साउदी अरब : रोजगारदाता कम्पनीले काम गरेको तलब नदिएपछि यहाँ कार्यरत एक नेपाली दुई महिनादेखि साउदी अरबको श्रम अदालत धाउन बाध्य भएका छन् ।
आठ महिनादेखि काम गरेको तलब नदिएको भन्दै इलाम, मङ्गलबारे–१ का ४० वर्षीय नरबहादुर लिम्बू न्याय खोज्दै श्रम अदालत धाउन बाध्य भएका हुन् ।
काम गरेको तलब नपाएको, करार अवधि सकिए पनि स्वदेश फिर्ता जान नदिएको र आवास अनुमति नवीकरण नगरिदिएको भन्दै आफू कार्यरत अल समख अल शरकी कम्पनीविरुद्ध पीडित लिम्बूले यहाँको श्रम अदालतमा मुद्दा हालेका हुन् । उनले मासिक बाह्र सय साउदी रियलका दरले आठ महिनाको पारिश्रमिक पाउन नसकेका हुन् ।काम गरेको पारिश्रमिक पटकपटक माग्दा पनि रोजगारदाताले आफूलाई पारिश्रमिक उपलब्ध नगराएपछि बाध्य भएर अदालत गएको पीडित लिम्बूले बताए । अहिले श्रम अदालतमा उनको मुद्दा चलिरहेको छ । रोजगारदाता कम्पनीले पासपोर्ट र स्वदेश फर्कनका लागि हवाई टिकट उपलब्ध गराउन तयार भए पनि काम गरेको पारिश्रमिक दिन तयार नहुँदा मुद्दा नमिलेको पीडित लिम्बूले बताए।
रोजगारीको सिलसिलामा ३० महिनाअघि काठमाडौँको मसारिक ओभरसिजमार्फत ८० हजार रुपैयाँ तिरेर दुईवर्षे करारमा उनी साउदी आएका हुन् । लामो समयदेखि काम गरेको तलब पाउन नसक्दा उनी महिनौँदेखि नेपालीको आश्रयमा बस्दै आएका छन् ।
मेसन कामका लागि उक्त कम्पनीमा आएका लिम्बूले मुस्किलले १८ महिनाको तलब पाए पनि पटकपटक गरी आठ महिनाको तलब पाउन नसकेका हुन् । ६ महिनाअगाडि नै करार अवधि सकिए पनि रोजगारदाता कम्पनीले घर जान नदिएको पीडित लिम्बूले बताए ।
यसअघि आफ्नो समस्यालाई लिएर नेपाली दूतावासको सम्पर्क कार्यालय दमाममा तीन महिनासम्म निरन्तर धाए पनि दूतावासले चासो नदिएको लिम्बूले बताए । दूतावासका प्रतिनिधि हरि घिमिरेलाई पटकपटक आग्रह गरे पनि आफ्नो समस्याको सुनुवाइ नभएपछि बाध्य भएर श्रम अदालत जानु परेको लिम्बूको गुनासो छ ।
साथीहरुको सहयोगमा दुई महिनादेखि श्रम अदालत धाइरहेको छु, लिम्बू भन्छन्–“अहिलेसम्म केही भएको छैन, म त बिचल्लीमा परेको छु ।” दूतावास प्रतिनिधि घिमिरेलाई टेलिफोन सम्पर्क गर्दा भने यो विषयमा अनभिज्ञता प्रकट गरे।
रासस
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1