
काठमाडौं, कात्तिक २५ – बंगलादेशमा दर्जनौं गार्मेन्ट (तयारी पोसाक) कारखाना बन्द भएका छन्। यसका कारण कम्तीमा पनि २० हजार कामदार प्रभावित भएको समाचारमा जनाइएको छ।
बंगलादेशमा तयारी पोसाकका कारखानाहरूमा सुरक्षित मापदण्डको पालना नगरेको भन्दै आलोचना हुँदै आएको छ। त्यस कारणले पनि त्यहाँ भवन भत्किने, आगलागी हुने र अन्य कारणले ठूलो जनधनको क्षति हुने गरेको थियो। सन् २०१३ मा पनि यस्तै एक कारखानाको भवन भत्किएर भएको दुर्घटनामा परी एक हजार जनाभन्दा बढीको ज्यान गएको थियो। उक्त दुर्घटना भएपछि त्यसयता सरकारले सुरक्षित मापदण्ड लागू गर्ने र त्यसो नगर्नेका कारखाना बन्द गराउने अभियान चलाएको थियो।
यस अभियानका क्रममा २०१३ पछि आजसम्ममा करिब ७३ वटा यस्ता कारखाना बन्द भएका छन्। यसबाट ठूलो संख्याका मजदुर प्रभावित भएको बताइएको छ। ती कारखानाहरूको अनुगमनमा खटिएका एक वरिष्ठ प्रहरी अधिकारी सइद अहमदले भने, ‘३७ वटा ठूला यस्ता कारखाना नै बन्द गराइएको छ।’
ती कारखानामा कार्यरत मात्र १६ हजार ९ सय ३८ जना कामदार बेरोजगार बन्न पुगेका छन्। त्यसका अतिरिक्त अरू सानोखाले कारखाना पनि बन्द भएको समाचारमा जनाइएको छ। जसका कारण बेरोजगार हुने कामदारको संख्या करिब २० हजार पुगेको अधिकारीहरूले जनाएका छन्।
अरू ३६ वटा कारखानामा पनि उत्पादन बन्द गरिएको छ। ती कारखानाको पनि खारेजीको सूचना जारी गर्न लागिएकाले त्यसमा रहेका दुई हजारभन्दा बढी कामदार बेरोजगार हुने भएका छन्। सन् २०१३ को उक्त दुर्घटनापछि अन्तर्राष्ट्रिय श्रम संगठन, आईएलओको संलग्नतामा अनुगमनको काम अघि बढाइएको थियो।
आईएलओका प्रतिनिधिको रोहबरमा बंगलादेश प्रहरी पनि सम्मिलित समूहले उक्त कार्यको निरीक्षण जारी राखेका छन्। बंगलादेशको मुख्य निकासी बजार गार्मेन्ट हो र यसको मुख्य बजार युरोप र अमेरिका हो।
कान्तिपुरबाट