नेपाली श्रमिकलाई सघाउँदै मलेसियाको ट्रेड यूनियन 

काठमाडौं, मंसिर २- काठमाडौं, मंसिर २ जिफन्ट सपोर्ट ग्रुप, मलेसिया केन्द्रीय कमिटी साथै जालान केबुन केलाङ्ग क्षेत्रीय कमिटीको संयुक्त आयोजनामा यहि हप्ता मलेसियाको सेलेङ्गरमा क्षेत्रीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सो अन्तरक्रियामा जिफन्टकी पूर्व उपमहासचिव तथा साँसद पेम्वा लामा, मलेसियन ट्रेड युनियन कंग्रेसका शिक्षा बिभाग प्रमुख सोमा सुन्दरम लगायत सहभागि थिए ।  

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि सोमा सुन्दरमले मलेशियामा प्रवासी श्रमिकहरु किन संगठित हुन आवश्यक छ तथा प्रवासी श्रमिकहरुलाई एमटीयूसीले कसरी सहयोग गरिरहेको छ भन्ने बारेमा जानकारी दिए ।  

उनले  मलेसियामा प्रवासी श्रमिकको कानुनी अधिकार, कार्यस्थलमा हुनु पर्ने सुरक्षाको व्यवस्था लगायतका बारेमा पनि जानकारी दिए । उनले मलेसियाको सरकारले हालै श्रमिकको न्यूनतम ज्यालामा गरेको बृद्धिको घोषणा, कम्पनीहरुले काट्ने लेवि तथा होष्टल शुल्कका बारेमा पनि आफ्नो धारणा राखे । सुन्दरमले जिफन्ट र एमटियूसीबीच भएको सहमति अनुरुप नै नेपाली श्रमिकलाई आफूहरुले सकेसम्मको सहयोग गरिरहेको बताए ।  

साँसद तथा जिफन्टकी पूर्व उपमहासचिव पेम्वा लामाले आफूले प्रवासमा कार्यरत श्रमिकका समस्याका बारेमा नेपालमा सदनमा बारम्वार आवाज उठाइरहेको भन्दै आगामी दिनमा पनि त्यो जारी रहने बताइन । उनले अन्तरक्रिया मार्फत प्राप्त सुझाव तथा समस्याका कुरालाई नेपालमा सदनसम्म पु¥याउने बताइन् ।  

यसैगरी प्रवासी श्रमिक एसएमएस हेल्पलाइन डेस्क मलेशियाका इन्चार्ज बेद्कुमार खतिवडाले मलेसियामा प्रवासी श्रमिकहरुको अवस्था, संगठनको काम र हालसम्म आएका मुद्धाहरु तथा समाधान भएका मुद्धाका बारेमा जानकारी दिए ।  

अन्तरक्रियामा जालान क्षेत्रीय कमिटीका उपाध्यक्ष बुद्धिराम भुसाल तथा सह–सचिव अर्जुन आचार्यले नेपाली प्रवासीहरुले मलेशियाको जालान केबुन क्षेत्रमा कार्यरत नेपालीको अवस्थाका बारेमा प्रष्ट पारेका थिए । यसैगरी जिफन्ट सपोर्ट ग्रुपले सो क्षेत्रमा गरिरहेका गतिविधिका बारेमा पनि उनीहरुले जानकारी गराएका थिए ।  

सो अन्तरक्रियामा सन्तोष कमिटीका ईन्द्र ढकाल, कम्पोङ्ग जवाका चन्द्र धामी, केलाङ्गका तिलक बि.क. लगायतले आफ्नो क्षेत्रको अवस्था र त्यहाँ भइरहेका गतिविधिका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रम जिफन्ट सपोर्ट ग्रुप, मलेसियाका अध्यक्ष प्रेमकुमार मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: