कार्यरत स्थायी, अस्थायी तथा करारमा रहेका पाँच सय मजदुर बेरोजगार भएको भक्तपुर इँटा तथा टायल उद्योग प्रालिका प्रबन्ध संचालक दुर्गाप्रसाद मल्लले जनाए। चीन सरकारले २०३२ सालमा ६५ मिटर लामो प्रदूषणरहित प्रणाली निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। सरकारले संचालन गर्दा घाटामा गएर बन्द भएपछि निजीकरण गरी कारखाना भाडामा संचालन गर्न दिइएको थियो।

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: