काठमाडौं, मंसिर ४
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले गत बैशाखको भूकम्प पीडित श्रमिकहरुलाई ७२ लाख रुपैंयाँ प्रदान गरेको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम आयोजना गरी जिफन्टले सहयोग रकम प्रदान गरेको हो ।
अन्तराष्ट्रिय बाल अधिकार दिवसका सन्दर्भ पारेर राहत रकम हस्तान्तरण गरियो । सो अवशरमा जिफन्टका अध्यक्ष विष्णु रिमालले रकम हस्तान्तरण गरे । गत बैशाखको भूकम्पमा परी ज्यान गुमाएका जिफन्टका सदस्यका परिवार, घाइतेहरु तथा भूकम्पमा परी परिवारका सदस्य गुमाएका श्रमिकलाई रकम प्रदान गरिएको हो ।
राहत वितरण गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका जिफन्ट अध्यक्ष रिमालले यो सरकारले दिने जस्तो राहत नभई चिसो मौषम लागिसकेको अवस्थामा भूकम्प पीडित परिवारका बालबालिकालाई न्यानो बनाउन सहयोग गरिएको बताए । हामीले घर बनाउन यो सहयोग गरेका होइनौं, बालबालिकालाई न्यानो बनाउन मद्धत गरेका हौं रिमालले भने ।
उनले बाल अधिकार दिवसलाई यसपटक फरक ढंगमा मनाउने योजना बनाइएको भएपनि भूकम्प र त्यसपछिको भारतको अघोषित नाकावन्दीले अप्ठ्यारोमा पारेको बताए । प्रतिव्यक्ति ६ हजार ५ सय देखि ४० हजारसम्म सो अवशरमा भूकम्प पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिएको थियो ।