सोल, कात्तिक २४
झुण्डिएको अवस्थामा गत आइतबार भेटिएका भोजपुर देउराली ९ का भीम कार्कीको मृत्यु रहस्यमय देखिएको छ । भीमका भाइ अमरबहादुर कार्की र उनका साथीहरुले उनको मृत्यु रहस्यमय देखिएको दाबी गरेका छन् । घटनाको जानकारी पाएपछि आइतबार नै त्यहाँ पुगेका अमर र भीमका साथी नुवाकोटका शिबप्रसाद भट्टले घटनास्थलको प्रकृति हेर्दा भीमको मृत्यु रहस्यमय देखिएको बताएका हुन् ।
अमरबहादुरलाई प्रहरीले देखाएको फोटो अनुसार भीमको टोपी, गमबुट, माक्स र पन्जा लगाएकै अवस्थामा जस्ताको तस्तै रहेको थियो भने एउटा खुट्टा खुम्चिएको थियो । झुण्डिएर आत्महत्या गर्नेहरुको खुट्टा प्रायः समान अवस्थामा रहने गर्छ ।
घटनास्थलमा झुण्डीनलाई आवश्यक हुने कुर्सी, टेबल केहि नरहेको उनीहरुले बताए । घटना रहस्यमय रहेको प्रहरीले समेत स्वीकार गरेको घटनास्थल र स्थानीय प्रहरी कार्यलयमा पुगेर फर्केका भट्टले बताए ।
भीम छल्लाबुक्दो, छङगुपमा रहेको हाँस फारममा कार्यरत थिए । ३० महिना अघि आएका उनी गत शुक्रबार बिहान ११ः३० बजेदेखि सम्पर्कबिहिन थिए भने आइतबार ३ नम्बर हाउसमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनी साहुसंगै बस्दै आएका थिए ।
शुक्रबार बिहान ११ बजेदेखि हराएको भए पनि साहुले आइतबार मात्र नजिकै चर्चको पास्टरलाई जानकारी गराएका थिए । त्यो क्षेत्रमा नेपाली कामदारको संख्या न्यून रहेको छ ।
कार्कीकै गाउँले सगेन्द्र घलेका अनुसार भीम राम्रो परिवारका हुन् । अंग्रेजी बिषयमा स्नातकोत्तर (एमएम) दोश्रो बर्ष अध्ययन गर्दागर्दै कोरिया आएका हुन् । घलेका अनुसार साहुबाट ४ महिनाको तलव लिन बाँकि रहेको थियो । बाँकि तलब माग्दा साहुले आफुलाई पिट्न खोज्ने गरेको भीमले सुनाएको घलेले जानकारी दिए ।
घलेले भने ‘भीमले जब तलबको कुरा आउछ तब मलाई साहुले पिट्न खोज्छ भन्थ्यो ्र’ घलेका अनुसार कम्पनि परिवर्तन गर्ने अनुमति पटक पटक मागे पनि साहुले मानेका थिएनन् ।
भीमले हालसम्म नेपाल पैसा नपठाएको खुलेको छ । उनको दुई पासबुक फेला परेको र त्यसमा करिब २ करोड वन बचत रहेको जनाइएको छ ।
भीमको कोठामा डायरी र कपि फेला परेको भट्टले बताए । भट्टका अनुसार उनले बेलाबेला दैनिकी लेख्ने गर्थे भने एउटा कपीमा तनाव भएको र त्यसको ब्यवस्थापन बारे नोट तयार गरेका छन् । साहुले दिने गरेको मानसिक तनाब कम गर्न उनले यस्तो नोट तयार गरेको हुन सक्ने अनुमान गरिएको छ ।
दाइले आत्महत्या गर्नुपर्ने कुनै घरायसी कारण नभएको अमरबहादुरले बताए । पारिवारिक समधुर सम्बन्ध भएको र हरेक दिन आफुसंग कुरा भैरहेको अमरले बताए । संगै बस्ने र खाना खाने मान्छे ३ दिनसम्म साहुले थाहा नपाउनु र प्रहरीले देखाएको फोटोको आधारमा पनि घटना रहस्यमय रहेको अमरले बताए ।
पोस्ट मार्टम भोलि हुने र घटनाको तथ्य विवरण त्यसपछि आउने भीमको परिवारले आशा गरेका छन ्र दूताबासका अधिकारीहरु पनि भोलिमात्र त्यस तर्फ जाने बताइएको छ ।