काठमाडौं, मंसिर २२- महिला आप्रवासी कामदारका कथा र अनुभवलाई आदानप्रदान गर्ने उद्धेश्यले राजधानी आज राजधानीमा घरबाट धेरै टाढाः प्रवासी नेपालीका आफ्ना कथाहरु कार्यक्रम आयोजना गरिंदैछ ।
सो कार्यक्रममा काठमाडौं, बर्दिया, ईलाम, झापा र मोरंगबाट भारतमा रोजगारीका लागि गएका ३० जना महिलाकै आवाजमा उनीहरुको दैनिकी र परिवार तथा समुदायको अनुभवलाई समेटिएको आयोजकहरुले बताएका छन् । आप्रवासनले कामदारको तथा उनीहरुको परिवारमा पारेको प्रभावलाई प्रदर्शनीले समेट्ने प्रयास गरेको आयोजकहरुको भनाई छ ।
कार्यक्रमका बारेमा जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा ड्यानचर्चएड(डिसीए) का क्षेत्रीय कार्यक्रम अधिकृत क्रिष्टियन वुल्फले दक्ष्णि एसियाली क्षेत्रका आप्रवासी कामदारका समस्या साझा प्रकृतिको भएको बताए । उनले पछिल्लो सार्क सम्मेलनको घोषणापत्रमा आप्रवासी सम्वन्धि मुद्धा समेटिनु सह्रानिय भएको धारणा राखे ।
भारतमा विगत लामो समयदेखि कार्यरत नेपाली महिला कामदारको कथा समेटिएको श्रृव्य सामग्री तयार पारिएको भन्दै उनले प्रदर्शनीसँगै आयोजना गरिने छलफलका निश्कर्षहरुलाई नीति निर्माण तहसम्म लैजाने बताए ।
पत्रकार सम्मेलनमा महिलाअधिकारकर्मी डा. रेणु अधिकारीले बैदेशिक रोजगार जीविकोपार्जनसँग जोडिएको विषय भएको भन्दै तर महिलाको श्रमलाई गणना नगरिएको धारणा राखिन् । विदेशमा उनीहरुले गरेको श्रमको मात्र नभई स्वदेशमा नै उनीहरुले गर्ने योगदानको गणना गरिनुपर्ने उनको भनाई थियो । अधिकारीले कतार वा मलेसियामा कार्यरत नेपाली महिला कामदारका कुरा धेरै गरिएपनि स्वदेशमा महिलाको श्रम क्षेत्रमा बढेको सहभागिता र उनीहरुको योगदानका बारेमा बहस हुनुपर्ने बताइन् ।
प्रदर्शनीमा तीनवटा समुह छलफल आयोजना गरिएका छन् । बसाईसराई, जनजीवन र जीविकोपार्जन, महिला र काम तथा आमसञ्चार र प्रवासीहरु विषयमा समुह छलफल आयोजना गरिएको छ । सो छलफलमा वभिन्न देशहरुबाट आएका सोही विषयमा कार्यरत संघसंस्था, विज्ञ, पत्रकार, व्लगरहरु सहभागि हुने आयोजकले बताएका छन् ।
प्रदर्शनी ड्यानचर्चएड(डिसीए)सँगै दक्ष्णि एशियाली अनुसन्धान र विनिमयका लागि एचआरआई, मदन पुरस्कार पुस्तकालय, ओरेक, पौरखी तथा स्टिचिंग रोटरड्यामले आयोजना गरेका हुन् । प्रदर्शनीको उपप्रधानमन्त्री तथा महिला बालबालिका मन्त्री सिपी मैनालीले गर्नेछन् ।