
काठमाडौं, कात्तिक २९
आप्रवासी कामदारको विषयमा छलफल गर्न राष्ट्रिय मानव अधिकार आयोगको एक प्रतिनिधिमण्डल कतारको राजधानी दोहा प्रस्थान गरेको छ। आयोगका अध्यक्ष अनुपकुमार शर्माको नेतृत्वमा रहेको तीन सदस्यीय टोली कतार गएको हो। कतारमा सबैभन्दा बढी नेपाली आप्रवासी कामदार रहँदै आएका छन्।
आयोगले जारी गरेको विज्ञप्तिअनुसार त्यहाँ रहँदा प्रतिनिधिमण्डलले कतारको राष्ट्रिय मानव अधिकार समितिका अध्यक्षसँग भेटघाट तथा छलफल गर्नेछ। यस्तै कतारस्थित आप्रवासी नेपाली कामदारको मानवअधिकार संरक्षण तथा सम्बद्र्धनका लागि आवश्यक पहल गर्नेछ।
भ्रमणका क्रममा आप्रवासी कामदारको सम्बन्धमा दुई आयोगबीच सहकार्य, समन्वय र सूचना आदानप्रदानका विषयमा छलफल हुने आयोगले जनाएको छ।
आयोगका कायम मुकायम सचिव वेदप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणमा दुई पक्षीय मानव अधिकारको चासो तथा आपसी हितका विषयमा छलफल हुनेछ। प्रतिनिधिमण्डल आगामी मङ्सिर १ गते स्वदेश फर्कनेछ। रासस