माछाबाट लखपति
भीमदत्तनगर-कृषि पेसा अङ्गालेका पल्टु चौधरीसँग एक दशकअघि ट्र्याक्टर खरिद गर्दा लागेको बैंकको रु २२ लाख ऋण थियो। पेसाप्रतिको लगाव र लगनशील भएर लागेका कारण कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका– १ वन्शाहका चौधरी अहिले माछापालन व्यवसायबाट लखपति बनेका छन्।
‘माछा पोखरी छँदै कृषिका लागि भनेर ट्र्याक्टर पनि किनेको थिएँ’, पल्टु चौधरी भन्छन्, ‘त्यो ट्र्याक्टरले रु २२ लाखसम्म बैंकमा ऋण भयो।’ विसं २०४३ देखि माछापालन गर्दै आएका उनले २०५६ सालदेखि माछाका भुरा उत्पादन गर्ने हेचरी सञ्चालनमा ल्याए। भुरा उत्पादन गर्ने हेचरी कञ्चनपुरमै उनको मात्रै छ।’माछापालन र उत्पादनकै कारण आज म त्यो रु २२ लाख ऋण तिरेर वार्षिक रु सात-आठ लाख आम्दानी गरिरहेको छु।’ डेढ बिगाहा खेतमा माछा पोखरी बनाएर व्यावसायिक माछापालनमा लागेका चौधरीले भने, ‘अहिले वार्षिक एक करोड जति भुरा उत्पादन गरी बिक्री गर्दैछु।’
उनले उत्पादन गरेका भुरा कञ्चनपुर, डडेल्धुरा, बर्दियासम्मका किसानले खरिद गर्ने गरेका छन्। ‘मैले मागअनुसारको भुरा उत्पादन गर्न सकिरहेको छैन’, उनी भन्छन्, ‘हेचरीमा दक्ष प्राविधिक ज्ञान भएको किसान नभएकाले उत्पादन बढाउन सकिएको छैन।’
रु १२ लाख लगानी गरेर हेचरी सञ्चालनमा ल्याएका चौधरीलाई इलम हेल्भटास नामक संस्थाले ५० प्रतिशत आर्थिक लगानी सहयोग गरेको थियो भने जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले प्राविधिक तथा अन्य सहयोग गर्दै आएको चौधरीको भनाइ छ।
‘मलाई कृषि विकास कार्यालयले धेरै सहयोग गरेको छ’, चौधरीले भने,’माछापालन फस्टाएकै कारण ऋण तिरेर घडेरीसमेत किनेको छु।’ आफू माछापालन व्यवसायमा लागेर सन्तुष्ट रहेको बताउने पल्टु चौधरीलाई परिवारका सबै सदस्यले व्यवसायमा रामै्र साथ दिएका छन्।
‘दुईजनालाई रोजगारीसमेत दिएको छु’, चौधरीले सुनाए, ‘वार्षिक रु १४-१५ लाखको कारोबार हुन्छ। त्यसमध्ये ७ लाख जति फाइदा हुन्छ।’ माछापालनमा जिल्लाकै सफल व्यवसायी मानिने चौधरी माछापालनसम्बन्धी तालिम तथा गोष्ठीमा सहभागी हुन भैरहवा, जनकपुरदेखि काठमाण्डूसम्म पुगेका छन्। ‘माछाको माग स्थानीय बजारमै बढी छ’, उनले भने ‘खपतका लागि बजारको कुनै चिन्ता छैन।’ हाल उनले सिल्लबर, नैनी, रोहुलगायतका जात प्रजातिका माछाका भुरा उत्पादन गर्ने गरेका छन्। ‘महँगोमा एउटा भुरा रु पाँचसम्मको पनि उत्पादन हुन्छ।’ उनले भने – ‘माछापालनका लागि प्राविधिक ज्ञान लिनु जरुरी छ।’ 
सुदूरपश्चिममा कैलालीको सुख्खड र कञ्चनपुरको झलारीपिलाडी नगरपालिका–१ मा गरी दुईवटा हेचरीमात्रै रहेका छन्। रासस
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय