यौन सम्पर्क राखेको पैसा नपाएपछि बलात्कारको अभियोग लगाई प्रहरी खोरमा

ललितपुरको लगनखेलस्थित नेपाल आर्मीको पेट्रोल पम्प नजिकै मंगलबार साँझ एक युवती रोइरहेकी थिईन्। साँझमा युवती रोएपछि गस्तीमा हिँडेको प्रहरीले उनलाई सोधपुछ गर्‍यो। ती युवतीले ४ जना केटाहरू मिलेर आफूलाई जबरजस्ती गरेको प्रहरीसामु बताईन्।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्‍यो। एक जना भने अझै फरार छन्। अनुसन्धान गर्दै जादाँ प्रहरीले सहमतिमा नै युवकहरुले ती युवतीलाई यौनसम्पर्क गरेको खुलेको छ।

रकम लेनदेनमा विवाद भएको कारण युवकहरूले पैसा नदिएपछि ती युवती रोएको अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीले सेतोपाटीलाई जानकारी दिए। ‘यौनसम्पर्क गरेवापत पाँच पाँच सय रुपैयाँ लिने सर्तमा ती युवती डिजेल हाल्नका लागि लाइनमा राखिएको बसमा चढेकी थिईन्। तर रकम नदिएपछि उनले प्रहरीलाई जर्बजस्ती गरेको भनिन्,’ प्रहरी स्रोतले भन्यो।

उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले कास्कीका सन्तोष विक, काभ्रेका सुरेश तामाङ र रुकुमका कृष्ण तामाङलाई पक्राउ गरि मुद्दा चलाएको छ।

त्यस्तै ललितपुर भैंसेपाटीकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै महानगरीय प्रहरी कार्यालयमा उजुरी हालिन्। महानगरीय प्रहरीले ललितपुर प्रहरीलाई घटनाबारे अनुसन्धान गर्न भन्यो। ती युवतीका उजुरीका आधारमा प्रहरीले आरोपित भुषण थापालाई पक्राउ गर्‍यो।

अनुसन्धान गर्दै जादा प्रहरीले उनीहरू दुवै जना राम्रोसँग चिरपरिचत भएको र सहमतिमानै यौनसम्पर्क गरेको खुल्यो।

त्यही सम्बन्धमा युवतीले थापालाई ‘ब्ल्याकमेल’ गर्ने गरेको पत्ता लाग्यो। युवतीले ५० लाख माग गरेको आफूले नदिएपछि उनले आफूलाई जेल हाल्न बलात्कारको नाटक रचेको थापाले प्रहरीसमक्ष बयान दिएका छन्। प्रहरीले थापालाई पनि अदालत पठाएको छ।

बलात्कारका जाहेरी परेपछि अनुसन्धान गर्दै जाँदा  पीडित भनिएकी महिला नै पिडक भएका घटना फेला पर्ने अरु पनि धेरै मुद्दाहरु भएको  प्रहरी अधिकारीहरु बताउँछन्।

‘राजीखुसी यौन सम्पर्क गर्ने र आफूले भनेको नमानेपछि त्यसलाई नै बलात्कार भयो भन्दै पछिलो समय युवतीहरू उजुरी गर्न आउन थालेका छन्,’ ललितपुर प्रहरी परिसरका एसएसपी पीताम्बर अधिकारीले भने।

उनले यस्ता प्रकारका घटनाले  समाज कुन दिशा तिर जाँदै छ भन्ने अड्कलबाजी गर्न सकिने बताए। यस्ता प्रकारका घटनाबाट आउने परिणामले समाजमा कस्तो असर पुर्‍याउँछ त्यस्ता कुरामा पनि ख्याल राख्नुपर्ने उनको भनाइ छ।

यस्तो अवस्थामा के गर्छ प्रहरीले?

लगनखेल र भैसेपाटीका २ घटनामा पक्राउ परेका ४ जनालाई अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

 ‘अनुसन्धानमा जस्तो देख्छौं त्यही जानकारी हामी अदालतसम्म पेश गछौं’, ललितपुर प्रहरीका प्रवक्ता डिएसपी किसनसिंह बस्नेतले भने।

यसरी नै जस्तो देखियो त्यस्तै जानकारी पेश गरेको केही वर्ष अघिको एउटा मुद्दा छ।

ललितपुरको बालकुमारीस्थित एक म्यानपावर कम्पनीको सञ्चालक आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार गरेको भन्दै जाहेरी पर्‍यो।

ललितपुर प्रहरीले संचालकलाई पक्राउ गर्‍यो। म्यानपावर सञ्चालकले युवतीले मागेजति रकम नदिएपछि युवतीले आफूलाई फसाउन प्रहरी समक्ष उजुरी हालेको बयान दिए।

उनले युवतीको खातामा २ लाखसम्म हालिदिएको प्रमाण प्रहरीले फेला पारेको थियो। त्यही पनि अन्तत प्रहरीले म्यानपावर सञ्चालकलाई जर्वजस्ती करणी अन्तर्गत मुद्दा चलाउन सरकारी वकिलकोमा राय सहित पठायो। अदालतमा मुद्दा गयो। ती व्यक्तिले अदालतमा मुद्दा हारेर तीन बर्ष जेल बसे।

प्रहरी अधिकारीहरु अहिले कुरा गर्दा पनि ती व्यक्ति निर्दोष हुन् भन्छन्।

 प्रहरीले के गर्न सक्छ?

 नायब महान्यायाधीवक्ता ठोकप्रसाद सिवाकोटीका अनुसार, अनुसन्धानका क्रममा जाहेरी नै दिने व्यक्ति दोषी भेटियो भने त्यो मुद्दा नचलाउने अधिकार प्रहरीलाई कानुनले नै दिएको छ।

‘दोषी भनेर देखाएको व्यक्ति निर्दोष भएको प्रमाण भेटियो र प्रहरीलाई पनि विश्वास भयो भने उसले मुद्दा नचलाउने राय सरकारी वकिललाई दिन सक्छ,’ उनले सेतोपाटीसँग भने, ‘मुद्दाको नाम नै जबरजस्ती करणी छ, त्यसैले कसैलाई मुद्दा हाल्न उसले अर्को व्यक्तिमाथि जबरजस्ती गरेकै हुनुपर्छ।’

उनको भनाईसँग अधिवक्ता मिरा ढुंगाना सहमत छन्। समाजमा केही घटना छोड्ने हो भने धेरैजसो पीडा खेप्ने महिला नै हुने गरेको उनको अनुभव छ। ‘त्यसो भन्दैमा पुरूष निर्दोष भएको प्रमाण हुँदाहुँदै जबरजस्तीमा मुद्दा हाल्नैपर्ने बाध्यता नभएको’ अधिवक्ता ढुंगानाले बताइन्।

‘धेरै त हैन, केही केसहरूमा पुरूष निर्दोष हुन सक्छन्,’ उनले भनिन्,‘दोषी र निर्दोष को हो भनेर छुट्याउने प्रमाण खोज्न भनेर प्रहरी राखिएको हो। उसले त्यही काम गर्नुपर्छ। समाजको ख्याल गर्ने काम नै प्रहरीको हो।’

तर, प्रहरीले त्यसो गर्दैन। भएको जानकारी राखेर अदालत पठाएपछि मुद्दा उसैले छिन्छ भनेर पन्छिन्छ।

यो समाचार सेतोपाटीमा शोभा शर्मा र प्रकाश ढुँगानाले लेखेका हुन् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय