जापान, कात्तिक २४
नेपालीको ठूलो चाड तिहार तथा छठ पर्वको अवसर पारेर नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रीय समितिले शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
टोकियोमा आयोजित कार्यक्रममा सहभागि अधिकाँश वक्ताहरुले नेपालमा जारी भारतिय नाकावन्दी तथा राजनीतिक अवस्थाका वारेमा गम्भीर चासो दिन आग्रह गरे । मुलुकमा नयाँ संविधान जारी भई नयाँ प्रकृयामा प्रवेश गरेपनि नाकावन्दीका कारण चाड पर्वमा नेपालीहरुको घरमा चुल्हो नवलेको भन्दै सवैले एक जुट भएर समाधान निकाल्न आग्रह गरे ।
कार्यक्रममा सहभागिहरुलाई शुभकामना दिंदै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले मुलुकको अप्ठयारो अवस्थालाई समाधान गर्न जापानको परराष्ट्र मन्त्रालय मार्फत समेत पहल गरिएको जानकारी दिए । राजनीतिक तवरबाट भएको परिस्थितीको समाधान राजनीतिक रुपमै छिट्टै हुनेमा विश्वस्त रहेको उनले धारणा राखे ।
अर्का वक्ता तथा नेपाली जनसम्पर्क समितिका पूर्व अध्यक्ष महेश श्रेष्ठले नाकावन्दीका कारण नेपालको अवस्था निदाएपछि व्यूझिएको अवस्था जस्तो भएको बताए । परनिर्भरतामा अडिएको आर्थिक अवस्थालाई नाकावन्दीले प्रत्यक्ष प्रभाव पारेको भन्दै उनले व्यवहारिक रुपमा राष्ट्रियताको अर्थ खोज्ने वेला आएको बताए ।
यस्तै समाजसेवी दिलु खत्रीले नेपालीहरु पुनः एकजुट भएर परनिर्भरता हटाउदै स्वाधिनताको वाटोमा लम्कनु पर्ने अवस्था आएको बताए । मुलुकमा परिवर्तन गर्न आफैबाट शुरु गर्नु पर्ने भन्दै उनले विकास र परिवर्तनको शुरुवात गर्न अरुको भरपर्ने प्रवृतिको अन्त्य गर्नु आवश्यकता औल्याए ।
यसैगरि गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण विक्रम थापाले चाडवाडको वेला नेपालीको घरमा चुल्हो वल्न नसकेकोमा सवैले ध्यान केन्द्रीत गर्नु पर्ने धारणा राखे । जलविद्युतको विकासमा काम गरेर देखाउने वेला आएको बताउँदै उनले समस्या परेको वेला कुरा भन्दा पनि काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा प्रवासी नेपाली मंच जापानका अध्यक्ष कृष्णबहादुर खडका, आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा, नेपाली जनसम्पर्क समितिका निर्वतमान अध्यक्ष भूपी गोविन्द श्रेष्ठ, सल्लाहकार चिरन्जीवी थापा, वलराम श्रेष्ठ, सुवास लोहनी, एनआरएनए जापान अध्यक्ष सुदन थापा, आईसीसी सदस्य कपीलदेव थापा, उपाध्यक्ष शेरबहादुर केसी, महामन्त्री राजेन्द्र जम्मरकट्टेल, सिजुओका संयोजक रेशम डंगोल, रामजंग कार्की, कास्की पोखरा समाजका अध्यक्ष जेपी पंण्डित, वीफर अल संस्थाका अध्यक्ष सरोजकुमार खत्रीले आफ्ना धारणा राखेका थिए ।