
कुवेत, मंसिर ५- अरव क्षेत्रमा हाल रोजगारीको अवशर कम भएको भन्दै यो आगामी दिनमा अझ बढ्न सक्ने चेतावनी दिइएको छ । संयुक्त राष्ट संघको सल्लाहकार कमिटीका सदस्य शेख मोहम्मद सवाह अल सालम सवाहले यस्तो चेतावनी दिएका हुन् ।
अरवका युवाले भोगिरहेका समस्या र आगामी चुनौति विषयमा १४ औं मध्यपूर्व व्यापार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । शेख मोहम्मद कुवेतका पूर्व विदेशमन्त्री पनि हुन् । विश्व बैंकको तथ्याँक प्रस्तुत गर्दै उनले ५४ प्रतिशत अरवी युवा हाल बेरोजगार भएको भन्दै उनले हरेक चारजना महिला मध्ये तीनजना बेरोजगार रहेकोे उनले बताए ।
बढ्दो बेरोजगारी दर अरवका लागि चुनौतिपूर्ण हुने भन्दै शेख मोहम्मदले सन् २०२० सम्ममा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुपर्ने बताए । उनले नीजि क्षेत्रलाई पनि रोजगारी सिर्जनामा सघाउन सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । यसका लागि सीपमूलक शिक्षा जोड दिन शेखले सुझाव दिएका छन् ।
कुवेत न्यूज एजेन्सी(कुना) का अनुसार शेख मोहम्मदले कुवेतले स्न २००९ मा रोजगारी सिर्जनाका लागि गरेको लगानी स्मरण गर्दै यसले साना तथा मझौला उद्योगहरुमा ठूलो मात्रामा रोजगारी सिर्जना भएको बताए ।
तर समाचारमा बेरोजगारीले स्थानीय नागरिक प्रभावित भएको बताए पनि यसल आप्रवासी कामदारको अवस्थामा के फरक पार्छ भन्ने कुुनै उल्लेख गरेको छैन । खाडीका मुलुकमा नेपाल लगायतका देशहरुबाट गएका लाखौं आप्रवासी कामदार काम गरिरहेका छन् । उनीहरुको रोजगारी के हुने भन्ने बारेमा भनें समाचारमा जनाइएको छैन ।