एनआरएनए १ हजार घर बनाउन छलफल गर्दै सिन्धुपाल्चोकमा 

काठमाडौं -गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीसँग पुनःनिर्माण योजनाबारे छलफल गरेका छन् । भूकम्प प्रभावितलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली सङ्घले सिन्धुपाल्चोकमा घर निर्माणस्थल छनौट गर्ने योजनासहित सरकारी अधिकारीलाई मंगलबार भेट गरेको हो । सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र सहरी विकास विभागका प्रतिनिधिसँग एनआरएन टोलीले सामूहिक छलफल गरेको हो ।

सो अबसरमा सङ्घका अध्यक्ष घलेले दुई वर्षभित्र एक हजार आवास निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता भइसकेको जानकारी दिँदै सिन्धुपाल्चोकमा कहाँ र कसरी एनआरएनले सहयोग गर्न सक्छ भनी सरकारी अधिकारीहरुलाई सोधेका थिए । सरकारले सिफारिस गरेको ठाउँमा मात्र सङ्घले पुनःनिर्माण अभियान थाल्ने भएकाले अति विपन्न र एकै ठाउँमा धेरै घरधुरी भएको गाउँ एनआरएनलाई जिम्मा दिन आग्रह गरेका थिए ।

सो अबसरमा निमित्त प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले सिन्धुपाल्चोकमा पुनःनिर्माण गर्ने सङ्घको योजनाप्रति आभार प्रकट गर्दै सकेसम्म दुर्गम ठाउँमा जान आग्रह गरे । “धेरै सङ्घसंस्था सजिलो र सुगम ठाउँमै काम गर्न खोज्छन, तर गैरआवासीय नेपाली सङ्घले अतिविपन्न परिवार रहेका दुर्गम गाउँमा पुगेर पुनःनिर्माणको काम गरोस् भन्ने हाम्रो चाहना छ’ निमित्त प्रजिअ आचार्यले भने । 

सो अवसरमा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले सङ्घले थालेको पुनःनिर्माण अभियानमा आफूले सक्दो सहयोग गर्ने बताए । सङ्घले रु ३५ करोडको लागतमा भूकम्पप्रभावित जिल्लामा एक हजार घर निर्माण गर्ने योजना बनाएको छ । सोहीबमोजिम सङ्घ र शहरी विकास विभागबीच सम्झौतासमेत भइसकेको छ । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: