
काठमाडौं, कात्तिक २४
गैरआवासीय नेपाली संघ(एनआरएनए) ले भारतीय नाकाबन्दीका कारण नेपालका उत्पन्न मानवीय संकटमा सहयोग गर्ने भएको छ । एनआरएनएका अध्यक्ष शेष घलेले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गर्दै अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा देखिएको औषधीको अभाव तथा अत्यावश्यक मानवीय सामग्री आपूर्तिका लागि संघले सहयोग गर्ने घोषणा गरेका हुन् ।
अस्पतालहरुमा औषधी सकिएर मानिसले जीवन गुमाउनुपर्ने परिस्थीति सिर्जना भएको भन्दै गैरआवासीय नेपाली संघले त्यस्ता सामग्री सहयोग गर्ने तयारी गरेको जनाएको छ । कस्ता समाग्री जरुरी छन् भन्नेबारे परराष्ट्र मन्त्रालयसँग सूची मागिएको र सोही सूचीका आधारमा सहयोग संकलन गरी सरकारलाई उपलब्ध गराइने संघले जनाएको छ ।
साथै संघले जाडो समयका लागि आवश्यक पर्ने कम्बल र अरु सामग्री संकलन र वितरण गर्न एउटा ‘एनआरएनए संकट सहयोग समूह’ गठन गरेको छ । महाभूकम्पका बेला आपतकालिन राहत वितरण गरेर उदाहरणीय काम गरेको गैरआवासीय नेपाली संघले मातृभूमीलाई परेको यो संकटमा पनि सहयोगी हात अगाडी बढाएको हो ।
संघले भारतले लगाएको आर्थिक नाकाबन्दी अन्त्य गर्न अपिल पनि गरेको छ । पछिल्लो केही महिनादेखि तराई क्षेत्रमा भएका प्रदर्शन र नाकाबन्दीका कारण उत्पन्न मानवीय संकट विकराल भएको भन्दै संघले चिन्ता जनाएको हो ।
संघले भारतलाई दुईदेशका जनताबीच रहिआएको सद्भाव र मित्रतालाई दिगो राख्न भारतले लगाएको अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्न अपिल समेत गरेको छ । संघले नेपाल सरकार र आन्दोनरत दलहरुलाई उचित संवैधानिक र शान्तिपूर्ण प्रक्रियाको पालना गर्दै संवादमार्फत छिट्टै सबै विवादित मुद्दाहरुको समाधान खोज्न आग्रह पनि गरेको छ ।
संघले १६ लाख बालबालिका लगभग तीन महिनदेखि विद्यालय जानबाट बञ्चित भएको, धेरै उद्योग धन्दा र साना ब्यापार बन्द भएको भन्दै अत्यावश्यक आपूर्ति र सेवाहरुमा गम्भिर समस्या आइपरेको विज्ञप्तीमा जनाइएको छ ।