सुन्तला उत्पादन बढ्यो

गोरखा, मंसिर ५- सुन्तलाका लागि प्रख्यात जिल्ला गोरखामा तीन वर्षपछि यसपल्ट उत्पादन बढ्ने अनुमान छ। जिल्ला कृषि विकास कार्यालयले यस वर्ष सुन्तला उत्पादन १०–१२ प्रतिशत वृद्धि हुने अनुमान गरेको हो। 

सुन्तला उत्पादनको पकेट क्षेत्र मनकामना, ताङलीचोक, देउरालीलगायत गाविसमा सुन्तला उत्पादन बढेकाले गोरखामा उत्पादन वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत विरेन्द्र धितालले बताए। सुन्तलाका बगैँचा मर्दै जान थालेपछि खेती नै छाड्ने अवस्थामा पुगेका किसान यस वर्ष उत्पादन बढेपछि उत्साहित भएका छन्।

उत्पादनसँगै यस वर्ष सुन्तलाको मूल्य पनि बढेको छ। किसानले बोटबाटै प्रतिकिलो ५०–६० रुपैयाँमा सुन्तला बिक्री गरेका छन्। गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको हो। खुद्रा मूल्य बजारमा ८० रुपैयाँ प्रतिकिलोभन्दा बढी छ।

विसं २०६९ देखि ०७१ सम्म सुन्तला उत्पादनमा वर्षेनी २ करोड नोक्सान भइरहेको थियो। २०७० मा उत्पादन घटेर ७८ सय मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। ९ सयदेखि हजार हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएको छ। गत वर्ष करिब ७ हजार मेट्रिकटन मात्र सुन्तला उत्पादन भएको थियो। यस वर्ष करिब ९ हजार मेट्रिक टन उत्पादन हुने अनुमान कार्यालयको रहेको बागबानी विकास अधिकृत धितालले बताए।

गोरखाको नारेश्वर, ताक्लुङ, मास्किछापका किसान भने अघिल्लो वर्षभन्दा आफ्नो क्षेत्रमा उत्पादन घटेको बताउँछन्। बोट मर्दै गएर सुन्तला थोरै फलेको ताक्लुङ–९ कि हरिमाया थापा बताउँछिन्। उनको बगैँचामा सुन्तलाका ६० बोट छन्। गत वर्ष ७० हजार रुपैयाँमा बिक्री गरेको सुन्तला यस वर्ष बोट मरेर थोरै फलेपछि बिक्रीबाट ६० हजार मात्र पाएको उनले बताइन्। ‘बोट मर्ने, कम फल्ने, साना दाना लाग्ने भएपछि आम्दानी पनि घट्यो’, उनले भनिन्, ‘जति उपचार गरे पनि वर्षेनी उत्पादन घट्दै गएको छ। अब अनार खेती गर्ने योजनामा छु।’

देउरालीका किसान लक्ष्मण मल्ल ठकुरीले गत वर्ष ३ लाख ५० हजार रुपैयाँको सुन्तला बेचेका थिए। यसपल्ट उनको बगैँचामा ७ लाख रुपैयाँ बराबरको सुन्तला फल्यो। सुन्तला टिपेपछि गोडमेल, औषधि उपचार गरेको र नयाँ बगैँचामा भने उत्पादन बढेको उनले बताए। कार्यालयले किसानलाई वितरण गरेको बिरुवा गत वर्षभन्दा करिब ३० हेक्टर बढीमा लगाइएको छ। वर्षेनी सुन्तला खेती बढे पनि उत्पादन भने खासै वृद्धि नभएको किसान बताउँछन्।

सुन्तला टिपिसकेपछि गोडमेल, औषधि उपचारलगायत बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा उत्पादन घटेको कृषि विज्ञ बताउँछन्। ‘कृषि कार्यालयले उत्पादन बढाउन वर्षेनी सहुलियतमा बिरुवा वितरण गर्दै आएको छ’ वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले भने, ‘किसानले चासो नदिँदा उत्पादन घट्दो छ।’ किसान भने रोग र कीरा लाग्दा कार्यालयले उपचारमा सहयोग नगर्दा र आफूहरूलाई जानकारी नहुँदा उपचार गर्न नसकिएकाले उत्पादन घटेको गुनासो गर्छन्। 

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय