नाकाबन्दीले पोल्ट्री व्यवसाय संकटमा  

धनकुटा, मंसिर ७- भारतले गरेको नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण दाना, औषधि र चल्ला आयात ठप्प भएपछि धनकुटाको पोल्ट्री व्यवसाय संकटमा परेको छ ।

बोइलर खुकुराका चल्ला र दाना उत्पादन र नियमित निर्यात गर्दै आएका इटहरी, चितवन र बारास्थित उद्योगले कच्चापदार्थको अभाव र ढुवानी समस्याले दुई महिनायता धनकुटासहित कोशी पहाडी जिल्लामा बोइलर चल्ला र दाना पठाउन सकेका छैनन् । आयात ठप्प भएकै कारण एउटै फार्ममा लटमा ५ हजारसम्म चल्ला राख्दै आएका व्यवसायीले पाँचदेखि सात सय चल्लामात्रै राखेका छन् । यही अवस्था रहे कोशी पहाडी जिल्लामा केही दिनमै बोइलर कुखुरा अभाव हुने सम्भावना देखिएको छ ।

तराईका जिल्लाबाट आयात ठप्प भएपछि कोशी पहाडी जिल्लाका लागि भुस, दाना र चल्ला उपलब्ध गराउँदै आएका धनकुटास्थित डिलरका गोदाम खाली भएको मनोज पोल्ट्री सप्लायर्सका सञ्चालक खड्गबहादुर डंगोलले बताए । गुणस्तरीय दाना र औषधि अभावमा राखिसकिएका कुखुराको पनि सामान्य अवस्थामा जस्तो तौलमा वृद्धि हुन सकेको छैन भने विभिन्न रोगको संक्रमण बढेको डंगोलले बताए । उनले भने, “६० दिनमा औसत साढे ३ केजी हुनुपर्ने कुखुरा २ किलो पनि पुगेको छैन, रोगको संक्रमण उत्तिकै छ ।”

चितवन र बाराबाट नियमित निर्यात रोकिएपछि धरान, इटहरी र विराटनगरका केही डिलरले अभावको मौका छोपी २ हजार ४ सय रुपैयाँ पर्ने ५० केजीको एकबोरा दानामा ५ सय २५ र २० किलोको भूसको बोरामा साविकभन्दा ४० रुपैयाँसम्म मूल्य बढाएर बेच्ने गरेकाले आफूहरू झनै मर्कामा परेको कर्माचार्य पोल्ट्री सप्लायर्सका विष्णुभगत श्रेष्ठले बताए । “भाउ बढाएका बढायै छन्, अग्रिम भुक्तानी दिँदा पनि माल पठाउन सक्दैनौ भन्छन्,” उनले भने ।

यो समाचार कारोवार दैनिकमा विकास घिमिरेले लेखेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: